राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान उडेका छन्। उनी अजरबैजानकाे बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आइतबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन्।
अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उनी सम्मेलनमा सहभागी हुन लागेका हुन्। राष्ट्रपति पौडेललाई विदाइ गर्न प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए।
राष्ट्रपति पौडेलले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकसमेत हुनेछ। नेपालले जलवायु परिवर्तनसम्बन्धी विभिन्न महासन्धिको पक्ष राष्ट्रका हैसियतले सन् २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरी कार्यान्वयन गरिरहेको छ।