योगेश भट्टराईमाथि खनिए माओवादी सांसद, जनयुद्धमा हतियार तस्करी गरेको आरोप

Break n Links
Break n Links

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसदहरूले एमाले सांसद योगेश भट्टराईले जनयुद्धलाई १० वर्षे हिंसा भनेकोप्रति आपत्ति जनाएका छन्।

बिहीबारकाे प्रतिनिधिसभा बैठकमा बाेल्दै माओवादीका सांसद छिरिङ डुम्डुल लामाले योगेशले महान जनयुद्धलाई हिंसा भनेको भन्दै आपत्ति जनाए।

उनले जनयुद्धको समयमा चन्दा असुली र हतियार तस्करी गरेको आरोप लगाए। सांसद लामाले भट्टराई आफैं हिंसा गर्ने नाइके भएर जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवारी भएको बताए।

उनले भने, ‘२००७ साल, २०२८ सालको विद्रोह, ०५२ सालको सशस्त्र जनयुद्ध सबै एकात्मक शासन प्रणालीविरुद्ध लडेको मुक्ति युद्ध र जनताको आवाज हुन्। जो जनमुक्ति र वर्गमुक्तिको संघर्षको बिगुल फुक्ने आँट प्रचण्डसहित सबै नेताहरुमा सम्मान छ। तर, जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गर्ने, आफैं हिंसाको गतिविधि गर्ने नाइकेले महान जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवारी हो।’

यसैगरी सांसद छिरिङलामू लामा तामाङले एमाले सांसद भट्टराई हतियार तस्करीमा संलग्न भएको आरोप लागेकाे बताइन्।

'हिजाे सरकारकाे नेतृत्व गरिरहेकाे एमालेबाट प्रतिनिधित्व गर्ने एक जना माननीय सदस्यले संसदकाे सामान्य मान पनि नराखी पटक-पटक यो व्यवस्था निर्माण गर्न जनयुद्ध लडेको माओवादीलाई अपमान गर्ने मनसायले अभिव्यक्ति दिनुभयाे। माननीयकाे यस्तो रवैयाले देशलाई अर्को द्वन्द्वकाे चपेटामा लाने भित्री मनसाय प्रकट भएको हो कि भन्ने गम्भीर आशंका पैदा भएकाे छ। उहाँको विषयमा सधैँ कन्ट्रोभर्सी बाहिर आइ नै राख्छन्। उहाँ मन्त्री हुँदा नारायणहिटीको बतास काण्ड होस् वा एक जना माननीयले केही समय पहिले जनयुद्ध कालमा हतियार खरिद बिक्री र ओसारपसारको आरोप लगाउनुभएकाे छ। यसबारे उचित छानबिन होस्’, उनले भनिन्।

बुधबारकाे संसद बैठकमा एमाले र माओवादीका सांसदबीच घम्साघम्सी परेपछि याे विषय संसद बाहिर पनि चर्किएको छ।

एमाले सांसद भट्टराईले संसदमा माओवादी जनयुद्धलाई हिंसा भनेपछि अहिले माओवादीका नेता तथा कार्यकर्ता उनीमाथि खनिन थालेका छन्।

यसै क्रममा माओवादी केन्द्रका सांसद राजन दाहालले जनयुद्धको बलमा प्राप्त उपलब्धिहरु उपभोग गर्ने अनि महान जनयुद्धलाई हिंसा भन्ने? भन्दै प्रश्न योगेशमाथि गरेका छन्।

‘महान् जनयुद्धको बलमा प्राप्त उपलब्धिहरू उपभोग गर्ने अनि माहान् जनयुद्धलाई हिंसा भन्ने वैगुनी केटो। नम्वरी ठग’, उनले सामाजिक सञ्जालमा लेखेका छन्।

दाहालले लेखेको सो स्ट्याटस माओवादी उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले समेत फेसबुकमा शेयर गरेका छन्।

प्रकाशित मिति: : 2024-08-29 15:19:00

प्रतिकृया दिनुहोस्