विद्युतीय हिंसाविरुद्धको अभियानमा मिस युनिभर्स नेपालकी प्रतियोगी अस्मी ढकाल

Break n Links
Break n Links

कोमल मनकी धनी र अति नै मिलनसार प्रवृतिकी अस्मी ढकाल अहिले विद्युतीय सञ्जालमार्फत् बालबालिकामा हुने हिंसाविरुद्धको अभियानमा चाइल्ड सेफ नेटसँग सहकार्य गरिरहेकी छन। उनको यो कार्यले नेपालका ४४.४ प्रतिशत बालबालिकासहित विश्वकै बालबालिकासमेत सुरक्षित रहन सक्ने अनुमान गर्न सकिन्छ।

विज्ञान प्रविधिको युग भएकाले सामाजिक सञ्जालबाट कोही पनि अछुतो रहन सकेको छैन। कतिले सामाजिक सञ्जालबाट ख्याति कमाएका छन भने कति हिंसाको सिकार पनि भएका छन। ती प्रयोगकर्तामध्ये सबैभन्दा उच्च जोखिममा बालबालिका पर्दछन। बालसुलभ कौतुहलता, सामाजिक सञ्जालको शिक्षाको पहुँचबाहिर रहनु र जो कोहीको प्रलोभनमा सजिलैसँग पर्ने भएकाले पनि बालबालिका विद्युतीय सञ्जालमार्फत् हुने हिंसाको सिकार हुने क्रम दिन प्रतिदिन बढदै गइरहेको पाइन्छ।

नेपाललगायत विश्वभरिका बालबालिकाले अनलाइनमार्फत् बढदो जोखिमको सामना गरिरहेको देखेपछि अस्मी पनि यस अभियानमा बाल संरक्षणमा अग्रणी संस्था चाइल्ड सेफ नेटसँग सहकार्य गर्दै अघि बढिरहेकी छन। यस अभियानमा यो संस्थालगायत हिंसा तथा दुर्व्यवहारको मुद्दालाई सक्रिय रुपमा अघि बढाउन मिस युनिभर्स नेपालको मञ्च समेतको सहयोग मिल्न सक्ने र अब उता बालबालिकाको बालापन र निश्चल हाँसो यथावत रहन दिने विश्वास उनले लिएकी छन।

अस्मीले सुरु गरेको अभियानले साइबर बुलिङ, अनलाइन उत्पीडन, र अनुपयुक्तरुपमा अङ्ग प्रदर्शन, धम्कीजस्ता विभिन्न रूपहरूबारे सचेतना जगाउने प्रयास गर्छ। यी धम्कीहरूले बालबालिकाको सुरक्षामा मात्रै सम्झौता गर्दैन तर उनीहरूको मानसिक स्वास्थ्य र उनीहरुको समग्र विकासमा पनि असर गर्छ। यसैले उनी अभिभावक, विद्यालय लगायतको पहलमा सुरक्षित अनलाइन अभ्यासहरूको महत्व, प्रविधिको जिम्मेवार प्रयोग र बालबालिकाहरूले आफ्ना अनुभवहरू बोल्न सक्ने सहयोगी वातावरणको आवश्यकतालाई जोड दिनुपर्छ भन्ने कुरामा जोड दिन्छिन।

जीवनमा आइलागेका हरेक कुरालाई सकरात्मक सोचका साथ अघि बढने अस्मी ढकालले २०१९मा कोरोनाले सम्पूर्ण विश्व नै त्रसित अनि आक्रान्त बनाएको बेला १६ वर्षको कलिलो उमेरमा डिजिटल पत्रिका– रेनेसा अर्थात् पुनर्जागरण’ प्रकाशित गरेर सबैलाई छक्क पारेकी थिइन। त्यसबेला उनले ओझेलमा परेका क्षमतावान 
युवाहरुलाई आफनो डिजिटल पत्रिका– रेनेसामा स्थान दिएकी थिइन। उनको कार्य क्षमता देखेर सबैले प्रशंसा गरेका थिए।

यसका साथै उनले काठमाडाैँ एनिमल ट्रिटमेन्ट सेन्टरमा स्वयंसेवीका रुपमा काम गरिन। उनको लगनशीलता र मायालु प्रवृत्तिका कारण उक्त संस्थाले उनलाई सम्मान समेत गर्यो।

नेशनल क्रिएटिभ कोएजुकेशनल स्कुलबाट एस.ई.ई परीक्षा उत्तीर्ण गरेपछि उनले मिस एस.ई.ई सुन्दरी प्रतियोगितामा पहिलोपटक सहभागिता जनाइन र द्वितीय स्थान ओगटन सफल भइन। उक्त प्रतियोगिताले उनलाई आफनो लक्ष्यतिर उन्मुख हुन थप ऊर्जा दिएको थियो। त्यहाँबाट नै उनले मिस युनिभर्सको यात्रामा पूर्ण अठोटका साथ लाग्ने निर्णय लिएकी हुन र आज उनी सम्पूर्ण बालबालिकाको सुरक्षाको अभिभारा लिएर सेफ नेट नेपालसँगै सहकार्य गर्दै अघि बढेकी छन।

उनको यस पवित्र अभियानमा देश विदेशमा रहेका अभिभावक, विद्यालय र जागरुक युवावर्ग, संघ संस्था लगायत सहृदयी हातहरुको आवश्यकता रहेको छ। उनी यस अभियानलाई साकार तुल्याउन मिस युनिभर्स नेपालको मञ्च अति नै उपयुक्त भएको र उनी प्रतियोगितामा विजयी भए नेपाल मात्र नभई विश्व धेरै जसो देशहरुमा उनको अभियान सञ्चालन हुनेछ र उनलाई सबैको सहयोग मिल्नेछ भन्ने कुरामा विश्वस्त भएकी छन।

अन्तमा विद्युतीय सञ्जालमार्फत् बालबालिकामा हुने हिंसाविरुद्धको अभियानका मिस युनिभर्स नेपालको मञ्चबाट प्रतियोगी अस्मी ढकाल समाजका सबै जिम्मेवार व्यक्तिहरुलाई आह्वान गर्दै भन्छिन,‘जिम्मेवारी लिऔँ, यो समस्याको अन्त्य गरौँ।’

चाइल्ड सेफ नेटको सहकार्य गर्दा उनले गरेको आह्वानको भिडियो लिंक तल दिइएको छ :

Asmi Dhakal - Miss Universe Nepal, Contestant No. 17: Child Online Protection Awareness Message (youtube.com)

प्रकाशित मिति: : 2024-09-08 18:37:00

प्रतिकृया दिनुहोस्