लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदूतकाे भेट

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसंग स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोने भेटवार्ता गरेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय राप्ती उपत्यका देउखुरीमा शुक्रबार भएको भेटवार्तामा लुम्बिनी प्रदेशकाे विकास र समृद्धिमा स्विस सरकारले हाल गर्दै आएको सहयाेगकाे बारेमा छलफल भएको छ।

मुख्यमन्त्री आचार्यले प्रदेश तह आत्मनिर्भर हुने चरणमा रहेकाले याे अवधिमा दातृ निकायहरुकाे साथ सहयाेग आवश्यक पर्ने भन्दै पूर्वाधारदेखि सामाजिक क्षेत्रकाे विकासमा सहयाेग आवश्यक परेकाे बताए।

'प्रदेश स्थापना भएर कार्यान्वयनमा आएकाे भर्खरै ७ वर्ष भएको छ। प्रदेश आत्मनिर्भरताकाे बाटाेमा छ। सबै प्रकारकाे साथ सहयाेग जरुरी छ, 'उनले भने, 'स्वीस सरकारले गर्दै आएकाे सहयाेगलाई प्रदेश तहमा निरन्तरता दिन अझै जरुरी छ। झाेलुंगे पुल निर्माण, पक्की पुल निर्माण हाेस्। प्राविधिक सहयाेगलाई अझै निरन्तरता दिन आवश्यक छ।'

लुम्बिनी प्रदेशभित्र मानसिक स्वास्थ, मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषणकाे समस्या उच्च रहेकाले ती समस्या समाधान गर्न पनि साझेदारी गर्न प्रदेश सरकार तयार भएको जानकारी गराए।

यसका साथै लुम्बिनी प्रदेश सरकारले प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना निर्माण गरेरकाे र अब त्यसलाई मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर कार्यान्वयनमा लगिने मुख्यमन्त्री आचार्यले जानकारी गराए।

हाल स्वीस सरकारकाे सहयाेगमा बर्दिया जिल्लामा मात्रै मानसिक स्वास्थ तथा मनाेसामाजिक सेवा कार्यक्रम लागू भएको छ। याे कार्यक्रमलाई प्रदेशका सबै जिल्लामा केन्द्रित गर्न आग्रह गरे।

मुख्यमन्त्री आचार्यले राखेकाे प्रस्तावप्रति राजदूतले सकारात्मक प्रतिक्रिया दिएको भेटमा सहभागी मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार रामबहादुर राउतले जानकारी दिए।

प्रदेश सरकारले मानसिक स्वास्थ्य तथा मनाेसामाजिक सेवा रणनीतिक याेजना निर्माण गरेकाेमा राजदूत डानियल मेउल्ली मोन्टेलोने सरकार प्रति बधाई ज्ञापन गरेका छन्।

भेटमा राजदूतसंगै वरिष्ठ राजनैतिक सल्लाहकार प्रतिज्ञा सिम्खडा बासकाेटा, सीएमसी नेपालका प्राविधिक निर्देशक डा.पशुपति महत, प्रादेशिक संयाेजक हिमाल गैरेसहितकाे टाेली सहभागी थियाे।

प्रकाशित मिति: : 2024-11-22 12:35:00

प्रतिकृया दिनुहोस्