जिल्लाबासीलाई मन्त्री भण्डारीको आश्वासन: निराशा हटाउँछु

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जिल्लाबासीको निराशा हटाउने प्रतिबद्धता गरेका छन्।

उनले चुनावताका आफ्नो घोषणापत्रमा लेखिएका कुराहरु क्रमशः कार्यान्वयन गरिरहेको भन्दै रोजगारी सिर्जना गर्नका लागि स्थानीय स्रोत साधनको उपयोग बढाउनुपर्ने बताए।

जिल्लाको मेलौली, पुर्चौडी, दोगडाकेदार र दशरथचन्द नगरपालिकामा आयोजित कार्यक्रहरुमा सहभागी भएका मन्त्री भण्डारीले बैतडीमा रहेका सम्भावनाहरुलाई उजागर गरी त्यसको व्यवस्थापनमा लागिरहेको बताए।

जिल्लास्थित विभिन्न खानी, खनिज, जडीबुटी प्रसोधन तथा व्यवस्थापनमा ध्यान केन्द्रीत गरेको पनि उनको भनाइ छ।

उनले फस्फोराइड खानी, फलाम खानी, सिलेट खानी आदिलाई व्यवस्थित गरी बैतडीको सिलेट राजधानी पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै सबै सरोकारवाला मिलेर यसलाई सहज बनाउनुपर्ने बताए।

मन्त्री भण्डारीले आफ्नो आँखा अगाडिको रोजगारी चिन्न नसक्नु र त्यसको उपयोग गर्न नसक्नु स्वंयमको कमजोरी हुने बताए।

उनले भने, ‘हाम्रो सिरानीबाट चिहानसम्म पानी बगेको छ। तर सिचाइको अभावमा खेत बाँझो राखेका छौँ। ठाउँठाउँमा सडक पुगेपनि व्यवस्थीत नभएकाले हाम्रा उत्पादनले बजार पाउन मुस्कील छ। सडक सुबिधा भएका ठाउँमा समेत कृषि उपजहरु उत्पादन गरि विक्री गर्ने परिपाटी छैन्, जहाँ जे सम्भावना छ त्यसको उपयोग आफैले गर्नुपर्छ र सरकारी स्तरबाट आवश्यक योजनाको माग गर्नुपर्छ। सडक, सिंचाई, विद्युत, खानेपानी लगायतका पूर्वाधारहरु निर्माण गर्न सरकार लागिपरेको छ।’

मन्त्री भण्डारीले अल्लोको लोक्ता प्रसोधन स्थानीयस्तरमै गर्नुपर्ने र त्यसको पूर्वाधार खडा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यसका साथै जडिबुटी संकलन, प्रशोधन, प्याकेजिङ, ब्राण्डिङ गर्ने र लघु उद्यममार्फत रोजगारी सिर्जना गर्ने बताए।

स्थानीयस्तरमा उपलब्ध स्रोत साधनलाई उपयोग गरी रोजगारी सिर्जना गर्नमा आफूले ध्यान केन्द्रीत गरेको मन्त्री भण्डारीको भनाइ छ।

प्रकाशित मिति: : 2024-10-16 12:43:00

प्रतिकृया दिनुहोस्