सगरमाथा क्षेत्रबाट घाइते अवस्थामा एक विदेशी पर्यटकको उद्धार गरिएको छ।
सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–४ खुमबालामा लडेर घाइते भएका जापानिज नागरिक ५८ वर्षीय मिट्सुगु शिशिडोको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
प्रहरीका अनुसार खुम्बु भ्रमणमा आएका शिशिडो बिहीबार दिउँसो ३ बजे हिँड्ने क्रममा लडेर घाइते भएका थिए।
खुम्बु क्षेत्रको भ्रमणमा आएका उनी रातको समयमा छुकुमबाट खुम्ब्युलापास गएर फर्कंदा बाटो बिर्सिएर अन्यत्र पुगेका थिए।
पदमार्गबाट अन्दाजी १० मिटर तल लडेर घाइते भएका शिशिडोको प्रहरी र स्थानीयले उद्धार गरेका हुन्। उनको टाउको, अनुहार, खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएकाे छ।
दिङ्बोचे स्वास्थ्य चौकीमा सामान्य उपचारपश्चात् उनी काठमाडौं फर्कने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।