हङकङमा ‘गाउँ आएको बाटो’को विषेश प्रदर्शन सम्पन्न

नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ को हङकङमा विषेश प्रदर्शन सम्पन्न भएको छ।

हङकङको गोल्डेन सिन सिनेमाको हलमा हङकङ समयअनुसार आइतबार दिउँसो २ बजेदेखि बेलुका ८ बजेसम्म १२ शोमा बाँडेर चलचित्र देखाइएको हो।

चलचित्र प्रदर्शनअघि औपचारिक कार्यक्रम पनि राखिएको थियो। कार्यक्रममा चलचित्रका निर्देशक नवीन सुब्बा, अभिनेत्री पशुपति राई, बालकलाकार प्रसन राई, लाइन प्रोड्युसर मिङ्सो लिम्बूलगायत सहभागी थिए।

त्यस्तै, कार्यक्रममा हङकङको महावाणिज्य दूत डा. उदयबहादुर राना, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, हङकङ किरात राई योयोक्खाका प्रतिनिधि, कलाकार, साहित्यकार तथा विभिन्न नेपाली संघ संस्था प्रतिनिधिहरुको उल्लेखिय उपस्थिति रहेको थियो।

निर्देशक सुब्बाले चलचित्र हेरेपछि हङकङका नेपाली दर्शकसँग साक्षत्कार पनि गरेको थिए। उनले आफ्नो चलचित्रकर्म सुरुवाती दिनदेखि हङकङबासी नेपाली समुदायले सहयोग गर्दै आएको बताए।

हङकङका देवराज राई, अरुण राई, मातृदीप राई, रामली राई, सुमन बोनेम, मायादेवी राईलगायत जोडबलले यो प्रदर्शन सफल भएको उनले बताए। उनले चलचित्र हेर्न आएकोमा नेपाली समुदायलाई  धन्यवाद समेत व्यक्त गरे।

निर्माता अमोद राईले हङकङको गोल्डेन सिनको  सुविधिा सम्पन्न हलमा ‘गाउँ आएको बाटो’ को विशेष प्रदर्शन ऐतिहासिक रुपमा सम्पन्न भएको बताए।

‘गाउँ आएको बाटोलाई हेर्न झण्डै ८ सय दर्शकको उपस्थित थियो।  हामीले लामो समयदेखि देखेको यो सपना ऐतिहासिक रुपमा गोल्डेन सिन सिनेमाको हलमा भव्यताका साथ सम्पन्न भयो। चलचित्र हेर्न  नेपाली दर्शकको उपस्थिति हामीले सोचेको भन्दा उल्लेख्य रह्यो। हामीले पहिलो पटक हङकङको सुविधा सम्पन्न हलमा देखाउँन सफल भयौँ। हामीलाई आगमी दिनमा काम गर्ने थप ऊर्जा मिलेको छ’, उनले भने।

हङकङमा रहेका कार्यकारी निर्माता देवराज राईले घेराहरु भत्काउँदै आफूरुले गाउँ आएको बाटोलाई यहाँसम्म ल्याएर प्रदर्शन गर्न सफल भएको बताए।

चलचित्र अक्टोबर २८ मा चिनियाँ दर्शकमाझ सार्वजनिक प्रदर्शनको तयारी रहेको छ। चिनियाँ दर्शकलाई लक्षित गरी पहिलोपटक नेपाली चलचित्रलाई सार्वजनिक प्रदर्शन गर्न लागिएको हो। चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतको अभिनय छ।

हङकङको गोल्डेन सिन सिनेमाले पहिलोपटक नेपाली चलचित्रको वितरण अधिकार किनेको हो।

चलचित्रलाई  थाइल्यान्ड, इन्डोनेसिया, इटाली  र युकेमा प्रदर्शनमा छिट्टै प्रदर्शन गर्ने तयारी रहेको छ। नेपालको फिल्ममेकिङ इतिहासमा धेरै हङकङका चिनियाँ फिल्ममेकरहरू यो चलचित्रमा संलग्न भएर काम गरेका  छन्। चलचित्र सम्पादन ताइवानका क्वान पुन लुङ र संगीत हङकङकी संगीतकार हाइडी लीले गरेका छन्।

फिल्मलाई यसअघि क्यानडाको टोरोन्टो, दक्षिण कोरियाको बुसान, ब्राजिलको साउपाउलो, भारतको मुम्बई, स्विडेनको गोटेवर्ग, चीनको बेइजिङलगायत महोत्सवमा प्रदर्शन गरिएको थियो।

प्रकाशित मिति: : 2024-10-22 10:53:00

प्रतिकृया दिनुहोस्