याेगी आदित्यनाथनिकट नेताहरूसँग हरिद्वारमा एनपी साउदकाे भेट

भारत भ्रमणमा रहेका नेपाली काँग्रेसका नेता तथा पूर्वपरराष्ट्र मन्त्री (नारायणप्रसाद) एनपी साउद नेतृत्वको टोलीले उत्तर प्रदेशका मुख्यमन्त्री याेगी आदित्यनाथनिकट नेताहरूसँग हरिद्वारमा भेटघाट गरेको छ।

नेपालमा मन्त्रिपरिषद् हेरफेरको चर्चा चलिरहेका बेला हरिद्वारस्थित पतन्जली योगपीठमा भएको उक्त भेटघाटमा धार्मिकभन्दा राजनीतिक कुराकानीले महत्व पाएको बताइएको छ।

भारतीय गृहमन्त्री अमित शाहका पूर्वपिए तथा काँग्रेस नेता सन्दीप रानाको चाँजोपाँजोमा भएको भेटमा नेता साउदसहित नेपालीमूलका भारतीय व्यापारी आचार्य बालकृष्ण, पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाह सहभागी छन्। 

हरिद्वारमा नुहाउँदै उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको कांग्रेस सम्मिलित सरकारको समीक्षा, संघीय मन्त्रीकाे हेरफेरको सम्भावना र हिन्दू राष्ट्रवादी संगठन आरएसएसनिकट कतिपय सांसदहरूकाे आकांक्षा भारतीय पक्षलाई सुनाएको स्रोतकाे दाबी छ।

त्यस्तै नेपालमा आयुर्वेद उत्पादनको सम्भावना र युवाहरूको क्षमता विकास एवम् सकारात्मक परिणामबारे पनि चर्चा भएको सम्वद्ध स्रोतले जानकारी दिएको छ।

बताइएअनुसार पूर्वमन्त्री साउदले उत्तर प्रदेशका मुख्यमन्त्री याेगीसँग पनि भेटको आकांक्षा राखेकोमा अहिलेसम्म समय पाइसकेका छैनन्। उनी अन्य कार्यक्रममा ब्यस्त रहेकाले तत्काल समय नदिएपनि भारतीय गृहमन्त्रीका पूर्वपीएले जसरी पनि भेटाएरै छाड्ने जिम्मा लिएको बताइन्छ।

प्रकाशित मिति: : 2024-11-13 09:29:00

प्रतिकृया दिनुहोस्