रोल्पाका मनकुमारलाई स्विट्जरल्यान्ड ट्रेल रेसमा अर्को सफलता, नेपाललाई दिलाए गोल मेडल

Break n Links
Break n Links

स्विट्जरल्याण्डमा शनिबार भएको ६.३ किमीकाे अपहिल रन (पहाडमा तलबाट माथितिर) दौडमा नेपाली अल्ट्रा धावक मनकुमार रोका मगरले पहिलो स्थान हासिल गरेका छन्।

उनले ४१ मिनटमा डौड पूरा गरी पहिलो भएका थिए भने दोस्रो भएका स्विट्जरल्याण्डका धावकलाई २५ सेकेण्डले पछाडि छाडेका थिए।

जितपछि मनकुमारले बिएल नेपाली सेवालाई खुशी साट्दै भने, 'बच्चादेखिको सपना पूरा भयो, नेपालको झण्डा अन्तर्राष्ट्रिय स्तरमा फहराउन पाउँदा खुशी छु।' उनले थपे, 'मेरो देश नेपाललाई गोल्ड मेडल उपहार दिन सकेँ, अत्यन्तै गर्वको महसुस गरेको छु। अब सेप्टेम्बर १३ मा हुने प्रतियोगिताको व्यग्र प्रतिक्षामा छु, त्यसैको तयारीमा जुटेको छु।'

एक हप्ता अगाडि भएको ४९औँ ओब्रोनाज रामब्रेट रेसको १० किमीको रेसमा मनकुमारले १ घण्टा ३ सेकेन्डले पूरा गरी दोस्रो भएका थिए। पहिलो धावकले उनीभन्दा ३ सेकेन्डले पार गरेका थिए। उक्त रेसमा विश्वका विभिन्न देशका ३०० धावकले प्रतियोगितामा भाग लिएका थिए।

यसैगरी राेल्पाका मनकुमारले स्विट्जरल्याण्डमा सम्पन्न ‘एन्जेरी टूर डेज अल्पेज भलाइज ट्रेल’मा तेस्राे स्थान हासिल गरे। ८ सय सहभागी २८ किलाेमिटर दूरीकाे उक्त रेस २ घण्टा २४ मिनेट १४ सेकेन्डमा पूरा गर्दै मनकुमारले तेस्राे स्थान हासिल गरेका हुन्।

उक्त दूरी २ घण्टा १९ मिनेट २६ सेकेन्टमा पूरा गर्दै काेलम्बियाका साउल एन्टोनियो पाउअ रोड्रिग्वेल प्रथम तथा २ घण्टा २२ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै इथिपिपयाका मेकोनेन तेफेरा दाेस्राे भए। उनले उमेर समूह (एज क्याटगरी)मा भने प्रथम स्थान हासिल गरे।

यसअघि उनले स्विट्जरल्याण्डमा जुलाई ६ तारिकमा भएको ५० किलोमिटर दूरीको भर्बिएर सेन्ट बर्नार्ड बाई युटिएमबी रेसमा आठौँ स्थान हासिल गरेका थिए। उक्त ट्रेल रेसमा विश्वका विभिन्न मुलुकका १ हजार ५ सय जना धावकहरु सहभागी थिए।

मनकुमारले विश्वभरका हजारौँ धावकहरुबीच नेपालको झण्डा फहराउन पाउँदा अत्यन्तै हर्षित भएको उनले बताए। ‘नेपालको लागि मेडल थप्न र चिनाउन पाँए। खुसी छु’, उनले भने।

रोल्पाको दुर्गम स्थान थबाङबाट आफ्नै बल, बुद्धि र मिहेनतको फल भएको उनी बताउँछन्।

नेपालमा २-३ सय खेलाडीमाझ दाैडिँदै आएकोमा स्विडजरल्याण्डमामा हजारौँ खेलाडीबीच दाैडिँदा छुट्टै र विशिष्ट अनुभूति भएकाे उनले सुनाए।

उचित वातावारण र अवसरहरु भएमा नेपाली खेलाडीले पनि विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने उनकाे भनाइ छ। केन्द्र सरकार र स्थानीय तहले सहयाेग गरेमा अबकाे लक्ष्य विश्व च्याम्पियनसीपमा भाग लिएर नेपालकाे नाम राख्ने याेजना रहेकाे उनले बताए।

भविष्यप्रति सचेत रहँदै उनले यदि कुनै निकायबाट साथ, सहयोग नपाएको खण्डमा २-३ सालपछि अन्य विकल्प साेच्ने बताए। ‘सरकारको साथ, सहयोग र स्पोन्सर पाउनेमा आशावादी छु र यही क्षेत्रमा निरन्तर लागिरहनेछु। देशको झण्डा र नाम विश्वभर चम्काउनेछु’, उनले भने।

निश्चित लक्ष्य लिएर अगाडि बढेमा सफलता हात पार्न कठिन नभएकाे उनकाे भनाइ छ।

रोल्पाको थबाङ- १मा जन्मे/हुर्केका २१ वर्षीय मनकुमारले विगत २ महिनादेखि स्विट्जरल्याण्डमा आयोजित विभिन्न ट्रेल रेसहरुमा भाग लिँदै आएका छन्।

उनले अव सेप्टेम्बर १३ देखि १५ सम्म हुने वाइल्ड स्ट्रबेल क्रान्स मोन्टानामा अन्तिम प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन्।

रुकुम-रोल्पामा गुरिल्ला माराथन सञ्चालन गर्दै आएका संयोजक सुनिलकुमार रोकाले मनकुमारको उपलब्धि देशकाे लागि गौरवको विषय रहेको बताए।

गुरिल्ला माराथनले दुर्गम क्षेत्रमा रहेका युवा प्रतिभालाई ट्रेल रेसमा भाग लिन प्रेरित गर्ने र अवसर दिने प्लेटफर्म रहेको स्मरण गर्दै नेपालका दूरदराजमा लुकेर बसेका खेलाडीलाई सरकारले खोजी-खोजी साथ सहयोग दिनपर्ने धारणा राखेका छन।

‘मनकुमार गुरिल्ला ट्रेल रेसका प्रडक्ट हो। उनीजस्ता हजारौँ युवाहरु अवसर र साथ नपाएर विदेशिन बाध्य भएका छन। सरकारले बेलैमा सोचेर युवाहरुलाई सक्दो लगानी गर्नपर्छ’, उनले भने।

मनकुमारले यसअघि २५ किमी पोखरा ट्रेल रेस‍ सेरिजको उपाधि जितेका थिए। चैत २०८० सुनापती सैलुङ अल्ट्रा म्याराथन प्रतियोगितामा उनी दोस्रो भएका थिए। गत अप्रिलमा नेपालमा आयोजित चौंथो मञ्जुश्री ट्रेल रेस र मुस्ताङ रेसको उपाधि जितेपछि मनकुमार ट्रेल रेसमा नयाँ स्टारको रुपमा उदय भएका थिए।

प्रकाशित मिति: : 2024-09-08 17:47:00

प्रतिकृया दिनुहोस्