टरिगाउँ विमानस्थलमा लगाइयो ताला 

दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा ल्याइएको बाउजर काठमाडौं फिर्ता लैजान लागिएपछि विमानस्थलमा ताला लगाइएको छ।

तुलसीपुर उपमहानजरपालिकाकी उपप्रमुख स्यानी चौधरीको नेतृत्वमा गएको टोलीले विमानस्थलको इन्धन डिपोको गेटमा ताला लगाएको हो।

विमानस्थलमा ल्याएको बाउजर फिर्ता लैजान लागिएको भन्दै तुलसीपुर क्षेत्रका जनप्रतिनिधि, उद्योगी, ब्यबसायीलगायत सरोकारवालाले विरोध गर्दै तालाबन्दी गरेको चौधरीले जानकारी दिइन्।

उनले कुनै पनि हालतमा बाउजर फिर्ता लैजान नदिने बताइन्। विमानस्थल विस्तारको पहल भइरहेको बेला एकाएक बाउजर लैजान खोज्नुले विमानस्थल प्रति षडयन्त्र भएको उनको भनाई छ।

यस्तै विगतमा दाङ ल्याउने भनिएको बाउजर एकैपटक जनकपुर लगिएको इतिहास भएको भन्दै आइसकेको बाउजरलाई लिन खोज्नुले शंका उत्पन्न भएको तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले बताए।

नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका प्रमुख विपिन श्रेष्ठले बाउजर काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा लैजान लागिएको बताए। 

उनले यहाँको बाउजर काठमाडौंँ लगेर यसको सट्टामा अर्को बाउजर ल्याउन लागिएको बताए।  

‘यो पठाएर अर्को ल्याउने कुरा हो, स्थानीयले तालाबन्दी गरिदिनु भयो, उहाँहरुसँग कन्भिन्स गरेर काठमाडौं पठाउने तयारी गर्दैछु’,उनले भने ‘उताको विग्रिएकाले त्यो मर्मत भएपछि दाङ ल्याईने छ।’ 

बाउजरले डिपोबाट जहाजसम्म इन्धन ओसारर्ने काम गर्छ। त्यसकालागि जेठ १२ गते तुलसीपुरमा ११ हजार लिटर क्षमताको बाउजर ल्याएपछि यस क्षेत्रका नागरिक खुसी भएका थिए। 

डिपो निर्माणको काम पनि अन्तिम चरणमा रहेकाले दाङ–काठमाडौं हवाई भाडा कम हुने अपेक्षा लिइएको थियो। तर, बाउजर लिने कुराले यस क्षेत्रका नागरिक निराश भएका छन्।

प्रकाशित मिति: : 2022-07-31 14:27:00

प्रतिकृया दिनुहोस्