सहकारी ठगी प्रकरण: रवि लामिछानेसहित ४ जनालाई कारबाही गर्न सिफारिस

File Photo
File Photo

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ४ जनालाई कारबाही गर्न सिफारिस गरेकाे छ।

समितिले ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन भएको निष्कर्ष निकाल्दै सभापति लामिछानेसहित ४ जनालाई कारबाही गर्न सिफारिस गरेकाे हाे।

गोर्खा मिडियाको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने/गराउने प्रक्रियामा संलग्न अध्यक्ष गितेन्द्रबाबु राई (जिवी राई), सदस्य कुमार रम्तेल, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको समितिले उल्लेख गरेकाे छ। 

यस्तो छ प्रतिवेदनको अंश

कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ। कम्पनीका सञ्चालक वा शेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन्। शेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न मिल्दैन। खातावाल हस्ताक्षरकर्ताहरू जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छ्न्, त्यसवापत दायित्व ग्रहण ग्रहण गर्नु पर्दछ। सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडया नेटवर्क प्रालि.को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने। 

याे पनि...
प्रकाशित मिति: : 2024-09-16 17:07:00

प्रतिकृया दिनुहोस्