मानवसेवा आश्रमले मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८१ को आयोजना गर्ने भएको छ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै आश्रमले असोज १५ गतेदेखि छठ पर्वको दिनसम्म ‘यो वर्षको चाड पर्वमा कसैले बस्न पर्दैन सडकपेटीमा’ भन्ने अभिष्टले सहयोगका लागि सडक आश्रित मानवहरुको उद्दारको लागि मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८१ को आयोजना गर्न लागेको हो।
प्रधानमन्त्री निवास बालुवाटारबाट यात्राको उद्घाटन गरिने आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए।
उनका अनुसार १७ गते घटस्थापनाको दिन मेचीपुलबाट उद्धार यात्रा शुरु भई छठको भोलिपल्ट काठमाडौँमा एक औपचारिक कार्यक्रमसहित यात्राको समापन हुने जनाइएको छ।
विज्ञप्तीमा लेखिएको छ ,‘यही असोज १५ गते प्रधानमन्त्री निवास बालुवाटारबाट सम्माननीय प्रधानमन्त्रीज्युको शुभ–कामनासहित शुरुहुने मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामा ४५ जनाको सहभागिता रहनेछ। १७ गते घटस्थापनाको दिन मेचीपुलबाट उद्धार यात्रा शुरुभई छठको भोलिपल्ट काठमाडौँमा एक औपचारिक कार्यक्रमसहित यात्राको समापन हुनेछ। २०८० सालमा ३०४ जना सहयोगापेक्षीहरुको उद्धार भएको थियो भने यो वर्ष पनि तीनसय जनाको हाराहारीमा सहयोगापेक्षीको उद्धार हुने अनुमान गरिएको छ।’
४५ जनाको सहभागिता रहने उक्त यात्रामा यसपटक भने तीन सय जनाको हाराहारीमा सहयोगापेक्षीको उद्धार हुने अनुमान गरिएको छ।
त्यसैगरी यस पटकको मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको सम्पूर्ण खर्च आनी छोइङ डोल्मा फाउण्डेसनको तर्फबाट जिम्मेवारी लिइएको छ।
मानवसेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामा सबैले सहकार्य गर्नुपर्ने छोइङ डोल्मा फाउण्डेसनकी अध्यक्ष आनी छोइङ डोल्माले बताइन्।
कस्तो संस्था मानव सेवा आश्रम?
‘जसका कोही हुँदैनन्, जसको केही हुँदैन’ उनैको सेवामा सर्पित छ, ‘मानव सेवा आश्रम’। जहाँ १ हजार ७ सय १८ जना सडक मानिस आश्रित छन्।
७ वटै प्रदेशमा छरिएको उक्त आश्रममा असहाय, अशक्त, अनाथ, मानसिक तथा शारीरिक रुपमा कमजोर र सन्तानबाट अपहेलना भएका बाआमा र बालबालिकाहरु छन्। जसको सेवामा निरन्तर खटिरहेको छ मानव सेवा आश्रम।
बाह्र वर्षदेखि सहयोगापेक्षीहरुको साहारा बनिरहेको आश्रमले हालसम्म १० हजार २ सय ९१ जनाको उद्धार गरिसकेको छ भने ४ हजार ७१ जनालाई पारिवारिकमिलन समेत गराइसकेको छ।
र, २०८२ साललाई सडक मानवमुक्त राज्य बनाउने मानव सेवा आश्रमले लक्ष्य लिएको छ।