युइएफए नेसन्स लिग फुटबलमा स्पेन विजयी

युइएफए नेसन्स लिग फुटबलमा स्पेन विजयी भएको छ। आइतबार राति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ४–१ गोल अन्तरले पराजित गरेको हो। स्पेनको जितमा फावियन रुइजले २ गोल गर्दा जेसेलु र फेरान टोरेसले एक एक गोल थपेका थिए।

स्वीट्जरल्याण्डका लागि मोहमद जेकी अमदौनीले एक गोल फर्काए।

स्वीट्जरल्याण्डको मैदानमा पाहुना टोली स्पेनले चौथो मिनेटमै अग्रता लिएको थियो। युवा खेलाडी लामिने यामलको पासमा जोसेलुले गोल गर्दै अग्रता दिलाएका थिए। आठौं मिनेटमा स्वीट्रल्याण्डले गरेको गोल भारले मान्यता दिएन।

१३ औं मिनेटमा फावियन रुइजले अग्रता दोब्बर बनाए। २० औं मिनेटमा स्पेनका रोविन ली नोर्मान्डले रातो कार्ड पाउँदै मैदान छाड्दा टिम १० खेलाडीमा समेटिएको थियो। १० खेलाडीमा रहेको स्पेनमाथि दबाब बढाउँदै स्वीट्जरल्याण्डका अमदौनीले ४१ औं मिनेटमा गोल फर्काउँदै अग्रता २–१ मा झारेका थिए।

तर, अहिले उत्कृष्ट लयमा रहेको स्पेनले ७७ औं मिनेटमा फेरान टोरेसको पासमा फावियन रुइजले व्यक्तिगत दोस्रो गोल गर्दा टिम ३–१ ले अघि बढेको थियो। ८० औं मिनेटमा जोसेलुको पासमा टोरेसले व्यक्तिगत पहिलो गोल गर्दा स्पेन ४–१ को फराकिलो अन्तरले विजयी भयो।

जितसँगै समूह डी मा रहेको स्पेनले दुई खेलबाट चार अंक जोडेको छ। यता, स्विट्जरल्यान्डको भने यो लगातार दोस्रो पराजय हो। स्पेन यसअघि सर्बियासँग गोलरहित बराबरीमा रोकिएको थियो भने स्विट्जरल्यान्ड डेनमार्कसँग पराजित भएको थियो।

यही समूहमा रहेको डेनमार्कले भने लगातार दोस्रो जीत निकालेको छ। आइतबार राति नै भएको खेलमा डेनमार्कले सर्वियालाई २–० गोल अन्तरले पराजित गरेको हो। डेनमार्कको जीतमा अल्बर्ट ग्रोनबाकले ३६ औं र युसुफ पुलसेनले ६१ औं मिनेटमा गोल गरेका थिए।

जितसँगै डेनमार्कले २ खेलबाट ६ अंक बनाएर आफूलाई शीर्ष स्थानमा राखेको छ। यसैगरी स्पेन २ खेलबाट ४ अंकका साथ दोस्रो स्थानमा छ भने सर्विया १ अंकका साथ तेस्रो स्थानमा रहँदा स्वीट्जरल्याण्ड भने अंकविहीन रहँदै पुच्छारमा रहेको छ।

प्रकाशित मिति: : 2024-09-09 08:41:00

प्रतिकृया दिनुहोस्