‘विदेशी शक्तिसँग मिलेर काँग्रेसले सरकार ढाल्यो’

Break n Links
Break n Links

सोमबार मध्यरातमा नेपाली काँग्रेस र नेकपा एमालेबीच सरकार बनाउने सहमति भयो। माओवादी नेतृत्वको सरकारमा रहेको एमालेले सरकार छाड्ने भन्दै प्रतिपक्ष काँग्रेससँग सरकार बनाउन तयारी गरेपछि राजनीतिक तरङ्गीत छ।

काँग्रेस र एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकारबाट राजीनामा दिन उर्दी गरिसकेको छ। तर प्रचण्डले राजीनामा नदिने र संसद फेस गर्ने भनेका छन्।

हामीले माओवादी केन्द्रका सचिव दिनानाथ शर्मासँग एमालेले सरकार छाड्नुको कारण के? अब माओवादी कसरी अगाडि बढ्छ? लगायतका विषयमा कुराकानी गरेका छौँ।

प्रस्तुत छ, सचिव शर्मासँग गरिएको कुराकानीको सम्पादित अंश–

एमालेले तपाईंहरूसँगको गठबन्धन छोडेर काँग्रेससँग सरकार बनाउने सहमति गर्‍यो। तपाईंहरूलाई के लागेको छ, एमालेले छाडेपछि?

एमालेले सत्ता गठबन्धन छाड्ने भनेर एकाएक आएको छ। यसले हामीलाई पनि अनौठो लागेको छ। मंगलबार साँझसम्म पनि यही (माओवादी–एमाले) गठबन्धनलाई अगाडि लिएर जाने हो भनेर बालुवाटरमा प्रचण्डलाई आश्वस्त बनाएर राति १२ बजे उता गएर काँग्रेससँग सत्तायात्रा गर्ने सहमति गर्नुभयो।

यो हेर्दा अहिले एकाएक भएको देखिँदैन। काँग्रेस र एमालेबीच पहिलेदेखि नै सत्ता समीकरण हुँदै आएको थियो। पछिल्लो चरणमा सरकारले सुशासनका लागि चालेका कदमबाट उहाँहरू (काँग्रेस–एमाले) झस्किएको हो। विशेषगरी एमाले झस्किएको अवस्था हो।

पछिल्लो समय भुटानी शरणार्थी प्रकणमा बेचन झा पक्राउ परे, साथमा एमाले नेता रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक पक्राउ परे साथमा सञ्चार मन्त्रालयमा भएको टेरामक्स भ्रष्टाचार प्रकरणसँगै गृहमन्त्री रवि लामिछानेले २० वटा फाइल अगाडि बढाउछु भने त्यसपछि एमाले झस्किएको पाइयो।

अझ सरकारले सुशासनका लागि चालेको कदमबाट जहाँ पनि एमालेकै नेता, काँग्रेसकै नेता जोडिन थालेपछि उनीहरू झस्किएर सरकार फेरबदलमा लागे।

सरकार कसले ढाल्यो?

सरकार बाहिर हुँदा सबैभन्दा ठुलो छटपटी त काँग्रेसलाई भएको थियो। काँग्रेस यसै पनि सरकार बाहिर बस्ने पार्टी नै होइन। अर्को कुरा वामपन्थीहरू (एमाले–माओवादी)मा विभाजन गर्न काँग्रेस लागेको थियो। अहिलेको सरकार ढाल्न काँग्रेस त लाग्ने नै भयो, साथमा विदेशी शक्तिहरूको पनि हात देखिन्छ।

मुलत आन्तरिक, वैचारिक रुपले भन्ने हो भने भोलिका दिनमा एमाले र माओवादी वा वामपन्थीहरू मिलेर गए भने त काँग्रेसलाई घाटा हुने भयो। त्यसका कारण काँग्रेस फुटाउन पहिल्यैदेखि लागेको थियो।

पश्चिमा शक्तिहरूले पनि वामपन्थी मिलेको राम्रो मानेका थिएनन्। उनीहरू वामपन्थी नाम सुन्न नचाहनेहरू हुन्। उनीहरू पनि लागे। र साथमा एमाले काँग्रेससँग मिलेमा माओवादीलाई कमजोर पार्न सकिन्छ भन्ने लागेर अर्को निर्वाचनलाई हेरेर पनि यो सरकार ढाल्न लागिपरेको देखिन्छ।

तपाईंकै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहिले एमाले, कहिले काँग्रेस रोज्दै हिँड्नुभयो। कुनै दिन लागेको थियो, काँग्रेस र एमाले मिलेर माओवादीलाई सरकार बाहिर पठाउन सक्छन् भनेर?

काँग्रेस छाडेर फागुनमा एमालेसँग सरकार बनाउँदा यी दुई (काँग्रेस–एमाले) ठुला दल मिल्छन् भन्ने गरी सोचिएन। वामपन्थी एक ठाउँ भएपछि स्थिर सरकार हुन्छ। आलोपालो सरकार चलाउने हो भनेर सोचिएको थियो।

मंगलबार साँझ पनि प्रचण्डले वामपन्थी आन्दोलन जोगाउने हो भने ओलीलाई तपाईं नै सरकार चलाउनुस् भन्नुभएको हो। ओलीले त्यसबेला सरकार छाड्ने भन्ने विषय छैन भन्नुभएको थियो। ममाथि विश्वास गर्नुहोस् भनेर प्रचण्डसँग ओलीले भनेको केही घण्टामै मध्यरातमा सरकार बदल्ने कुरा भएछ।

प्रचण्डले सरकार चलाउने मन छ भने म समर्थन गर्छु पनि ओलीलाई भन्नुभएको थियो। कहाँ मैले गर्नु तपाईं नै सरकारको नेतृत्व गर्नुस् भनेर ओलीजीले भनेको पनि हो। तर बोल्ने एउटा, गर्ने अर्को भएपछि के भन्नु र।

माओवादीले काँग्रेससँग राष्ट्रिय सरकार बनाउने चलखेल सुरु गरेपछि हामी पनि काँग्रेससँगै छलफल चलाएका हौँ भनेको छ, तपाईंहरूलाई किन एमाले मन नपरेको हो?

माओवादीकाे राष्ट्रिय सरकार बनाउने विषय अहिलेको होइन नि, पहिलेकै त हो। पहिल्यै राष्ट्रिय सरकार बनाउनुपर्छ भनेर माओवादीले देखेको हो। काँग्रेससँग छुट्टिँदा गम्भीर छलफल के गरेका थियौँ, अब वामपन्थी सरकार बलियो बनाउने भन्ने थियो।

काँग्रेससँग मिल्दा अप्राकृतिक भएको छ भन्ने निष्कर्ष थियो। काँग्रेससँग काम गर्न पनि असजिलो हुने र पश्चिमा शक्तिसँग मिलेर मात्र काम गर्नुपर्छ भनेर छलफल भएर वामपन्थीहरू मिलेमा राष्ट्रिय हितअनुसार काम गर्न सक्छौँ भन्ने थियो।

वामपन्थी शक्तिहरू एक भएमा बलियो सरकार बन्छ र काम गर्न सहज हुन्छ भन्ने थियो। तर अहिले एमालेले काँग्रेस र माओवादी मिल्न लागेको थियो भन्नेमा भ्रम छर्नु १०० प्रतिशत झुट कुरा हो। बेइमानी कुरा हो।

फेरि काँग्रेस र माओवादी मिल्न थालेको कुरा बाहिरी शक्तिले ओलीजीलाई कसैले दिमागमा हाल्दिएको भए छुट्टै कुरा हो। साँचो कुराचाहिँ हामीले एमाले छाड्न आवश्यक नै थिएन। वामपन्थी सरकार चलाएर राष्ट्रिय हितमा काम गर्ने चरणमा थियौँ।

काँग्रेस–एमाले मिल्ने सहमति नै भइसकेको छ तपाईंका अध्यक्ष प्रचण्ड के भन्नुहुन्छ?

उहाँहरू (काँग्रेस–एमाले) मिल्नु भयो भने हामी स्वभाविकै रुपमाले प्रतिपक्षमा जाने हो। जानुपर्छ। बाँकी संविधानअनुसार अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिन्छौँ। 

काँग्रेस र एमाले मिलेर सरकार बनाएउने र संविधान संशोधन गर्ने भनिएको छ। यसमा तपाईंहरू सहमत हुनुहुन्छ?

संविधान संशोधन यो प्रतिगामी कदम हो। गणतन्त्र फाल्ने र २०४६ सालको संविधान फर्काउने चलखेल हो। योभन्दा पनि खतारा उस्तै पर्‍यो भने ओलीजी मध्यावधिमा जाने गरी चलखेल भइरहेको छ। 

याे पनि...
प्रकाशित मिति: : 2024-07-03 19:18:00

प्रतिकृया दिनुहोस्