मुख्य सडकमै झरेकाे पहिरोले त्रिशुलीमा खसेका दुइटा यात्रुबाहक बस अहिलेसम्म भेटिएका छैनन्। चार दिन बितिसक्यो दुई सिङ्गा बसहरूसँगै ६५ जना यात्रुलाई उर्लिरहेको धमिलो त्रिशुलीले कहाँ पुर्यायो होला? अत्तोपत्तो केही छैन।
शुक्रबार (असार २८ गते) बिहान साढे ३ बजे वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ २४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस पहिरोले बगाउँदा त्रिशुलीमा बेपत्ता भएको थियो।
चितवनको भरतपुर महानगरपालिका– २९ सिमलतालमा सडकमाथिबाट आएको पहिरोले दुई बस बगाएको थियो। बस बगाएको खबरपछि प्रहरीले शुक्रबार बिहानैबाट खोजीकार्य गरेको भएपनि न बस न बेपत्ता नागरिकलाई भेटाउन सकेको छ।
शुक्रबार पानी बोटसहित गोताखोर (पानीमा पौडिन सक्ने व्यक्ति) परिचालन भए। उनीहरू बस दुर्घटनास्थल सिमलताल आसपासमा नदीभित्र पेस। सशस्त्र, जनपथ प्रहरी परिचालन भएर पहिरो पन्छ्याउँदै बसको खोजी पनि गरे।
तर, बसमा लगाइने कपडाको पर्दाबाहेक बाँकी केही पनि पत्ता लागेन। शनिबार र आइतबार बिहानैदेखि फेरि प्रहरीले वाटर ड्रोन, फलामे हुक प्रयोग गरेर खोजीकार्य गरे तर पनि बस भेटिएनन्।
सोमबारसम्म १५ शव भेटिएका छन्। तर, यी शव प्रहरीले खोज्दा पत्ता लागेका होइनन्। मृत्युपछि नदीले किनारा लगाएर राखिदिएको शव हुन्।
बाँकी डेढ सय बढी प्रहरी परिचालन भएर खोजी गर्दा पनि न बस न शव केही पनि फेला परेको छैन। ४ दिनसम्म ती ठुला बस कता बेपत्ता भए भन्नेसमेत कुनै अड्कलबाजी हुन सकेको छैन।
किन भइरहेको छ उद्धारमा ढिलाइ?
पहिरोले बगाइ त्रिशुलीमा हराउनेमा दुई बस मात्र होइनन्। जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार गणपति यातायात बसमा सवार ३८ र एन्सल्स यातायातमा सवार २७ जना गरी ६५ यात्रु बगेका थिए। त्यसमध्ये ३ जना भने पौडी खेलेर बाँचेका छन्।
बाँकी ६२ जना यात्रु हराएकोमा १५ जनाको शव फेला परेको छ। अझै ५१ जना हराइरहेको अनुमान छ। हराउनेमा मधेस प्रदेशका धेरै रहेका छन् भने केही भारतीय नागरिक पनि रहेको बस टिकटबाट पुष्टि हुन्छ।
उनीहरूको ४ दिनदेखि खोजी भइरहेको छ। तर, बेपत्ताहरूलाई भेटाउन प्रहरी सकिरहेको छैन। चार दिनसम्म बेपत्ताको कुनै पत्ता लाग्न नसकेपछि किन ढिलाइ भइरहेको भनेर आमरुपमा प्रश्न उठेको छ।
प्रश्न उठ्नुलाई सरकारका अधिकारीहरू स्वभाविक भन्छन्। तर, राज्यसँग भएको स्रोत साधन अधिकतम प्रयोग गर्दा पनि सफल नभएको उनीहरूको भनाइ छ।
गृह मन्त्रालय विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख एवम् विपद्सम्बन्धी कमाण्ड पोष्टका संयोजक डा. भीष्मकुमार भुसाल राज्यको सबै शक्ति लगाएर खोजी गरिँदा पनि सफल हुन नसकिएको बताउँछन्।
उनले ठुलो नदी र त्यसमा पनि धमिलो हुँदा खोजी कार्यका लागि असहज भइरहेको बताए। ‘हामीले सुरक्षा निकायका सबै सम्यन्त्र परिचालन गरेका छौँ। राज्यसँग भएको अधिकतम प्रविधि ड्रोनसमेत प्रयोग भएको छ’, उनले भने, ‘यति सबै प्रयोग हुँदा पनि भेटाउन कठिन भइरहेको छ।’
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले प्रविधि अभावले गर्दा बेपत्ताको खोजीमा समस्या भइरहेको बताए। ‘खोजीमा राज्यसँग भएको सबै जनशक्ति प्रयोग भएका छन्। यो भन्दा धेरै प्रयोग गर्ने राज्यसँगै छैन’, उनले भने ‘यस घटनाबाट राज्यलाई पनि सिकाइ भएको छ। अब थप प्रविधि आवश्यक देखिएको छ।’
विपद्विज्ञ तथा त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र विभागका सह-प्राध्यापक रञ्जनकुमार दाहाल राज्यसँग भएको स्रोतसधान अनुसार प्रहरीले राम्रो काम गरिहरको बताउँछन्।
तर, उनी अब हराएका दुई बस नभेटिन सक्ने आँकलन गर्छन्। ‘बेगमा आएको नदीले बसलाई सग्लो राखेहोला भन्ने मलाई लाग्दैन। नदीको त्यो बेगले बस टुक्राटुक्रा भइसक्य होला’, दाहालले भने।
नदीको बेगले टुक्राएका बसका टुक्राहरू भारतसम्म पुग्नसक्ने बताए। उनले मान्छेका शव पनि धेरै तलतिर भेटिएकाले अन्य व्यक्तिहरूलाई पनि धेरै टाढाको दूरीसम्म नदीले बगाएको आँकलन गर्छन्।
छुट्टै संयन्त्र आवश्यक
विपद्बाट जोगिन र त्यसको क्षति न्यूनिकरणका लागि सरकारले हरेक वर्ष करोडौं रुपैयाँ खर्च गर्दै आएको छ। राहत र उद्धारमा निजी क्षेत्रसमेतको त्यत्तिकै धनराशी खर्च भइरहेको हुन्छ। मान्छेको ज्यानको मूल्य केही लाखमा तोकेको सरकारलाई घाइते अपाङ्गको ज्यान स्यहार्नै सक्दैन। त्यसबाट हुने भौतिक क्षतिको त झन् हिसाबकिताबै मिल्दैन।
तर, यस्ता भइपरि आउने र आइरहने विपदहरूमा उद्धार र तत्काल राहतका लागि सरकारसँग न कुनै आधुनिक उपकरणहरू छन् त कुनै छुट्टै संयन्त्र। अहिले हरेक विपदमा खटिने भनेकै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका केही थान टुकुडीहरूमात्रै हुन्। चाहे बाढीपहिरो होस् वा आगलागी अनि विनाशकारी भूकम्प वा अरु कुनै दुर्घटनाहरू खटिने यिनै हुन्। उनीहरूले प्रयोग गर्ने उही थोत्रा र प्रचीन उपकरणहरू।
यसपालि पनि त्रिशुलीको यो भयानक दुर्घटनाले हाम्रो राज्यको उद्धार संयन्त्र कति कमजोर छ भनेर छर्लङ्गै देखाइदिएको छ। सिङ्गा बसहरू खोज्न नदीमा फालिएका चुम्बकहरू त टालेका ट्यूबहरू त्यसका उदाहरणहरू हुन्।
विपद्मा जहिल्यै पनि उद्धारका लागि ढिलाइ हुने गरेको भन्दै सरकारको गुनासो हुन्छ। त्यो देखिन्छ पनि। २७ पुस २०८० मा दाङ देउखुरीमा पुलबाट राप्ती नदीमा बस खस्दा उद्धारमा ढिलाइभएकै कारणले धेरैले ज्यान गुमाएको गुनासो भएको थियो।
नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस राति १० बजे दुर्घटना हुँदा उद्धारमा ढिलाइ भएपछि बसले च्यापिएका केहीको मृत्यु भएको स्थानीयले बताउने गर्छन्। त्यस दुर्घटनामा १२ जना नागरिकले ज्यान गुमाएका थिए।
यस्ता गुनासा पटक–पटक आउने गर्छ। तर, सरकारले विपद्को पूर्व तयारी तामझाम गरेर कुन किसिमको विपद् हुन्छ र कस्तो उद्धारको जनशक्ति बनाउने भन्नेमा चुकिरहेको छ।
त्रिशुलमा बगेका दुई बस नभेटिनु पनि कारण त्यही पूर्वतयारीमा कमजोरी देखिन्छ। यस्ता ठुला घटनामा कति जनशक्ति, कति तालमि प्राप्त जनशक्ति, कस्ता उपकरण आवश्यक भन्नेमा पूर्वतयारी नभएकैले उद्धारमा समस्या देखिन्छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता भट्टराई चितवन दुर्घटनाले सिकाइ भएको स्वीकार्छन्। ‘यस दुर्घटनाले सिकाइ भएको छ। थप तालिम प्राप्त जनशक्ति, प्रविधियुक्त उपकरण आवस्यक भएको छ’, उनले भने।
विपद्विद् दाहाल विपद्मा सरकारी तदारुकता कमी भएको देख्छन्। विपद्कै लागि भनेर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बनाइएको भए पनि प्राधिकरण सञ्चालमा समस्या उनी देख्छन्।
यस प्राधिकरणलाई सशक्त बनाउनका लागि प्रधानमन्त्री कार्यालय मातहत राख्नुपर्ने बताए। ‘अहिलेको विपद् प्राधिकरणलाई गृह मन्त्रालयको एउटा शाखा जस्तो बनाइएको छ। यसरी हुँदैन। परिचालनमा समस्या भएको छ’, उनले भने ‘प्राधिकरणलाई प्रधानमन्त्री कार्यालयमा राखेर माथिल्लो तहबाटै विपद्मा परिचालन गर्ने हुनुपर्छ।’