ट्रम्पको दोस्रोपटक हत्या प्रयास: ट्रम्प सकुशल, हत्या प्रयास गर्ने रूथ पक्राउ

बिएल संवाददाता

वासिङ्टन डीसी
Break n Links
Break n Links

अमेरिकी पूर्वराष्ट्रपति उम्मेदबार डोनाल्ड ट्रम्प हत्या प्रयासबाट बचेका छन् । फ्लोरिडास्थित उनकै आफ्नो गल्फ ट्रम्प इन्टरनेशनल गल्फ क्लबमा गल्फ खेलिरहेका ट्रम्पमाथि एक व्यक्तिले एके ४७ राइफल ताकेर हत्या गर्ने प्रयास गरेको थियो ।हत्या प्रयास गर्ने व्यक्तिको परिचय रायन वेस्ली रूथका रूपमा गराइएको छ। अमेरिकी सेक्रेट सर्भिसले रूथमाथि गोली प्रहार गरेपछि ऊ हतियार छोडेर एसयूभीमा भागेको  थियो । पछि, उसलाई छिमेकी काउन्टीमा हिरासतमा लिइइएको छ ।

असफल हत्या प्रयास गर्ने रूथ हवाइ राज्यको बासिन्दा भएको बताइएको छ । ऊ लामो समयदेखि थुप्रै अपराधिक क्रियाकलापमा संलग्न भएको पनि देखिएको छ । उसको सामाजिक सञ्जालका पोष्टहरूले ऊ युक्रेनको कट्टर समर्थक रहेको देखाउँछन् । 

२०१६ मा ट्रम्पलाई मतदान गरेको रूथ ट्रम्पले राष्ट्रपति हुँदा केही नगरेको भनेर रूष्ट थियो । र, उसले यो चुनावमा ट्रम्प हारेको देख्न चाहेका थियो । 

आगामी नोभेम्बर हुने राष्ट्रपति चुनावको रिपब्लिकन उम्मेदवार ट्रम्पको यो दोस्रो हत्या प्रयास हो । ६४ दिनअघि पेन्सेल्भेनियाको बटलरमा गोली प्रहार गरी हत्या प्रयास गरिएको थियो । कानमा गोली लागे पनि उनी बच्न सफल भएका थिए ।

घटनापछि ट्रम्पलाई घटना नजिकैको निजी निबास  मार ए लागो क्लबमा सुरक्षित रूपमा फिर्ता गरिएको थियो । मार ए लागो पुगेर उनले आफू  सकुशल रहेको पोष्ट गरेका छन् । उनले कसैले केही गरे पनि आफूलाई मार्न नसक्ने पनि बताएका छन् ।

ट्रम्पको यो दोस्रो हत्या प्रयासलाई लिएर अमेरिका स्तव्ध भएको छ । राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्प सकुशल रहेकोमा सन्तोष व्यक्त गर्दै हत्या प्रयासको कडा शव्दमा भत्सर्ना गरेका छन् । उनीहरूले अमेरिकामा राजनीतिक हिंसाकाको लागि पटक्कै ठाउँ नभएको बताएका छन् ।

यसैबीच रिपब्लिकन पार्टीका नेताहरूले पनि हत्या प्रयासको भत्सर्ना गरेका छन् । तर, उनीहरूले भने यसलाई राजनीतिक रंग दिन चाहेको जस्तो देखिएको छ । उनीहरूले सरकारले ट्रम्पको सुरक्षा व्यवस्था गर्न नसकेको भन्दै बाइडेन प्रशासनको आलोचना गरेका छन् ।  उनीहरूले थप सुरक्षाको माग  पनि गरेका छन् । 

डेमोक्रेटिक पार्टीका नेताहरूले भने यो हिंसात्मक घटना भएको भन्दै यसमा चुनावी  राजनीति नगर्न आग्रह गरेका छन् । 

 

प्रकाशित मिति: : 2024-09-16 08:21:00

प्रतिकृया दिनुहोस्