रास्वपा नियति: हुरी बनेर आएको थियो, त्यसैले निभ्दैछ

Break n Links
Break n Links

नेपाली राजनीतिमा ‘हुरी’ बनेर आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला त्यसकै भुमरीभित्र रुमलिन पुगेको छ।

गर्भमै विवादका पोकाहरू लिएर जन्मिएको रास्वपा जसरी भर्भराएको थियो त्यसरी नै निभिरहेको छ, तल्लो तहदेखि सभापतिको राजनीतिक र व्यक्तिगत जीवनसम्मै। रास्वपामा त्यस्ता कुनै पदाधिकारी छैनन्, जहाँ निजी जीवनका विवादहरू राजनीतिमा नमिसिएका होऊन्।

यही रास्वपामा अहिले घर झगडा चरमरुपमा देखा परेको छ। र त देश घुमेर पार्टीको नसा–नसा छामिआएका आफ्नै महामन्त्री डा. मुकुल ढकाललाई रास्वपाले किनारा लगाइदिएको छ।

उनी पार्टी सभापति रवि लामिछानेसँग ४९ दिनसम्म लडाइँ लडे। तर सिंगा पार्टी रविका पक्षमा उभिएपछि मंगलबार (भदौ ११ गते) साधारण सदस्य नहरने गरी मुकुल ढकाल पार्टीबाट बर्खास्त भएका छन्।

असार २६ गते पहिलो पटक पार्टीले केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताबाट ढकाललाई बर्खास्त गरेको थियो। पार्टीले जिम्मेवारीबाट बर्खास्त गरेपछि उनी पार्टीभित्र रविसँग बढी जुहारी खेलेका थिए।

पार्टीको कारबाहीमा पर्नेमा उच्च पदस्थ पदाधिकारीमध्ये ढकाल पहिलो हुन्। ७ असार २०७९ मा रास्वपा बनाउँदै गर्दा उनी महत्वपूर्ण व्यक्ति थिए। जसले गर्दा उनी महामन्त्री बने।

अन्तत: उनै महत्वपूर्ण व्यक्तिलाई पार्टीमा सधैँका लागि ढोका बन्द भइदिएको छ।

रास्वपामा कारबाहीको श्रृङ्खला

२०७९ मंसिरमा भएको दोस्रो आम निर्वाचनलाई लक्षित गरी रास्वपा बनाइएको थियो। निर्वाचनमा रास्वपाले अप्रत्याशित जित निकाल्दै २१ सिटसहित संसदमा चौथो दल बन्यो।

जसरी रास्वपा रापतापसहित संसदमा पुग्यो, उस्तै रापतापसहित पार्टीमा कारबाहीको डण्डा पनि चलिरहेको छ। साधारण सदस्यदेखि पार्टीकै महामन्त्रीलाई कारबाही गर्ने अवस्थामा रास्वपा पुगेको छ।

सुरुमा रास्वपाले एक व्यवसायीसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको थियो। सांसद बनेको ४ महिनामा २९ चैत २०७९ मा उनी साधारण सदस्यबाट निष्कासित भएका थिए।

यस्तै रास्वपाले दाङ निर्वाचन क्षेत्र नम्बर ३ का सभापति मेघराज केसीलगायत दर्जन बढी नेता कार्यकर्तालाई कारबाही गरेको थियो। उनीहरू पार्टी अनुशासन उल्लंघन गरेको भन्दै कारबाहीमा परेका हुन्।

तर कारबाहीपछि सभापति केसी नेतृत्वमा ६६ जनाले यही भदौ १ गते रास्वपा परित्याग गरेका थिए। पार्टी छाड्दै उनीहरूले रास्वपा सभापति लामिछाने धेरै काण्डमा मुछिएको र यस्तो अवस्थामा आफूहरू पार्टीमा बस्न नसक्दै भन्दै पार्टी परित्यागको घोषणा गरेका थिए।

दाङमा मात्र होइन, पार्टी परित्याग गर्नेको संख्या अन्य जिल्लामा पनि ठुलै छ। जिल्लागत रुपमा आवद्ध भएका नेता कार्यकर्ताहरूले पार्टीमा लाग्नु र छाड्नु सँगसँगै जस्तो भइरहेको छ।

यही असार ११ गते रास्वपाका प्युठान जिल्ला संयोजक सुमन सुवेदीले पार्टी परित्याग गरेका थिए। उनले जिम्मेवारी पूरा गर्न नसकेकाले पार्टी छाड्नु परेको बताए।

बर्दियामा पनि पार्टी छाड्ने ठुलै संख्या छ। २०८० माघमा बर्दियामा २१ जनाले पार्टी परित्या गरेका थिए। पार्टीको नेतृत्वमा पदीय ध्वाँस, हैकमवादी चरित्र, धम्कीपूर्ण व्यवहार र गुट–उपगुट मौलाएको आरोप लगाउँदै उनीहरूले पार्टी परित्याग गरेका थिए।

यही असार १४ गते पूर्वको मोरङमा रास्वपाका जिल्ला सचिवालय सचिव भुवन खनालसहित ६ जनाले पार्टी त्यागेको घोषणा गरेका थिए। उनीहरूले पार्टीले बोल्ने एउटा र काम अर्कै गर्दै गइरहेको भन्दै उनीहरूले पार्टी छाडेका थिए।

रास्वपामा कुटाकुट पनि

रास्वपामा कारबाही र पार्टी परित्यागको शृङ्खला मात्र छैन, पार्टी स्थापनाको दुई वर्षमा नयाँ र पृथक भनिएको पार्टीमै कुटाकुटसम्मको घटना पनि देखिएका छन्।

पार्टी वर्ष दिन पुगेकै समयमा असार २०८० मा रुपन्देहीमा दुई गुटबीच विवाद हुँदा कुटाकुट भएको थियो। सैनामैना नगर संयोजक दामोदर खत्रीमाथि कुटपिट भएको थियो।

उनले प्रदेश उपसभापति शालिकराम घिमिरे, रुपन्देही संयोजक प्रकाश ज्ञवाली र रुपन्देही क्षेत्र नं २ का क्षेत्रीय सदस्य विक्रम तिवारीलगायतले पार्टी कार्यालयमै कुटपिट गरेको आरोप लगाएका थिए।

विधानअनुसार पार्टी चलाउनुपर्छ भन्दा उनीहरूको समूहले आफूसँग अनुचित प्रस्ताव राखेको र उक्त प्रस्तावमा सहमत नभएपछि कुटपिट भएको पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए।

पछि उनीहरूबीचको विवाद प्रहरी कार्यालयमा पुगेको थियो।

नबन्दै चर्किएको पार्टी

पुराना दलको विकल्पको रुपमा उदाएको रास्वपा अन्तत: पुरानै पार्टीजस्तै बन्दै गएको छ। पार्टीको संरचना कस्तो हुने भन्नेसमेत दुई वर्षसम्म कुनै टुंगो नलगाएको रास्वपामा विवाद छताछुल्ल भइरहेको छ।

पार्टी सभापति लामिछाने आफैँ सहकारी रकम हिनामिनामा जोडिएका छन्। उनको कार्यशैलीप्रति पार्टीभित्रै प्रश्न उठ्ने गर्छ। समानुपातिक सांसद बनाउँदासमेत पार्टीभित्र विवाद भएको विषय अहिले आएर बाहिरिएको छ। यसले रास्वपा पूर्ण नहुँदै चर्किरहेको देखाउँछ।

तर रास्वपाका पदाधिकारी भने पार्टीभित्रको विवादलाई सामान्य रुपमा लिन्छन्। मुकुल ढकाललाई कारबाही गर्ने विषयमा कार्यवाहक प्रवक्ता मनिष झा लोकतान्त्रिक पार्टीमा अनुशासन हुनुपर्ने बताउँछन्।

अनुशासनहीन व्यक्तिलाई पार्टीमा ठाउँ नहुने उनले भन्दै आइरहेका छन्। पार्टीले पूर्णता नपाउँदै जिल्ला तहमा पार्टी नेतालाई कारबाही गर्नेदेखि अहिले आफैँ पार्टी छाड्ने बढिरहेका छन् नि? भन्ने प्रश्नमा पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य भन्छन्, ‘यो स्वभाविक हो।’

पार्टीमा आउने र जानेक्रम चलिरहने बताउँदै उनले यसलाई ठुलो विषयका रुपमा पार्टीले नलिएको बताए। पार्टीलाई पूर्णता दिने विषयमा भने उनी राष्ट्रिय भेलाबाट एकिन गरिने पनि बताए।

‘हाम्रो संगठन कस्तो बनाउने? संरचना कस्तो हुने भन्नेमा आउने असोज १ र २ गते बस्ने राष्ट्रिय भेलाबाट एकिन गरिने छ’, उनले बिएल नेपाली सेवासँग भने। 

प्रकाशित मिति: : 2024-08-30 07:34:00

प्रतिकृया दिनुहोस्