जहाजै नउड्ने एयरपोर्टमाथि दङ्गालीका हजार फन्का

Break n Links
Break n Links

शुक्रबार (भदौ ७ गते) दाङको एउटा जम्बो टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्यो। जम्बो टोलीले १३ बुँदे जम्बो माग बोकेर आएको थियो। 

मागपत्रमा १३ बुँदा भए पनि त्यसको मुख्य माग तुलसीपुर (टरिगाउँ) एयरपोर्ट थियो। टिरिगाउँ एयरपोर्ट सञ्चालनमा आएको ७ दशक (विस २०११ सालमा सञ्चालन) भयो। तर एयरपोर्ट हुनु र नहुनुमा केही फरक छैन। अर्थात एयरपोर्ट मृतप्राय: छ।

यही एयरपोर्ट सञ्चालनका लागि उक्त टोलीले प्रधानमन्त्रीलाई भेटेर पैसा माग गर्‍यो। जसमा एमालेका महासचिव शंकर पोखरेल, काँग्रेसका प्रतिनिधिसभा सदस्य दीपक गिरी, तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का, उपमेयर स्यानी चौधरी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विपिन केसी, घोराही उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीलगायत थिए। 

माग पत्रमा टरिगाउँ एयरपोर्टको धावन मार्ग विस्तारका लागि बजेट अभाव भएको र आवश्यक बजेट माग गरिएको छ। 

दङ्गालीका हजार फन्का 

टरिगाउँ एयरपोर्टमा अहिले पनि साना (१९ सिटे)जहाज उडान भर्न सक्छ। मात्र नियमित उडान हुन सकेको छैन। वि.स २०११ सालमा एयरपोर्ट बनेदेखि नै दैनिक उडान नहुँदा खासमा यो एयरपोर्ट मृतप्राय: छ।

हप्तामा दुई–तीन दिनको समय तालिका बनाएर यहाँ एयरलाइन्सहरू उडानका लागि तयार भए पनि विभिन्न कारण बनाउँदै उडान भर्न सकेका छैनन्। अहिले त एक महिना (साउन)देखि यहाँ उडान ठप्प छ। नेपाल एयरलाइन्सले हप्ताको एक दिन बुधबार उडान भर्दै आएको थियो। तर वर्षामा मौसमको कारण देखाउँदै अहिले उडान भर्न नसकेको विमानस्थल प्रमुख प्रतिष्ठा आचार्यले बताइन्। 

नियमित उडान हुन नसकेको यस एयरपोर्टमा पहिले दङ्गाली नेतृत्वको नियमित उडान गर्ने प्रतिवद्धता हुन्थ्यो। उद्योग वाणिज्य संघको निर्वाचन होस् वा सांसदको, टरिगाउँ एयरपोर्टमा नियमित उडानको एजेण्डा प्रमुख नै बन्थ्यो। 

तर कहिल्यै पनि यहाँ नियमित उडान हुन सकेन। 

अहिले नियमित उडानको एजेण्डा दङ्गाली नेतृत्वलाई पुरानो बनेको छ। अब उनीहरुको लागि नयाँ एजेण्डाका रुपमा विमानस्थल विस्तार गर्ने र ठुलो (७२ सिटेसम्म) जहाँज उडाउने बनेको छ।

त्यसका लागि एयरपोर्ट विस्तार मुख्य चुनौति बनेको छ। भन्न त अहिलेको धावनमार्गमा ७२ सिटे जहाँज उडाउने तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीले नभेकी होइनन्। २०७९ मा निर्वाचित भएको उत्साहमा उनले त धावनमार्ग आफै डोजर लगेर बढाउनेसम्मको अभिब्यक्ति दिएकी पनि हुन्। 

उपमेयरमात्र कहाँ हो र? बहालवाला मन्त्रीले नै भाका तोकेर ७२ सिटे जहाँज एयरपोर्टमा बलासाल्ने बताएकै हुन्। २०७९ मंसिरमा भएको आम निर्वाचनको मुखमा तत्कालीन पर्यटनमन्त्री जीवराम श्रेष्ठ, सहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य राज्य मन्त्री हिराचन्द्र केसीले विमानस्थलमै पुगेर धावन मार्ग विस्तार गरिने र छिट्टै ७२ सिटे जहाज उडाइने बताएका थिए। 

तर संघका मन्त्रीदेखि स्थानीय तहका जनप्रतिनिधसम्मले गरेका ती भाषण ३ वर्ष पुग्दा पनि फगत गफमा सिमित भइदिएको छ। यस्ता भाषण र प्रतिबद्धता दङ्गाली जनताले कति सुने अब पत्याइहाल्ने अवस्था छैन। 

‘तुलसीपुरमा नियमित उडान गर्ने–गर्ने भन्ने थालेको दशकौँ भइसक्यो। पछि सञ्चालमा आएका एयरपोर्टमा नियमित उडान हुने, सात दशकअघि सञ्चालमा आएको एरपोर्टमा नहुने। अब बच्चाहरूले पनि दाङमा किन नियमित उडान हुँदैन बाबा भन्ने थाले,’ एयरपोर्ट विस्तारको वकालत गर्दै आएका घोराही उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नारायण भुषालले भने, ‘एक किसिमले अब त लाज पनि लाग्न थाल्यो।’

टरिगाउँ एयरपोर्ट यसै पनि विवादित भएको एयरपोर्ट हो। टरिगाउँ एयरपोर्ट विस्तारका लागि नागरिक उड्ययन प्राधिकरणको एउटा टोलीले केही वर्ष पहिले अध्ययन पनि गरेको थियो। जुन अध्ययनमा ठुलो जहाज उडानका लागि समस्या हुने भनिएको थियो। 

अहिले यस एयरपोर्टको रन वे ७५० मिटर छ भने चौडाइ ३० मिटर छ। यही रन वेमा ठुलो जहाँज अवतरण हुन सक्दैन। फेरि अहिले नागरिक उड्ययन प्राधिकरण र पोखरा विमानस्थल बनाएको इन्जिनियरको टोलीले रन वे विस्तार गरेमा ७२ सिटे जहाज उडाउन सकिने बताएका छन्।

अहिले दाङका राजनीतिक नेतृत्वहरू रन वे बढाउन लागेका छन्। 

तस्बिर: शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग दङ्गाली नेतृत्व

तर रन वे विस्तारका लागि बस्ती, वन पर्छ। यसको व्यवस्थापनमा समस्या छ। तर उपमेयर चौधरी बस्ती, वन सबैको व्यवस्थापन हुने र विमानस्थल विस्तार हुने बताइन्। ‘समस्या भएको सबै व्यवस्थापन हुन्छ। सरकारले बजेट व्यवस्थापन गरेपछि काम अगाडी बढ्छ’, बिएल नेपाली सेवासँग कुरा गर्दै चौधरीले भनिन्। 

दाङको यो विमानस्थलमा जहाज उड्ने र बन्द हुन थालेको धेरैपटक भइसक्यो। खासगरी तुलसीपुर क्षेत्रका व्यवसायीहरू त्यसको नियमितताका लागि सरकार अनि मन्त्रीहहरूको दैलो–दैलो धाउन थालेको पनि धेरै भइसक्यो। 

सबैलाई थाहा छ कि यो विमानस्थलको संरचना नै पुनर्निर्माण गर्नुपर्छ। या त्यसको विकल्प खोज्नैपर्छ। त्यसलाई टालटुल गरेर वा केही इन्च लाम्चो अनि चौडा पारेर त्यो विमानस्थलले पूर्णता पाउनै सक्दैन। तर पनि दाङका हरेक नेताहरूको चुनावी एजेन्डा नै यही टरिगाउँको विमानस्थल हो। अनि यहाँका व्यापारीमात्रै होइन यहाँका हरेक सामाजिक संघसंस्थाका अगुवाहरूको पहिलो मुद्दा नै यही विमानस्थल सञ्चालनमा ल्याउने हुन्छ। 

नारायणपुर विमानस्थल: हात्ति आयो–आयो फुस्सा

राप्ती क्षेत्रकै सबैभन्दा पुरानो टरिगाउँ एयरपोर्ट सञ्चालनका लागि चिउरा चपाएसरह भएको दङ्गाली नेतृत्वलाई कुनै समय नारायणपुरमा अर्को एयरपोर्ट बनाउने धङ्धङ्गी थियो। तुलसीपुर र नारायणपुरको दुरी करिब १० किलोमिटर छ। 

१० किलोमिटरमा किन अर्को एयरपोर्ट भन्नेमा टरिगाउँ एयरपोर्ट सानो भएको र विस्तारमा पनि समस्या भएको भनिन्थ्यो। कुन ठाउँमा विमानस्थल भन्नेमा दाङकै नेताहरू दुई ध्रुवमा विभाजित पनि थिए। 

घोराहीतिरका नेतृत्वले नारायणपुरमा एयरपोर्ट हुनुपर्ने र तुलसीपुरतिरका नेतृत्वले टरिगाउँकै एयरपोर्ट सञ्चालन गर्नुपर्ने वकालत गर्थे। 

तर पनि २०६८ सालमा नारायणपुरमा क्षेत्रीयस्तरको विमानस्थल बनाउने तयारी थालिएको थियो। तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र विष्टले त्यतिबेल्यै नारायणपुरमा एयरपोर्ट बनाउनका लागि अध्ययन गरेका थिए। 

त्यो अध्ययन पछि अघि बढेन। कुरासमेत उठ्न छाडेको थियो। तर २०७४ सालमा दाङबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका एमाले महासचिव पोखरेलले यसलाई फेरि उठाए। 

उनको पहलमा संघ सरकारले पनि प्राथमिकतामा राख्दै आयो। निर्वाचनको पहिलो वर्ष (आर्थिक वर्ष २०७४/७५) नै संघीय सरकारले नारायणपुरमा एयरपोर्ट बनाउन वातावरणीय प्रभाव मूल्याङ्कनका लागि दुई करोड बजेट विनियोजन भयो। तर काम हुन सकेन। 

संघ सरकारले त्यसपछिका वर्षमा पनि बजेटमा नारायणपुरको विमानस्थलको नाम समेटिनै रह्यो। तर काम बजेटमा नै समिति बन्यो, काम भएन। त्यसपछि फेरि आव २०७७/०७८ मा नारायणपुरमा आन्तरिक विमानस्थल बनाउने संघीय सरकारले घोषणा गर्‍यो। तर त्यो सुखद थिएन। क्षेत्रीय विमानस्थल बनाउने योजनालाई आन्तरिक विमानस्थल बनाउने भनियो। 

त्यसको केही विरोध पनि भयो। जतिबेला एमालेकै डा. युवराज खतिवडा अर्थमन्त्री थिए। त्यसपछि त्यतिबेलाको नेकपाको सरकार ढल्यो। अर्को सरकार बन्यो। सँगै नारायणपुरको एयरपोर्टको मुद्धा ओझेलमा पर्दै गयो। यसबीचमा यहाँ एयरपोर्ट बनाउन डिपिआर पनि भएको थियो। 

तर अहिले नारायणपुरमा एयरपोर्ट बनाउने मुद्धा दङ्गाली नेतृत्वले दिमागबाट हटाइसकेका छन्। ‘तुलसीपुरमै एयरपोर्ट विस्तार हुन सक्छ भने अहिलेलाई नारायणपुरमा एयरपोर्ट बनाउने मुद्धालाई पछिका लागि सारिएको छ। अब तुलसीपुरमा एयरपोर्ट विस्तार हुन्छ’, घोराही उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भुषालले भने। 

उनले भोलिका दिनमा लामो समयका लागि योजना बनाएर नारायणपुरमा एयरपोर्ट बनाउने गरि लागिने बताए। 

सम्बन्धित समाचार हेर्नुहोस्–

 

प्रकाशित मिति: : 2024-08-26 20:47:00

प्रतिकृया दिनुहोस्