विपदबारे पूर्वसूचना र तयारीले ठुलो काम गर्यो: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले विपदबारे पूर्वसूचना र तयारीले क्षतिलाई न्यूनीकरण गर्न मद्दत पुगेको बताएका छन्।

आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकमा उनले विपद् पूर्वको सूचना र तयारीले क्षति कम भएपनि थप व्यवस्थित गर्न जरुरी रहेको बताएका हुन्।

‘विपद न्यूनीकरण र विपद्को व्यवस्थापनमा दुइटा चरण हुन्छ। एउटा विपद् पूर्वको सूचनाको विषय हो। पूर्वानुमान अनुसार सूचनाको सम्प्रेषण पनि भएको थियो। त्यो सूचनालाई आगामी दिनमा थप व्यवस्थित गर्न जरुरी छ,’ गृहमन्त्री लेखकले भने, ‘अर्को विपदको प्रतिकार्यको विषय हो। त्यसका लागि पूर्वतयारी नभएको होइन। सरकारले पूर्वतयारी गरेकाले नै क्षतिलाई न्यूनीकरण गर्नका लागि सहयोग पुगेको छ। आगामी दिनमा यसलाई थप व्यवस्थित गरेर जान जरुरी छ।’

गृहमन्त्री लेखकले सरकारले आज चारवटा कुरामा जोड दिएर जाने बताए। ‘पहिलो खोजी उद्धारको विषय हो। हामीले मानिसहरुको खोजी गर्नुछ। दुःख र पीडामा रहेका मान्छेलाई उद्धार गर्नुछ। सँगसँगै राहत पनि अगाडि बढाउनु छ। घाइतेहरुको उपचार गर्नु छ। राजमार्ग चाँडोभन्दा चाँडो खोल्नुपर्ने छ। सरकार तत्काल यी चार कुरामा ध्यान दिएर अगाडि बढ्छ,’ उनले भने।

बाढी र पहिरोबाट १४८ को मुत्यु, ५९ बेपत्ता र ६० जना घाइते रहेको गृहमन्त्री लेखकले बताए। ३ हजार ३ सय ३६ जनाको सकुसल उद्धार गरिएको उनको भनाइ छ। नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बलले सक्दोसम्म उद्धार राहतमा काम गरिरहेको भन्दै सरकारका अन्य निकायले समन्वयात्मक रुपमा काम गरिरहेको उनले बताए।

‘उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ। चाँडो उद्धार गर्नुपर्नेको उद्धार भइरहेको छ,’ उनले भने, ‘बालबालिका, सुत्केरी, अपांगता भएका व्यक्ति, वृद्धिहरुलाई प्राथमिकता दिएर उद्धार गर्न निर्देशन गरिएको छ। हरेक जिल्लादेखि केन्द्रसम्म उद्धारका लागि हटलाइनको व्यवस्था गरिएको छ।’

डुवानमा परेका उपत्यका लगायत देशका सम्पूर्ण स्थानमा खाद्यान, खानेपानी, अस्थायी बसोबास, प्राथमिक स्वास्थ्य तथा महामारी नियन्त्रणका लागि सम्बन्धित निकायलाई निर्देशन गरिएको गृहमन्त्री लेखकले बताए। नख्खु खोलामा केही मानिसका उद्धारबारे उठेको प्रश्नमा पनि गृहमन्त्री लेखकले प्रस्ट पारे।

‘नख्खु खोलामा प्रहरी पुग्दै नपुगेको होइन। सेनाको हेलिकप्टर पनि त्यहाँ पुर्याउने कोसिस भएको हो। भिजिविलिटीका कारण सेनाको हेलिकप्टर जान सकेन। नेपाल प्रहरी र सशस्त्र प्रहरी गएका छन्। उद्धार गर्न गएका सशस्त्र प्रहरी बग्दा पौडेर उद्धार भएको छ। नख्खु खोलाको घटनामा उद्धार गर्न खोज्दा खोज्दै घटना भएका हो,’ उनले भने।

प्रकाशित मिति: : 2024-09-29 18:15:00

प्रतिकृया दिनुहोस्