ब्राजिलमा नेपालीलाई ‘प्रवेश निषेध’,  अब कसरी छिर्लान् अमेरिका? (भिडियो)

Break n Links
Break n Links

अबैधरुपमा अमेरिका छिर्नका लागि ‘हवाई ट्रान्जिट’का रुपमा प्रयोग हुँदै आएको ब्राजिलमा ‘शरण’ माग्नेहरूमध्ये नेपालीको संख्या पनि ठूलै रहेको त्यहाँको गुप्तचर नियकाले जनाएको छ। उसले गरेको एउटा अध्ययनअनुसार गैरकानुनीरुपमा ब्राजिल भित्रिएर त्यहाँ शरण माग्नेहरूमध्ये हरेक पाँचजनामा एकजना नेपाली छन्।

पछिल्लो डेढ वर्षको एउटा तथ्याङ्कअनुसार ब्राजिलमा शरण माग्ने ८ हजार ३०० मध्ये १ हजार ९ सय जना नेपाली भेटिएका छन्। यो संख्याबारे ब्राजिलले सम्बन्धित देशका सरकारी निकायहरूसँग पुष्टि गरिरहेको छ। 

अरु देशका नागरिकजस्तै नेपालीले पनि अवैध बाटो भएर अमेरिका छिर्नका लागि ब्राजिललाई ट्रान्जिट बनाउँदै आएका थिए। हवाई यात्रामा ‘ट्रान्जिट’ भिसा आवश्यक नपर्ने कानुन भएको ब्राजिल युरोप र अमेरिका उड्नका लागि सजिलो हवाई गन्तव्य मानिन्छ। 

यसरी आप्रवासीहरु भरिन थालेपछि ब्राजिलले त्यसका लागि नयाँ नियम लागु गरेको जनाएको छ। अबदेखि नेपाललगायतका कतिपय देशका राहदानीबाहकका यात्रुहरूलाई विमानस्थबाटै ‘ट्रान्जिट भिसा’ जारी हुने छैन। र त्यहाँबाट शरण माग्न पनि पाइनेछैन। त्यसो गरेको प्रमाणित भएमा ब्राजिलको अध्यागमनले आफ्नै देशमा फिर्ता गर्नसक्ने नियम लागु गरेको छ। 


भिडियो–

यो नियम लागु भएसँगै ब्राजिल विमानस्थलमा यसअघि १७६ जना नेपाली अलपत्र परेका थिए। उनीहरू अहिले नेपाली दूतावासको सम्पर्कमा छन्। ब्राजिलको सबैभन्दा ठूलो र प्रमुख साओ पाउलोस्थित गुहारुल्युस अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूलाई त्यहाँको अध्यागमनले नियन्त्रणमा लिएको थियो। अबदेखि ब्राजिलले नेपालीलाई शरण नदिने पनि नीति लिएको छ। 

बितेको डेढ वर्षमा ब्राजिलमा शरण माग्नेमध्ये लगभग २२ दशमलव ८ प्रतिशत नेपाली छन्। त्यस्तै २३.९ प्रतिशत भारतीय र २३.५ प्रतिशत भियतनामका नागरिकहरू छन्। 

नेपालीलाई अवैधरुपमा अमेरिका पठाउनका लागि दलालहरूले ब्राजिललाई ट्रान्जिट हवाई रुटका रुपमा प्रयोग गर्दै आएका थिए। त्यसका लागि नेपालीले लाखौं रकम खर्च गर्दै आएका छन्।

प्रकाशित मिति: : 2024-09-01 10:47:00

प्रतिकृया दिनुहोस्