६ महिनामा ६,३०४ नेपालीलाई अमेरिकी विद्यार्थी भिसा

बिएल संवाददाता

वासिङ्टन डीसी
Break n Links
Break n Links

अमेरिकाले यो वर्षको पहिलो ६ महिनामा ६,३०४ नेपाली विद्यार्थीलाई विद्यार्थी भिसा दिएको छ। जुन महिनामा मात्र १७०० नेपाली विद्यार्थीलाई विद्यार्थी भिसा दिएपछि यो संख्या ह्वात्तै बढेको हो। जुन महिनामा नेपाली विद्यार्थीलाई दिएको विद्यार्थी भिसाको संख्या पछिल्लो १० वर्षमा एकै महिना नेपाली विद्यार्थीलाई दिएको विद्यार्थी भिसाको सबैभन्दा ठूलो संख्या हो। 

अमेरिकी सरकारको विदेश मन्त्रालय, ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुसार  यो कीर्तिमानी संख्या सँगै ठूलो संख्यामा उनीहरूका आश्रितहरूले पनि एफ २ भनिने डिडेन्डेन्ट भिसा पाएका छन्। 

पछिल्लो समय अमेरिका नेपाली विद्यार्थीहरूलाई विद्यार्थी भिसा दिन अमेरिकी सरकारले उदार नीति लिएको छ। गत वर्षको तथ्यांकअनुसार १५ हजार ९० नेपाली विद्यार्थी अहिले अमेरिकामा अध्ययनरत् छन्।यो संख्या अघिल्लो शैक्षिक वर्षको भन्दा २८ प्रतिशतले बढी हो र यो अहिलेसम्म एक वर्षमै नेपाली विद्यार्थी भर्ना भएको सबैभन्दा धेरै संख्या हो। 

विगत १० वर्षमा अमेरिका पढ्ने  नेपाली विद्यार्थीहरुको संख्या करिब  १ लाख २५ हजार पुगेको छ। यो तथ्यांक अमेरिकाको इन्ष्टिच्यूट अफ इन्टरनेशनल एजुकेसन (आईआईई) द्वारा प्रकाशित ‘ओपन डुअर्स’ प्रतिवेदनको हो।‘ओपन डुअर्स’ प्रतिवेदनले सन् २०१३ देखि लगातार नेपाली विद्यार्थीको संख्या बढेको देखाएको छ।  

अमेरिकामा विदेशी विद्यार्थी अध्ययन गर्ने विद्यार्थी संख्याको आधारमा नेपाल ११औं स्थानमा रहेको छ। पहिलो स्थानमा चीन र दोस्रो स्थानमा भारत छन्। चीनबाट सन् २०२२/२०२३ मा २ लाख ८९ हजार ५ सय ८६ र भारतबाट २ लाख ६८ हजार ९ सय २३ जना विद्यार्थीहरू अमेरिकामा भर्ना भए। यसैगरी दक्षिण कोरिया तेस्रो, क्यानाडाबाट चाैथो, भियतनाम पाचौँ, ताइवान छैठौँ, नाइजेरिया सातौँ,  जापान आठौँ, ब्राजिल नवौँ र साउदी अरब १०औँ स्थानमा छन्। 

प्रकाशित मिति: : 2024-08-05 07:10:00

प्रतिकृया दिनुहोस्