उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगकाे आह्वान

फाइल तस्वीर
फाइल तस्वीर

निर्वाचन आयोगले स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचनको मिति घाेषणा हुनुअघि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ।

आयोगका प्रवक्ता रघुराम विष्टले मंगलबार विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको मिति घोषणा गर्नुपूर्व नै योग्यता पुगेकाले मतदाता नामावलीमा नाम दर्ता आह्वान गरेका हुन्।

‘विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका उपनिर्वाचन गर्नुपर्ने स्थानीय तहभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ’, विज्ञप्तिमा भनिएकाे छ।

निर्वाचनको लागि मतदाता नामावली आधारभूत तत्त्व रहेको र मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) वमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ।

२०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनपश्चात् देशभरबाट विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा ३४ पद रिक्त रहेको आयोगले उल्लेख गरेकाे छ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम यसरी रिक्त रहेका पहरूको पदावधि एक वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा सरकारले मिति तोकी उपनिर्वाचतद्वारा रिक्त पदको पूर्ति गरिने व्यवस्था रहेको छ।

गाउँपालिका तथा नगरपालिकाका यस्ता पदहरू रिक्त हुँदा जाम नागरिकलाई सेवा प्राप्तिमा असुविधा हुने विषयलाई मध्यनजर गर्दै उपनिर्वाचनमार्फत् पदपूर्तिका लागि आयोगले आन्तरिक तयारी गरिरहेको प्रवक्ता विष्टले बताएका छन्।

प्रकाशित मिति: : 2024-08-13 17:28:00

प्रतिकृया दिनुहोस्