घनश्यामजी, एसको ‘गाडा’ माधवलाई नै छोडिदिनुस्

Break n Links
Break n Links

नेकपा एकीकृत समाजवादी पार्टीको महाधिवेशन काठमाडौंमा सुरु भएको छ। नेकपा एमालेबाट विभाजित यो दलले लामो समयपछि आफ्नो पहिलो महाधिवेशन आयोजना गर्न लागेको हो। यसअघि पटक पटक महाधिवेशन मिति घोषणा गरिए पनि निर्धारित मितिमा महाधिवेशन हुन सकेको थिएन। त्यसका पछाडि जे जे कारण भए पनि अन्ततः महाधिवेशन सुरु भएको छ। अहिलेका लागि यो नै सुखद पक्ष हो।

हरेक राजनीतिक पार्टीको जीवनमा पार्टी महाधिवेशनको अहम् महत्त्व हुन्छ। यसले पार्टीलाई वैचारिक र सैद्धान्तिक हिसाबले स्फूर्तिलो बनाउँदै समयाअनुकुल गतिशील नेतृत्वको चयन गर्छ। आवधिक पार्टी महाधिवेशनको सुन्दर पक्ष र सबैभन्दा ठूलो कार्यभार पनि यही नै हो।

जुन जुन पार्टीहरू यसरी नै महाधिवेशनको अर्थ बुझ्छन् र त्यसअनुरूपको महाधिवेशन आयोजना गर्छन्, ती राजनीतिक पार्टीहरू गतिशील, कामकाजी र जनताबीच पुगेका छन्। तर, जुन पार्टीहरू त्यसो नगरेर महाधिवेशनलाई एक कर्मकाण्डी जम्बोरी ठान्छन् र प्राविधिक रूपमा बनिबनाउ नेतृत्वको टिकोटालो मात्र गर्छन्, ढिलोचाँडो ती पार्टीहरूको पतन निश्चित छ।

दशौँ महाधिवेशन सम्पन्न भइरहँदा एकीकृत समाजवादी पार्टी, पार्टीजस्तो देखिए पनि सारमा पार्टी भइसकेकै छैन। एमालेबाट टुक्रिएपछि निरन्तर रूपमा यो विभिन्न किसिमका गठबन्धनमा रहेर सत्तामा टाँसिरहेको छ। सत्ता केन्द्रित राजनीतिको चरम अभ्यास भइरहेको नेपालमा यसो हुनु अस्वाभाविक पनि हैन। यो पार्टीमा आएका धेरैजसो नेताहरू तत्कालीन एमालेको संस्थापन ओली पक्षले पद र अवसर नदिएर आएका छन्। अनेक किसिमका शब्द प्रयोग गरेर त्यसो हैन त भन्न सकिएला तर धरातलीय यथार्थ यही हो। ती सबै नेताहरूलाई टिकाउन पनि नेकपा एसको मूल नेतृत्व सत्ताको डाली घाँस देखाउनुपर्ने बाध्यतामा छ।

अर्कोतिर, नेकपा एस शक्तिशाली छ भन्ने देखाउन पनि जरुरी छ, त्यो देखाउन सांगठनिक हिसाबले सक्षम नभएपछि सत्ता नै एक मात्र उपाय हो। यदि त्यसो गरिएन भने सत्ता नै सबैथोक भन्ने भाष्य निर्माण भैसकेको नेपाली समाजमा कोही पनि नेकपा एसको पछाडि लाग्दैन।

अझ त्यसमाथि पनि नेपालका कम्युनिस्टहरूले यस बीचमा के पुष्टि गरिसके भने उनीहरू पहिला वर्गीय रूपमा लुट्न सक्ने हैसियतमा नभकाले मात्र कम्युनिष्ट भएका रहेछन्। जब उनीहरू सत्तामा पुगेका छन्, यो वा त्यो नाममा लुटेकै छन्। यसले पनि मौका बनाउनका लागि मात्र उनीहरू कम्युनिष्ट भएका रहेछन् भन्ने पुष्टि हुन्छ। त्यसैले विद्रोही एकीकृत समाजवादीको चरित्र, आचरण र व्यवहार फरक हुनुपर्छ।

नेपालका कम्युनिष्टहरूका लागि कम्युनिष्ट नाम रामनामी जस्तै हो। खासगरी एमाले र माओवादीले त्यही रामनामी जपेर अझै पनि चुनावी वैतरणी तरिरहेका छन्। गरिबी, विभेद र न्याय उनीहरूका मूल कार्ड हुन्। यी कार्ड कम्युनिष्टहरूका युएसपी ( युनिक सेलिङ पोइन्ट) हुन्। त्यसैलाई आधार बनाएर उनीहरू चुनावमा जान्छन् र जनतालाई आफू मुक्तिदाता हुने भ्रम दिन्छन्। तर, परिणाम सबैका सामु छर्लङ्गै छ।

२०५१ सालयताका तीन दशकमा नेपालका लगभग सबै ठूला कम्युनिष्ट पार्टीहरू सरकारमा पुगेका छन्। अहिले पनि वर्तमान प्रधानमन्त्री प्रचण्डसहित प्रधानमन्त्री भएका पाँचजना कम्युनिष्ट ज्युँदै छन्। तर, विडम्बना आज पनि मृत कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीका सामु यिनीहरूको व्यक्तित्व र योगदानको उचाइ लिलिपुट जस्तैछ।

अझ टिठलाग्दो कुरा त अहिले पनि उनकै पालामा दिइएको ‘जेष्ठ नागरिक भत्ता’ र ‘आफ्नो गाउँ आफैँ बनाउँ’ नै जनतामा जाने मूल आधार रहँदै आएको छ। अहिले पनि उनीहरू त्यही आधारमा मत मागिरहेका भेटिन्छन्।

नेकपा एस पनि त्यो दौडबाट बाहिर छैन। नाम नेपाल कम्युनिष्ट पार्टी नै छ, अरूभन्दा फरक देखाउन कोष्ठमा एकीकृत समाजवादी छ। कोष्ठमा एस राखे पनि यो माधव नेपाल र झलनाथ खनालको एमालेको अर्को रूप हो।

प्राविधिक रूपमा एमाले राख्न नमिलेर मात्र एस राखिएको हो। यो कसरी पनि पुष्टि हुन्छ भने अहिले पनि नेकपा एसका नेताहरू एमाले हामीले बनाएको भन्छन्। अझ उनीहरू ओलीले एमाले अपहरण गरे पनि भनिरहेका हुन्छन्। यी दुवै सत्य हुन्। किनभने, माधव नेपाल र झलनाथ खनालको जीवन एमाले बनाउनमै बित्यो।

नेकपा एसले आफ्नो पहिलो महाधिवेशन गरिरहेको यतिबेला यसले आफ्नो आवश्यकता र औचित्यकै बारेमा निर्मम समीक्षा गर्नुपर्ने हुन्छ। यस क्रममा सबैभन्दा पहिला त एमालेबाट फुट्नुको आवश्यकता र औचित्य पुष्टि गर्नुपर्ने हुन्छ। मात्र, ओलीको हेपाइ भनेर पार पाउन सकिने अवस्था छैन। यस बीचमा नेकपा एसका धेरै नेता कार्यकर्ता एमालेमा फर्केका छन् , केही देशभित्रै निस्क्रिय भएका छन् भने केही बिदेसिएका पनि छन्।

जनमतको ग्राफ निरन्तर ओह्रालो लागिरहेको छ। प्रतिनिधिसभामा १० सांसद भए पनि ३ प्रतिशत मत ल्याउन नसक्दा संसदमा स्वतन्त्र हैसियतमा रहनु परेको छ। सधैँभरि गठबन्धनको वैशाखीमा सत्तामा झुत्तिखेल्दा संगठन निर्माणको काम पूरै लथालिङ्ग छ। सुरुवाती दिनमा बनेका संगठन पनि धराशायी भैसकेका छन्। केन्द्रमा जम्बो समिति रहे पनि त्यो ढोका खुट्टामा अडेको छ। त्यस्तो समिति भनेको कुपोषण लागेको बच्चा जस्तै हो।

एकातिर पार्टी संगठनको अवस्था यस्तो छ भने अर्कोतिर बाँकी भएको संगठन पनि माधव नेपाल र झलनाथ खनाल गुटमा बाँडिएर अरू ध्वस्त भएको छ। दुवै नेता पार्टी अध्यक्ष हुन लालायित भएको समाचार बाहिर आएको छ। त्यति मात्र हैन, चुनाव नै हुने रे भन्ने सम्मको बजार चर्चा छ। अनिकाल लागेको घरमा सातु बाँड्ने जस्तो कुरा हो यो। एक किसिमले विनाशकाले विपरीत बुद्धिभन्दा पनि हुन्छ।

हुन त यही बीचमा एसका महासचिव घनश्याम भुसाल पनि पार्टी अध्यक्षको लागि व्यायाम गरिरहेको समाचार बाहिरिएको छ। तर, माधव नेपालले बनाएको यो पार्टीमा उनले नचाहेसम्म कोही अध्यक्ष हुने सम्भावना छैन भन्दा पनि हुन्छ। आखिर अध्यक्ष हुन अङ्कगणित चाहिन्छ। त्यसका लागि अहिले नै माधव नेपालको विपक्षमा अङ्कगणित छ भन्न सकिन्न।

नेकपा एसका धेरै महाधिवेशन प्रतिनिधिहरू नै ‘जे जस्तो भए पनि नेकपा एस भनेकै माधव नेपाल हो’ भनिरहेको सुनिन्छ। उनीहरूको यो आवाज सुन्दा पनि नेपाल नै अध्यक्ष बन्ने सम्भावना बढ्दो छ। भुसाल उम्मेदवार हुन त सक्छन्। तर त्यो उनका लागि अर्को हारको शृङ्खला बन्ने निश्चित प्रायः छ।

प्रकाशित मिति: : 2024-07-04 08:15:00

प्रतिकृया दिनुहोस्

    यो समाचार लेख्ने पत्रुकार चही कुन दलको झोले परेछ्🤔

    • 2 दिन अगाडि
    • rabindra tamang