८४ वर्षीय रुसी फोटोग्राफर रोडिचेभको पुस्तक ‘द हिमालयज’ पाेखरामा सार्वजनिक

Break n Links
Break n Links

रुसी फोटोग्राफर युरी रोडिचेभको पुस्तक ‘द हिमालयज’ शनिबार पोखरामा सार्वजनिक भएको छ।

नेपाल पर्वतारोहण संघले ४५औँ विश्वपर्यटन दिवसकाे अवसरमा पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय (आइएमएम)मा विविध कार्यक्रमसहित मनाइएको कार्यक्रममार्फत रोडिचेभले खिचेका नेपालका हिमालका तस्बिरहरु सार्वजनिक गरिएकाे हाे। उक्त फोटोहरु स्थायीरुपमा संग्रहलायमा राखिने रोडिचेभले बताएका छन।

गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय सुरेन्द्रराज पाण्डेद्वारा उद्घाटन गरिएकाे फोटो प्रदर्शनीमा युरीद्वारा तयार पारिएकाे ‘द हिमालयज’ पुस्तकको अनावरण गरिएकाे हाे।

नेपालका सुन्दर हिमाल अवलोकन र तस्बिर खिच्न युरी हालसम्म ३२ पटक नेपाल भ्रमण गरेका छन।

१४ वर्षको कलिलो उमेरमा युरी रोडिचेभ फोटोग्राफीतर्फ आकर्षित भएका थिए। इलेक्ट्रोनिक्स इन्जिनियर उत्तीर्ण उनी पछि हिमाली क्षेत्रको तस्बिर खिच्नमै वर्षौँ समर्पित भएका छन्।

पोखरामा आयोजित विश्वपर्यटन दिवसको कार्यक्रममा उनले फोटोग्राफिका अनुभवहरु पनि सुनाएका थिए। यही सिलसिलामा सन् २००३मा ६३ वर्षको हुँदा ७ हजार ४५ मिटरको लाक्पारी हिमालको चुचुरोमा पुगेको कथा सुनाए।

त्यस क्रममा त्यहाँबाट सगरमाथाकाे सुन्दर तस्बिर खिचेकाे र त्यहाँबाट तिब्बतसम्म पुगेकाे उनकाे भनाइ छ। त्यतिबेला (सन २०१७मा)  उनले तिब्बतमा दुई साता बिताएका थिए। उनी त्यस समयको स्मरण गर्दै भन्छन्, ‘करिब दुई साता पर्खिएपछि बल्ल सगरमाथाको फोटो खिच्न सफल भएँ।’

तस्बिर खिच्ने क्रममा सन् २००४मा मृत्युलाई समेत नजिकबाट नियालेकाे रोडिचेभले बताए। ‘आँधी-हुरी र पानी रोकिएपछि तीन दिनपछि साथीहरुसँग भेट भयो। अब त बाँच्दिनँजस्तो लागेको थियो’, उनले सुनाए।

रोडिचेभको हरेक यात्रामा श्रीमती आना सँगै हुन्छिन्। हिमाली यात्रा र फोटोग्राफीमै आनन्द लिने गरेको आना बताउँछिन। उनी भन्छिन, ‘हिमालमा हामी ईश्वरको सिर्जना देख्छौं। यो हाम्रो जीन्दगी हो। साथै हाम्रो दृष्टिकोण पनि चौडा बनाउँछ।’

युरीको पुस्तक शनिबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लेखक तथा फोटोग्राफर युरीले सार्वजनिक गरे।

‘द हिमालयज’को प्रकाशनमा नेपाल पर्वतारोहण सङ्घ, फ्रेन्डस् एड्भेन्चर टिम, होली हिमालयज र नेपाल पर्यटन बोर्डले सहयोग गरेका छन्। एकसय ८४ पेजको पुस्तक म्याप हाउस काठमाडौंले प्रकाशन गरेको हो। पुस्तकको मूल्य तीन हजार पाँच सय राखिएको छ।

सन २०११बाट रुसका एक सय ६१ सहरमा एक सय ८१ पटक यरीका फोटो प्रदर्शनी भइसकेका छन्। आठ लाखभन्दा बढीले प्रदर्शनी अवलोकन गरेका छन्। फोटो, कला र प्रकृतिसम्बन्धी युरीका १४ पुस्तक प्रकाशित छन् भने चारवटा प्रकाशोन्मुख छन्।

हाल नेपाल भ्रमणमा रहेका युरी श्रीमती आन्ना माकारोभासँग पोखरामा छन्।

प्रकाशित मिति: : 2024-09-29 20:16:00

प्रतिकृया दिनुहोस्