इजरायलले एक वर्षदेखि ‘खोजी-खाेजी’ मारेकाे हमास प्रमुख काे हुन्?

इजरायलको एउटा आक्रमणमा हमासका प्रमुख याह्या सिनवार मारिएपछि मध्यपूर्व स्तब्ध भएको छ। तर इजरायल तथा अमेरिकालगायत केही राष्ट्रहरूले भने यसलाई ‘ऐतिहासिक क्षण’ भनेका छन्। 

‘एक वर्षदेखि सुरुङभित्र लुकेका याह्या सिनवारलाई समाप्त पारिएको छ’ इजरायली डिफेन्स फोर्सेसले भनेको छ। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘विश्वकै लागि राम्रो दिन’ भनेर टिप्पणी गरेका छन्। अमेरिकाले उनलाई आतंककारी सूचीमा राखेको छ।  

इजरायलका राष्ट्रपति आइज्यक हर्गजले सिनवारको मृत्युलाई इजरायलका लागि ऐतिहासिक उपलब्धी भएको बताएका छन्। आफ्ना सैनिकहरूको प्रशंसा गर्दै उनले ‘रक्तपात’ र ‘आतंकवाद’का लागि जीवन समर्पण गरेका सिनवारको मृत्यु स्वभाविक भएको पनि टिप्पणी गरेका छन्। 

त्यस्तै प्रधानमन्त्री प्रधानमन्त्री बेन्जमिन न्यतन्याहूले ‘इजरायलले एउटा ठूलो लक्ष्य हासिल गरेको भए पनि’ युद्ध नरोकिने बताएका छन्। 

बुधबार गाजा स्ट्रीपमा भएको आक्रमणमा उनी मारिएको इजरायलले दाबी गरेको थियो। तर डिएनए परीक्षणपछिमात्रै सिनवार मारिएको पुष्टी भएको हो। 

गत वर्ष हमासले इजरायलमा हमासले गरेको आक्रमणको मुख्य योजनाकारका रुपमा इजरायलले उनलाई ‘मोस्ट वान्टेड’ सूचीमा राखेको थियो। 

गत अक्टोबर ७मा हमासले इजरायलमाथि गरेको त्यो आक्रमणमा कम्तीमा १२०० जना मानिस मारिएका थिए र २५० भन्दा धेरै मानिस घाइते भएका थिए। त्यसको लगत्तै इजरायलले जवाफी कारबाही सुरु गरेको थियो। युद्धको सुरुवातमा सिनवार भूमिगत भएका थिए। 

इजरायलले उनको खोजीका लागि ड्रोन, जासुस, इलेक्ट्रिकल उपकरणहरूलगायत हजारौं सैनिकहरूको ब्यापक परिचालन गरेको थियो। 

यसअघि इजरायली आक्रमणमा हमासका प्रमुख इस्माइल हानिया मारिएका थिए। त्यसपछि सिनवारलाई हमासले आफ्नो प्रमुख नेता बनाएको थियो। उनलाई नेता चुन्नका लागि हमासले कतारको दोहामा दुईदिनसम्म सघन र गोप्य बैठक गरेको थियो। 

यसअघि उनले २०१७ देखि हमासको राजनीतिक विभागको नेतृत्व सम्हालेका थिए। उनी करिब ६२ वर्षका थिए। राजनीतिक विभाग सम्हाल्नुअघि उनी हमासको सुरक्षा विभाग ‘मज्द’का संस्थापक थिए। यो भनेको गाजा क्षेत्रमा आन्तरिक सुरक्षा मामला हेर्ने निकाय हो। 

मारिनुअघि उनी तीनपटक गिरफ्तार भएका थिए। इजरायली सैनिकले उनलाई पहिलोपटक १९८२मा पक्राउ गरेको थियो। त्यो बेला उनी चार महिना जेल बसेका थिए। इजरायलले आफ्ना एक सैनिकको बदलामा हमास र फतहका केही कैदीहरूलाई रिहा गरेको थियो। तीमध्ये सिनवार पनि थिए। 

हानिया मारिएपछि मध्यपूर्वमा युद्ध झन चर्किएको छ। इरानले पनि इजरायलमाथि आक्रमण गरिरहेको छ। इजरायलले हमास, हिज्बुल्लाह, हुथीलगायतका विद्रोही लडाकुविरुद्ध जवाफी आक्रमण तीव्र पारेको छ। 

प्रकाशित मिति: : 2024-10-18 09:27:00

प्रतिकृया दिनुहोस्