हालको नेपालको यथार्थ विवरण गर्ने हो भने यो वर्तमानको अव्यवस्थाबाट चरम अराजकतासहितको व्यापक अस्थिरताको युगतर्फ प्रवेश गर्ने संघारमा छ। अर्थात् जे शासन व्यवस्थामा भरहेको छ, त्यसको आयु लामो छैन तर फेरि भइरहेकोलाई प्रतिस्थापन गरेर जे आउने वा ल्याइने सम्भावना देखिँदैछ त्यो भइरहेको भन्दा झन काम नलाग्ने र डर लाग्दो छ। यसो भनेर लेखेको यो आलेख पढेर पाठकलाई जति तक्लिफ हुनेछ, त्यसभन्दा ज्यादा तक्लिफ लेखिरहँदैको समयमा स्वयम पंक्तिकारलाई भइरहेको छ तर फेरि पनि यही नै अहिलेको यथार्थ हो।
आम रुपमा धेरैले भइरहेको अवस्था के हो र त्यसलाई अव्यवस्था किन भनिएको हो, त्यो पक्कै बुझ्नु नै हुनेछ। तर यो अव्यवस्थाको कारण सृजित आक्रोशको जगमा निर्माण भइरहेको डरलाग्दो भविष्यको सत्यतातर्फ भने धेरैको ध्यान पक्कै गएको छैन। साथै हालको अवस्थाको कारकहरुको पहिचानको सम्बन्धमा पनि केही अन्योलता र आम रुपमा फरक फरक मान्यताहरु पक्कै छन्।
आउनुस्, अनपेक्षित वर्तमानको कारकहरु खोजौँ, बुझौँ अनि वर्तमान अव्यवस्थाले संकेत गरेको त्राशदीपूर्ण भविष्यको दृश्यलाई तपाईं हामी सबै मिलेर सकारात्मकतातर्फ लान सकिन्छ कि त्यो पनि कोशिस गरौँ।
सबैभन्दा पहिला चर्चा गरौँ अहिलेको अवस्थाको। विद्यमान संविधानमा लेखिएका अक्षरहरुलाई मात्रै पढेर कुरा गर्ने हो भने त नेपाल संसारमै उत्कृष्ट मौलिक हकहरु भएको लोकतान्त्रिक गणतन्त्र हो तर त्यही संविधानअनुसार दर्ता भएर सञ्चालनमा रहेको दलहरु (खासमा ठुला भनिने दलहरु) का रवैया र शासन सत्तामा रहेर तिनीहरुले गरिरहेका व्यवहारलाई हेर्ने हो भने चाहिँ नेपालमा लोकतन्त्र हैन, केही दलका केही नेताहरुको सिण्डिकेटतन्त्र चलिरहेको छ।
तिनै नेताहरु नै घुमिफिरी सत्ता सञ्चालन गर्ने ठाउँमा पुग्ने एउटा चक्र निरन्तर छ। अनि जो सत्तामा पुग्छ, उसले आफू हुन्जेल आफू र आफ्नाहरुको हितको लागि थिति बिगार्ने काम गर्छन् अनि सत्ता छोडेको दिनदेखि चाहिँ फेरि आफूलाई सबैभन्दा धेरै ज्ञानी, जनप्रेमी र सकारात्मक दावी गर्न पनि उनीहरु छोडदैनन्। त्यो छद्मभेषीता र दोहोरो चरित्र आम रुपमा सबै जसो दलका नेताहरुले व्यवहारमा अभ्यास गर्दै आएका छन्। त्यसैले त्यसो गर्ने यो वा त्यो भन्नै पर्दैन।
उनीहरुको त्यही आत्म केन्द्रित नीति र व्यवहारले गर्दा नै आज नेपालका करिब करिब सबै जसो निकायहरुको क्षमतामा ह्रास आउनुको साथै विश्वसनीयता शून्य प्राय बन्दै गएको छ। त्यस्तो हुनुको पछाडि नेताहरु मात्रै जिम्मेवार छन् भन्नु पनि त्यति उचित भने हुनेछैन। किन? किनभने नेपाली राजनीतिको शीर्ष तहमा रहेका नेताहरुको योग्यता क्षमताको सही मूल्यांकन गरिने हो भने जे भइरहेको छ, त्यो हुनुलाई अन्यथा नमान्दा पनि हुन्छ। किनकि उहाँहरुले प्रजातन्त्र ल्याउन योगदान गर्ने बाहेक राज्य सञ्चालन गर्न आवश्यक ज्ञान, सिप हासिल गर्न न कुनै अध्ययन गर्नुभएको छ, न त हामीले नै त्यस निम्ति उहाँहरुलाई त्यसको लागि बाध्य पार्न कुनै दिन आवश्यक नै ठान्यौँ।
भनिन्छ नि ‘कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि’। तसर्थ, अहिले घुमिफिरी राज्य सञ्चालनको चक्रिय यथार्थमा एक पछि अर्को गरेर पालो पाउँदा पनि देश र जनताको पक्षमा काम गर्न नसक्ने ती नेताहरुको बारेमा अब थप छलफल गर्नु समयको बबार्दी बाहेक केही हैन। अनि विडम्बना त के भने प्रजातन्त्र स्थापनापश्चातको केही समयमा नै राज्य सञ्चालनको निम्ति आफूहरुलाई योग्य, सक्षम बनाएर परिवर्तनको आन्दोलनमा गरेको योगदानले तत्काल शासन सत्ताको नेतृत्व पाउने ती सबै अग्रजहरुलाई योग्यता, क्षमताको दृष्टिले राज्य सञ्चालनमा असक्षम रहेको पुष्टि गर्दै ससम्मान राज्य सञ्चालनको दायित्वबाट मुक्ति दिन दलहरुको युवा पंक्ति पनि चुक्न पुग्यो। जसले गर्दा दलीय नेतृत्व असक्षम मात्रै नभई भ्रष्ट पनि बन्न पुग्यो।
यदि २०४६ सालको प्रजातन्त्र स्थापनाको केही समयमा नै काँग्रेस-एमालेभित्रका युवा भनिएका नेताहरुले आफ्ना नेताहरुमा रहेको राजकीय योग्यताको अभावको यथार्थ प्रष्ट पारिदिन सकेको भए या त नेताहरुले आफूमा राजधर्म विकास गर्न सक्थे वा युवाहरुले आफूलाई योग्य, सक्षम बनाउँदै राजकीय नेतृत्वमा दावी बढाउँदै भएका नेताहरुलाई प्रतिस्थापन गर्न सक्थे तर त्यसो हुन सकेन। त्यति मात्रै हैन, नेताहरुको अयोग्यता र असक्षमतालाई उजगार गर्दै उनीहरुलाई सुधार्ने वा सिध्याउने हिम्मत त हिंसा र आतंकबाट शान्तिमा आएका माओवादीहरुदेखि सबै खत्तम भए।
अब हामी चाहिँ राम्रो गर्छौं भन्ने भाष्यबाट आएको राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरुमा समेत कोही कसैले गरेको देखिँदैन। आफ्नो नेतृत्वमा रहेको कमजोरीको पहिचान गरी त्यसलाई उजागर गराउँदै नेताहरुलाई सच्चिन र सुध्रिन संस्थागत पहल गर्नुको साथै आफूहरुलाई चाहिँ सुशासनको प्रतिबद्धतासहित राज्य सञ्चालन गर्न योग्य बनाउन आवश्यक अध्ययन, अनुसन्धान र प्रयोगमा लाग्नुको अलावा दलीय युवाहरु आ-आफ्नो दलका निकम्मा, नालायक नेताहरुलाई देवत्वकरण गर्ने प्रतिस्पर्धामा लाग्दै आए।
प्रजातन्त्र स्थापना भएको लामो समयसम्म पनि सुयोग्य नेता बन्ने भन्दा पनि अयोग्यहरुको सेवा चाकरीमा अब्बल बन्न दत्तचित्त तिनै युवा नेता भनिनेहरु (जो हाल आफैँ बुढा भइसकेका छन्) कै कारण पढाइलेखाइमा अब्बल किशोर किशोरीहरुको राजनीतिमा आकर्षण शून्य छ। राज्य सञ्चालनमा भूमिका भए/रहेका दलहरुमा आवद्धबाहेक अरु थुप्रै युवाहरु चाहिँ देशको जर्जर अवस्थाको सिकार भएकोले आर्थिक रुपमा संकटमा परेको परिवारको गर्जो टार्न संसारको विभिन्न कुनामा श्रम बेच्न बाध्य छ। अनि त्यसपछि बाँकी रहेका युवाहरु चाहिँ राज्य सत्तामा हालीमुहाली गर्ने नेताहरु र त्यस्ता नेताहरुको तावेदारी गर्ने तिनका कार्यकर्ताहरुको कुकर्मको जगमा सृजित जनआक्रोशको आगोलाई ज्वाला बनाउँदै आफ्नो राजनीतिक अभिष्ट पूरा गराउन चाहने वा विगतमा राज्य सञ्चालनमा रहेर निरङ्कुशताको अभ्यास गरेकाहरुको पुनरावृतिको सपना पूरा गर्ने साधन बन्नेहरु गरी दुई समूहमा विभक्त छ।
उल्लेखित सत्य तथ्यहरुको मननले मात्रै पनि एउटा सिधा निष्कर्ष निकाल्न बाध्य पार्छ। त्यो के भने विभिन्न दलहरुमा रहेका युवा भनिने (यथार्थमा बुढा भइसकेका) नेताहरुको लाछीपन अध्ययन, अनुसन्धान र त्यसको प्रयोगमा उनीहरुको उदासीनता अनि सुरुका दिनहरुमा अयोग्य, असक्षम र पछि भ्रष्ट पनि भएका नेताहरुको तावेदारीमा उनीहरुको प्रतिस्पर्धाले नै आजको अव्यवस्था निम्त्याएको हो।
चाकरी, चाप्लुसी र तावेदारीको जगमा आफ्नो स्वार्थको चुलो बाल्न व्यस्त दलीय युवाहरुकै कारणले हो आज शासन सत्तामा रहेका नेताहरुप्रति मात्रै नभई लोकतान्त्रिक गणतन्त्रसमेत निशानामा पर्न बाध्य भएको छ। गलत गर्ने नेताहरु अनि तिनको तावेदारी गर्नेहरु निशानामा पर्नु र उनीहरुको विस्थापन हुनु त सबै हिसाबले आवश्यक र उचित छ र त्यो हुनु अवश्यमभावी पनि छ। तर हाम्रो यथार्थ चाहिँ खराबहरुको विस्थापन भएर त्यसको ठाउँमा योग्य, सक्षमहरुको आगमन हुने दिशातर्फ उन्मुख छैन। यो चाहिँ हामी सबैको लागि अत्यन्त चिन्ताजनक हो र यसप्रति हामी सबैको ध्यान समयमा जान सकेन भने देशको अस्तित्व नै संकटमा पर्ने खतरा छ। त्यसैले बेलैमा सोच्न र आवश्यक कदम चाल्न आवश्यक छ। इमान्दार र सुयोग्यहरुको बाेलवाला हुने लोकतन्त्र जोगाउँदै सुशासनको ग्यारेण्टी भएको अवस्था निर्माण गराउन लाग्नु हामी सबैको साझा दायित्व हो र यो दायित्व निर्वाह गर्न अव शब्द हैन, कर्म आवश्यक छ।
आखिर त्यस्तो निष्कर्ष के कसरी निकालियो? अनि यदि निष्कर्ष सही हो भने अब के गर्नुपर्ला त? यसमा गम्भीर चिन्तन, मनन अनिवार्य छ। सबैभन्दा पहिलो कुरा त शासन सत्ताको केन्द्रमा रहेका नेताहरुको अयोग्यता, असक्षमता, अनैतिकता र भ्रष्टताको यथार्थ छर्लंग छ, त्यसमा केही भन्नै परेन। त्यसैले यो पनि भनिरहन पर्दैन कि अति गर्नु, अत्याचार नगर्नु भनिने हाम्रो नेपालमा अत्याचार गरिरहेकाहरुको विस्थापन नभई रहन सक्दैन।
तसर्थ, अबको चिन्ता अहिलेका अनैतिक र भ्रष्ट नेताहरु र तिनका दलहरुको विस्थापन हुन्छ वा हुन्न भनेर गर्न आवश्यक छैन। किनकि त्यो नभई छोड्दैन। बरु चिन्ता चाहिँ उनीहरुको विस्थापनपछि नेपाल र हामी नेपालीको अवस्था चाहिँ ‘ताउको माछा भुङ्ग्रोमा’ जस्तो हुने त है? भन्नेमा चाहिँ हुनुपर्छ। त्यसैले आम नेपालीहरुले भए/रहेका नेता र दलहरुको विस्थापन हुँदै गर्दा यिनीहरुभन्दा झन नालायक, झन अनैतिक, झन अराजक, झन असक्षम र झन भ्रष्टहरुको बाेलवाला पो हुने हो कि भन्नेमा चनाखो हुन आवश्यक छ।
गाली वा ताली स्वीकार्दै यति जरुर भन्नैपर्छ कि विद्यमान अव्यवस्थालाई देखाउँदै आफूलाई अबको विकल्प बनाउन उद्दत निरंकुशताका पक्षधर प्रतिगामीहरु हुन् वा भए/रहेकालाई गाली गर्ने शाब्दिक उग्रताबाहेक अरु केही नजानेका अराजकहरु हुन्, यी दुवैले नेपाललाई सुनौलो बिहानीतर्फ हैन, अस्थिर र डरलाग्दो बाटोमा लैजाने छन्।
तसर्थ, अब देशको भविष्यप्रति चिन्तित र जनताको भविष्यप्रति उत्तरदायी सबै देशभक्तहरु एक भएर अगाडि बढ्न आवश्यक छ। त्यसको लागि समय अत्यन्त थोरै छ तर त्यही थोरै समयमा गर्नुपर्ने काम सुझवुझसहित भएन भने देश हालको अव्यवस्थाबाट अराजकतातर्फ अवश्य जाने छ। त्यसैले अब सबै मिलेर विद्यमान अनैतिकता, भ्रष्टचारी, कुशासन र सम्भावित निरङ्कुश अराजकतालाई अन्त्य गर्न कम्मर कस्नै पर्छ। पछि पछुताएर केही हुँदैन। त्यसैले आउनुस् सबैले आफ्नो आफ्नो ठाउँबाट योगदान गर्दै देशलाई उद्दार गरौँ।