स्मार्ट सिटी बनाउन पहिला विपद् जोखिम न्यूनीकरण गर्नुपर्छ: चिरिबाबु महर्जन

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरलाई स्मार्ट सिटी बनाउन लागिपरेको बताउँदै त्यसका लागि विपद्बाट आउन सक्ने जोखिम न्यूनीकरण गर्न जरुरी रहेको बताएका छन्।

बुधबार ललितपुर महानगरपालिकाको आगलागी नियन्त्रण सचेतना अभियान सुभारम्भ कार्यक्रमलाई प्रमुख महर्जनले विपद्लाई सम्बोधन गर्न नसके स्मार्ट सिटी किमार्थ हुन नसक्ने उल्लेख गर्दै यसलाई महत्वकाकासाथ हेरिरहेको बताएका हुन्।

उनले भने, ‘हामी ललितपुर महानगरलाई एउटा स्मार्ट सिटी बनाउनेतर्फ लागिरहेका छौँ। स्मार्ट सिटी बनाउने सन्दर्भमा विपद्लाई सम्बोधन गरिएन भने स्मार्ट सिटी किमार्थ हुन सक्दैन। त्यसकारण हामी यसतर्फ एकदम महत्वको साथ ध्यान दिइरहेका छौँ। आवश्यकताअनुसार हामीले लगानी पनि गरिरहेका छौँ। अहिले हाम्रो नगर प्रहरी बल १२५ जनाको हुन पुगेको छ। हामीले समयसापेक्ष यो विपद्का साधनहरुको समेत व्यवस्थापन गरेका छौँ। यी सबै काममा हामी अग्रसर भइ नै रहेका छौँ।’

विपद्सम्बन्धीका घटना र परिघटनाको व्यवस्थापनका लागि आवश्यक साधनहरु एउटै छानामुनि तयारी अवस्थामा राखिएको उनको भनाइ छ।

उनले दमकल, एम्बुलेन्स, सववाहन, नगरप्रहरी र विपद्सम्बन्धी इक्युपमेन्ट्स टुलहरु पुलचोकमा व्यवस्थापन तयारीमा अवस्थामा राखेको उल्लेख गरे।

‘हाम्रो एउटा मुलभुत उद्देश्य भनेको विपद्सम्बन्धी जतिपनि अवयहरु छन्, ती सबै एउटै छानामुनि व्यवस्थापन हुनुपर्दछ भन्ने नै हो। सोहीअनुसार हामीले दमकल, एम्बुलेन्स, सववाहन, नगरप्रहरी र विपद्सम्बन्धी इक्युपमेन्ट्स टुलहरु पुलचोकमा तयारी अवस्थामा राखेका छौँ। तसर्थ कुनैपनि घटना परिघटना हुँदैगर्दा पहिलेको तुलनामा अहिले धेरै नै सुधार भएको छ।’

त्यस्तै, प्रमुख महर्जनले कुनैपनि आगलागीका घटना घटेमा ११३१ मा फोन गरेर अथवा महानगरको स्मार्टमा समेत गएर जानकारी गराउन सबैमा आह्वान गरे।

प्रकाशित मिति: : 2024-09-25 13:13:00

प्रतिकृया दिनुहोस्