सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउँदै आज (साेमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुुरुङले जानकारी दिए।
यस्तै उनले आज सरकारी कार्यालयहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय पनि गरेको जानकारी दिए।
उनले भने, ‘सरकारले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेको छ। आज उहाँको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि हुन्छ। उहाँको निधनमा शोक जनाउन आज मंसिर ३ गते सार्वजनिक बिदा दिने उक्त दिन नेपालभरका र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने पनि निर्णय भएको छ।’
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो।