प्रतियोगिता अनिर्णयको बन्दी भएको राखेप सदस्य कुसारीको गुनासो
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अनिश्चितता बनेकोप्रति राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यले चिन्ता व्यक्त गरेका छन्।
यही मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा हुने भनिएको प्रतियोगिता अनिश्चित बनेकोप्रति राखेप सदस्य प्रकाशकुमार कुसारी (सम्राट)ले सामाजिक सञ्जालमार्फत चिन्ता गरेका हुन्।
उनले प्रतियोगिता समयमै हुन नसक्नुको कारणबारे युवा तथा खेलकुदमन्त्री एवम् राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष, परिषद्का सदस्य सचिव र प्रदेश सरकारहरुले जवाफ दिनुपर्ने बताएका छन्। हाल तेजुलाल चौधरी युवा तथा खेलकुदमन्त्री रहेका छन्, मन्त्री नै परिषद्को अध्यक्ष रहने व्यवस्था रहेको छ।
‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने वा नहुने अनिर्णयको बन्दी भएको छ’, कुसारीले भनेको छन्, ‘यसको जवाफ कसले दिने?’
राष्ट्रिय खेलकुद प्रतियोगिता दुई–दुई वर्षमा हुने गर्छ। दुई वर्ष अगाडि गण्डकी प्रदेशको राजधानी पोखरामा ९औँ प्रतियोगिता भएको थियो। त्यस प्रतियोगिताले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुर्खेतमा गर्ने घोषणा गरेको थियो। प्रतियोगिता गर्न पाउने भएकोमा होसिएकाे कर्णालीले समयमै पूर्वाधार निर्माणको काम पूरा गरेको थियो। तर, तोकिएको मितिमा प्रतियोगिता सञ्चालन हुन सकेन। जसकारण खेलाडी, प्रशिक्षक, समर्थकसँगै सम्रग खेल क्षेत्र निराश बनेको छ।
तोकिएको मितिमा प्रतियोगिता हुन नसक्दा नेपालको खेलकुद क्षेत्रमा दीर्घकालीन असर पर्ने कर्णाली खेलकुद परिषद्का सदस्य विश्वमित्र सञ्ज्यालको भनाइ छ। ‘अहिले त भएन भनेर सबै चुप लागेको अवस्था छ तर यसको असर दीर्घकालमा देखिने छ’, सञ्ज्यालले भने।
उनकाअनुसार समयमै प्रतियोगिता नहुँदा नयाँ खेलाडी आउने बाटो नै बन्द भएको छ। भने, पुराना खेलाडी पनि उमेर हदका कारण राष्ट्रिय खेलकुद प्रतियोगिता नै नखेलेर बिदा हुनुपर्ने अवस्था सिर्जना भएको छ। ‘यसरी अन्तर्राष्ट्रिय जगतमा पनि हाम्रो उपस्थिति कमजोर हुने भयो। नयाँ खेलाडी आउन प्रतियोगिता नै सुरु भएको छैन, हामीले अन्तर्राष्ट्रिय प्रतियोगितामा जानु परेमा उनै पुराना खेलाडीको भर पर्नु पर्नेछ। यसले न हामीले राम्रो नतिजा हात पार्न सक्छौँ न त हाम्रो खेलकुद क्षेत्रको विकास हुन्छ।’
अब पनि समयमै प्रतियोगिता सम्पन्न नभएमा सम्रग खेल तालिकामा असर पर्ने उनको भनाइ छ।
आफ्नो माटोमा प्रतियोगिता हुने भएकोमा खुसी बनेका कर्णालीबासी निराश हुन थालेको उनको भनाइ छ। ‘नेतृत्वको असक्षमताले यो सबै भएको छ, अब हामीबाट हुने त केही होइन, ड्राइभर सिटमा बसेकाले नै इच्छा नदेखाएपछि कसको के नै लाग्ने रहेछ र’, उनले भने।
परिषद्का सदस्य सचिव टंकलाल घिसिङअनुसार राष्ट्रिय खेलकुद सञ्चालनका लागि निर्देशिका बनाउन आवश्यक छ। त्यसका लागि बोर्ड बैठक बस्नुपर्छ। तर, १४ महिनादेखि बोर्ड बैठक बस्न सकेको छैन।
बोर्ड बैठक सदस्य सचिवको सिफारिसमा परिषद्का अध्यक्षले बसाल्नुपर्छ। तर, परिषद्को अध्यक्षसमेत रहेका मन्त्री चौधरीले बोर्ड बैठक राख्न तयार छैनन्।
‘एक वर्षभन्दा बढी समय भयो बोर्ड बैठक बस्न सकेको छैन। बोर्ड बैठकका लागि मैले परिषद्का अध्यक्षज्यू (मन्त्री) समक्ष तीनपटक प्रस्ताव लगेँ, प्रस्तावमा पहिलो प्राथमिकता नै राष्ट्रिय खेलकुद प्रतियोगिता छ तर अध्यक्षज्यूले बैठक राख्नु हुँदैन। बैठक नै नबसेपछि प्रतियोगिता हुने कुरा नै भएन’, सदस्य सचिव घिसिङले भने।
घिसिङले बैठक सञ्चालनका लागि परिषद्सँगै मन्त्रालयमा पनि धाएको तर मन्त्रालयबाट पनि कुनै जवाफ नआएको बताए।
अब कहिले बस्ला त बोर्ड बैठक र कहिलेबाट होला त १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता? भन्ने प्रश्नमा घिसिङले भने, ‘अहिले त मन्त्रीज्यू गृहजिल्ला जानुभएको छ, भोलि उहाँ आएपछि बैठक बस्नेमा हामी आशावादी छौँ।’
बोर्ड बैठक बसेर नयाँ मिति तय भए पनि तत्काल प्रतियोगिता सञ्चालन हुनेमा घिसिङ नै ढुक्क छैनन्।