टिकटक, ब्रेन ड्रेन, अनि अब प्रदिप पौडेल ‘मन्त्री’

नेपाली काँग्रेसका नेता प्रदिप पौडेलले सरकारले सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउँदा टिकटक रोक्न नहुने बरु नियमन गर्नुपर्छ भन्दा वाहवाही कमाएका थिए।

सामान्यतया शिक्षित व्यक्तिहरूले राम्रो तलब, अवसर, सेवा सुविधा र सहज बसोबासको आवश्यकता पूर्ति गर्न कुनै विशेष ठाउँ वा पेशा छोडेर अर्को ठाउँमा जाने स्थितिलाई 'ब्रेन ड्रेन' भनेर बुझिन्छ।

त्यो रोक्नुपर्छ भन्ने मान्यतालाई प्रदीप पौडेलले चुनावी घोषणा पत्रमा मिसाएका थिए। यो कुरा २०७९ को निर्वाचनताकाको हो। अहिले उनै पौडेल देशको स्वास्थ्यमन्त्री भएका छन्।

त्यसका आलावा आम निर्वाचन-२०७९ ताका ‘स्टप ब्रेन ड्रेन’, ‘फाइट क्रप्सन’ र ‘सस्टेनेबल डेभलपमेन्ट’ शिर्षकमा चुनावी प्रतिबद्धतासहित संसदीय चुनावको प्रतिस्पर्धा गरेर चुनाव जितेका प्रदिप पौडेल यतिबेला स्वास्थ्य, जनसंख्या तथा वातावरणमन्त्री भएका छन्।

काठमाडौँ क्षेत्र नं. ५ बाट पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका पौडेल पहिलो संसदीय कार्यकालमा नै मन्त्री भए।

सिद्धार्थ वनस्थलीबाट विद्यालय शिक्षा पूरा गरेका पौडेल विद्यार्थी आन्दोलनबाट राजनीतिमा जोडिएका हुन्। अमृत साइन्स क्याम्पस हुँदै त्रिभुवन विश्वविद्यालयबाट उनले उच्च शिक्षा हासिल गरे। अमृत साइन्स क्याम्पसमा अध्ययनरत रहँदा पौडेल २०५३ सालमै स्वतन्त्र विद्यार्थी युनियन सभापति चुनिएका थिए।

राजाको प्रत्यक्ष शासनकालमा पौडेल संयुक्त विद्यार्थी आन्दोलनको संयोजक भएर सडक संघर्षको मोर्चामा थिए। देशमा चलिरहेको द्वन्द्व र राजाको प्रत्यक्ष शासनको विषम परिस्थितिमा पौडेलले देशभरीमा युवाहरुलाई आन्दोलित गराउने भूमिका निभाए। वि.सं. २०५९ सालदेखि दोस्राे जन आनदोलनसम्म पौडेल आन्दोलनका विभिन्न चरणमा अग्र मोर्चाम थिए।

शुक्ला-८ तनहुँ जिल्लामा २०३२ साल चैत्र १ गते जन्मिएका पौडेल विद्यार्थी आन्दोलनमा लाग्दै गर्दा राजद्रोहीको मुद्दासमेत खेप्नुपरेको थियो। वि.सं.२०६४ सालमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्षमा निर्वाचित भएका थिए।

काँग्रेस पार्टी विभाजन हुँदा संस्थापन नेविसंघको अधिवेशन २०६४ जेठ ८ गते चितवनमा सम्पन्न भयो। उता काँग्रेस- प्रजातान्त्रिकको २०६४ असार २६ मा नेपालगन्जमा अधिवेशन भएको थियो। दुई टुक्रा भएको नेविसंघमा संस्थापनबाट पौडेल र काँग्रेस-प्रजातान्त्रिकबाट कल्याण गुरुङ अध्यक्ष चुनिएका थिए। पछि पार्टी एकीकरण हुँदा २०६४ असोजमा पौडेललाई अधिवेशन गर्ने जिम्मेवारीका दिएर तदर्थ समिति अध्यक्ष बनाइयो।

वि.सं. २०६७ साल यता उनी केन्द्रीय कमिटिमा छन्। चौधौँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाको समूहबाट एक महामन्त्रीका उम्मेदवारसमेत थिए।

२०७४ सालको निर्वाचनमा गण्डकी प्रदेशसभाका लागि तनहुँ २ (क) बाट उनी प्रत्यासी थिए। झिनो अंकको मतले चुनावमा पराजित भएका थिए।

पार्टीभित्र कोइराला खेमामा रहेर राजनीतिक वृत्तमा चम्किएका पौडेल चौधौँ महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौलाको फेरो समातेर शेरबहादुर देउवा क्याम्प छिरेका थिए। तर उनलाई महामन्त्रीमा सफलता मिलेन। लगत्तै पार्टी संसदीय दलको नेता चुन्दा उनी गगन थापा-शेखर कोइराला समूहमा खुलेका थिए। उनलाई पार्टीभित्र कोइराला समूहमा रहँदा अनुकुलता मिल्ने गरिएको देखिन्छ।

‘युथ इन्टरप्रेनरशिप क्याम्पेन २०७१’ पौडेलको सामाजिक गतिविधिको एउटा बलियो उदाहरण हो। राजनीतिमा लाग्दा कम्युनिष्ट वर्चश्व रहेको अमृत साइन्स क्याम्पस अस्कलबाट स्ववियु सभापति चुनिने उनी पहिलो गैरअखिल नेता थिए। त्यसको आधार उनको सौम्यता र सामाजिक चरित्रले साथ दियो।

कोभिडकाे महामारी चलिरहँदा पौडेलको अगुवाईमा ‘प्लाज्मा एप’ समेत सञ्चालन भएको थियो। त्यसअघि २०७२ काे भूकम्पमा उनले चलाएको स्वयं सेवा र अस्थायी टहरा निर्माण कार्यले उनको सामाजिक छवि र राजनीतिक प्रभाव उन्नत भएर चुलिएको थियो।

राजनीतिलाई सामाजिक गतिविधिमा जोडेर संयमित र गम्भीर विषयमा सान्दर्भिक भाषणकला पनि नवनियुक्त मन्त्री पौडेलको विषेशता हो।

प्रकाशित मिति: : 2024-07-16 12:25:00

प्रतिकृया दिनुहोस्