ओली सहभागी कार्यक्रममा बालेन-समर्थकलाई निषेध, रवि लामिछाने आक्राेशित (भिडियाे)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे राष्ट्रिय भेला आजदेखि काठमाडाैँमा सुरु भयाे। भेलाकाे उद्घाटनमा पार्टी सभापति रवि लामिछानेले छटपटी मिश्रित आक्राेश पाेखे। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा रविले आक्राेश पाेख्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने वसन्तपुरकाे इन्द्रजात्रामा बालेन समर्थकलाई निषेध गरियाे।

त्यस्तै आजै राजेन्द्र महताेकाे नेतृत्वमा नयाँ पार्टीकाे घाेषणा भयाे। भने, उपेन्द्र यादवले संविधान दिवस नमान्ने घाेषणा गरे। त्यसैगरी देशभरि विश्वकर्मा पूजा र इन्द्रजात्रा हर्षाेल्लासका साथ मनाइयाे। यीसँगै आज दिनभरका मुख्य- मुख्य समाचारहरु यहाँ प्रस्तुत छ:


फेरि गालीगलौजमा उत्रिए रवि

सहकारी ठगीको आरोपबाट ‘क्लिन चिट’ दाबी गर्दै आएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चार माध्यम र आफ्ना आलोचकहरूलाई जवाफ फर्काएका छन्।

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले सोमबार संसदमा बुझाएको आफ्नो प्रतिवेदनमा गोरखा मिडियाको तत्कालीन प्रबन्ध निर्देशक रहेका रवि लामिछानेसमेतलाई प्रचलित कानुनअनुसार कारबाही गर्न भनेर सरकारलाई सिफारिस गरेको थियो। तर लामिछाने र रास्वपाका नेताहरूले भने ‘क्लिन चिट’ पाएको दाबी गरिरहेका छन्।

मंगलबारदेखि सुरु भएको पार्टीको राष्ट्रिय भेलामा उनले आफ्नो आलोचना गर्ने सञ्चारमाध्यम र आलोचकहरूलाई जवाफ फर्काएका थिए।

काठमाडौँमा इन्द्रजात्रा, देशभर विश्वकर्मा पूजाको उल्लास

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइएको छ।

भाद्र शुक्ल चतुर्दशीका दिन यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ।

त्यसैगरी मंगलबार नै विश्वकर्मा पूजा पनि मनाइएको छ। कन्या अर्थात् आश्विन संक्रान्तिका दिन मनाइने यस पर्वमा शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूलाई विशेष रुपमा सजाएर पूजाअर्चना गरिन्छ।

विश्वकप लिग–२: क्यानडासँग नेपाल पराजित

आइसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको छ।

एक दिवसीय क्रिकेटमा नेपाल क्यानाडासँग पहिलो पटक पराजित भएको थियो। किंग सिटी मैदानमा घरेलु टोली क्यनडाले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर २५३ रन बनाएको थियो।

सुरुवात राम्रो नगरे पनि क्यानडाले मिडिल अर्डरमा सम्हालिएको प्रदर्शन गरेको थियो। क्यानडाका कप्तान निकोलश किर्तनले ४४ बलमा ७३ रनको आक्रामक पारि खेलेका थिए। नटआउट रहेका उनले ६ छक्का र ३ चौका प्रहार गरे।

नेपालका सोमपाल कामी र ललित राजवंशीले दुई दुई विकेट लिए। यसैगरी  सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले एक एक विकेट लिए।

राजेन्द्र महतोको नयाँ पार्टी, सुमनमा सायमी पनि साथमा 

राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन्। केही समयअघि ‘क्रान्ति अभियान’ सुरु गरेका उनले मंगलबार त्यसलाई औपचारिक पार्टीको रुप दिएका हुन्।

अभियानको विस्तारित बैठकमा महतोले 'राष्ट्रिय मुक्ति क्रान्ति नेपाल' पार्टी घोषणा गरे। यसको अध्यक्ष उनी आफैँ भएका छन्। महतोको यो पार्टीलाई सामाजिक अभियान्ता सुमन सायमीले पनि साथ दिएका छन्।

बालेन समर्थकले इन्द्रजात्रा हेर्न पाएनन्

इन्द्रजात्रा महोत्सवमा पुगेका केही युवाहरूलाई प्रहरीले कार्यक्रमस्थलमा रोकेको छ। वसन्तपुरमा चलिरहेको इन्द्रजात्रा हेर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरू पुगेका थिए।

त्यसअघि केही काठमाडौँ महानगरका मेयर बालेन साहको नाम र फोटो प्रिन्ट गरिएको टिसर्ट लगाएका केही युवाहरूलाई प्रहरीले त्यहाँबाट हटाएर नियन्त्रणमा राखेको थियो।

केही दिनदेखि बालेन र प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष शर्मा ओलीबीच ‘साइवर वार’ चलिरहेको छ।

उपेन्द्र यादवहरूले संविधान दिवस नमान्ने

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले असोज ३ गतेको संविधानको विरोधमा विभिन्न कार्यक्रमहरू गर्ने जनाएको छ।

यो दिन सरकारले भने संविधान दिवसलाई भव्य मनाउँछ। यादवले सरकारले आयोजना गर्ने संविधान दिवसको कार्यक्रममा भाग नलिने जनाएका छन्।

उनले सामाजिक सञ्जालमा एउटा सन्देश दिँदै संविधान दिवसमा भाग नलिने बरु यो दिनमा संविधानको विरोध गर्ने र संविधान संशोधनका लागि दबाब दिन आह्वान गरेका छन्।

पैसा नभएको भन्दै जापानले फर्कायो नेपाली खेलाडी

तालिमका लागि जापान पुगेका नेपालका राष्ट्रिय फेन्सिङ खेलाडी भिष्मराज दाहाललाई त्यहाँको अध्यागमनले फिर्ता गरिदिएको छ।

बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने उनी सर्लाहीका उनलाई जापानको नागोयास्थित विमानस्थलबाट अध्यागमनले नेपाल फिर्ता पठाएको हो। सेप्टेम्बर १५ देखि ३ महिनाका लागि उनी तालिम गर्न त्यहाँ पुगेका थिए।

अध्यगमनले उनलाई तालिम र फर्किंदा खर्च हुने पैसा नभएको भन्दै त्यहाँबाट फिर्ता गरिदिएको दाहालले बताएका छन्।

एक महिनामा बैंकले कमाए ९ अर्ब, सबैभन्दा धेरै ग्लोबल आइएमई

एक महिनामै नेपालका वाणिज्य बैंकहरूले करिब ९ अर्ब नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार देशभरका २० वटा वाणिज्य बैंकहरूले साउन महिनामा मात्रै करिब ९ अर्ब १७ करोड ६० लाख रुपैयाँ नाफा कमाएका हुन्।

यी बैंकहरूले अघिल्लो वर्षको यही अवधिभन्दा करिब एक अर्ब बढी नाफा गरेका हुन्।

२० वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै ग्लोबल आइएमईले करिब ८९ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ भने त्यसपछि नबिल बैंकले ८० करोडभन्दा धेरै नाफ गरेको छ। सबैभन्दा थोरै माछापुच्छ्रे बैंकले २० करोड २० लाख र नेपाल बैंकले २२ करोड ३० रुपैयाँ नाफा कमाएका छन्।

प्रकाशित मिति: : 2024-09-17 19:45:00

प्रतिकृया दिनुहोस्