दसैँकाे टीका र जमरा लगाउने आज अन्तिम दिन

फाइल तस्बिर
फाइल तस्बिर

आज यस वर्षकाे बडादसैँकाे टीका र जमरा लगाउने अन्तिम दिन रहेकाे छ।

आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादरुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो।

सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते बिहीबार परेको छ।

मान्यजन टाढा-टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन्। आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो।

यस वर्ष आज अखिल बलिपूर्ति र कोजाग्रत पूर्णिमा तथा कात्तिक १ गते बिहीबार पूर्णिमा व्रत परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ। कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ।

प्रकाशित मिति: : 2024-10-16 08:25:00

प्रतिकृया दिनुहोस्