राष्ट्रिय खेलाडीहरुको निःशुल्क स्वास्थ्य परीक्षण सुरू

राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ।

देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरुको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षणसम्बन्धी सम्झौता आज गरिएको हो।

गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले देशका लागि खेल्ने खेलाडीहरुको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गरेका थिए। त्रिपक्षीय सम्झौताका लागि मन्त्री पौडेलले सकृयता लिएका थिए।

स्वास्थ्यमन्त्री पौडेल र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको उपस्थितिमा मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अस्पतालकाबीच खेलाडीको मुटु परीक्षण हरेक वर्ष निःशुल्क मुटु परीक्षणसम्बन्धी सम्झौता गरिएको हो।

सम्झौताअनुसार यसका लागि आवश्यक आर्थिक व्यवस्थापन गंगालालले आफ्नै श्रोतबाट गर्नेछ।

हाल केन्द्रकै तर्फबाट निस्शुल्क परीक्षण भए पनि आगामी वर्षबाट थप वार्षिक कार्यक्रम बनाएर कार्यक्रम अघि बढाउने मन्त्रालयले तयारी गरेको मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ।

सम्झौता हरेक वर्ष नवीकरण गर्नेसमेत व्यवस्था गरिएको छ। घोषणाबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा देशका तर्फबाट सहभागी राष्ट्रिय टिमका ७ सय ५७ खेलाडी लाभान्वित हुनेछन्।

कार्यक्रमको प्यारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्द्धनको स्वास्थ्य परीक्षण गरेर सुरूवात गरिएको हो।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले आफूले मन्त्रालयको नेतृत्व सम्हालेदेखि खेलाडीहरुको स्वास्थ्य प्राथमिकतामा राखेको भन्दै मुटुबाट सुरूवात भएको बताए।

प्यारा ओलम्पिकमा ठूलो पदक दिलाएर योगदान दिएकी पलेशा गोवर्द्धनको उपल्ब्धिका अवसरमा यो खेलाडीहरुका लागि उपहार भएको मन्त्री पौडेलले बताए।

अर्को वर्ष थप श्रोत सुनिश्चित गर्ने भन्दै मन्त्री पौडेलले खेलाडीहरुको स्वास्थ्य सुधारका लागि अरु थप के गर्न सकिन्छ त्यसका लागि तयार रहेकाे बताए।

प्रकाशित मिति: : 2024-09-10 11:04:00

प्रतिकृया दिनुहोस्