सर्वसाधारणलाई दसैँको टीका: शीतल निवासमा दिउँसो ३ः३० र निर्मल निवासमा ४ बजेदेखि

Break n Links
Break n Links

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१को अवसरमा अर्थात् दसैँको टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन्। त्यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई टीका र जमरा लगाइदिने भन्दै सूचना जारी गरिएको छ।

पौडेलले असोज २६ गते शनिबार दिउँसो ३ः३० देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

विजया दशमीका उपलक्ष्यमा शनिबारै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३ः३० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीकाजमरा लगाइदिने कार्यक्रम रहेको छ।

दिउँसो ३ देखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीका-जमरा लगाइदिनेछन्।

साथै सोही समयमा निजामती, जंगी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिने कार्यक्रम छ। त्यस्तै राष्ट्रपति पौडेलले बडादसैँ २०८१का अवसरमा विजया दशमीको टीका ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट लगाउने छन।

यता, पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका लगाइदिने तयारी गरेका छन्। पूर्वराजा शाह र पूर्वारानी कोमल शाहले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ।

संवाद सचिवालयले एक सूचना जारी दशैंका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई अपरान्ह ४ बजे पूर्वराजाले टीका लगाइदिने जानकारी दिएको छ।

प्रकाशित मिति: : 2024-10-12 09:21:00

प्रतिकृया दिनुहोस्