म्यान्माली कविताः नियतको नियति

सुधा अत्रि

म्यान्मा
Break n Links
Break n Links

देख्ने गरेकै हो–
कुनै हिन्दी सिनेमामा
डाकुहरूको जत्था
गाउँ छिरेपछि
सिंगो गाउँ
आतंकित भएको।

आतंकको भूतले
लखेटेर आवाजहरू
लाखापाखा भएको
सास मुठ्ठीमा लिएर
अनगिन्ती जीवनहरू
भागिरहेको।

आफ्नो थातथलो
आफू र आफन्त
घर र गोठ
पशु र चौपाया
धारा र पधेरा
नदी र खोला,
छाँगा र छहरा
सबै–सबै छोडेर
पैतालामा माटोको
चप्पल लगाएर भागिरहेको।

हो, त्यही खेल
आज आफ्नै माटोमा
देश–रक्षक भनिएका
सेनाले खेलिरहेछन्।
निमुखा, निर्दोष, अवला
र, सिमान्तकृतमाथि
गोली दागिरहेछन्।

नौ दशकको धुम्ती कटेका
बूढीआमा, बूढाबाको छाति
संगीनले रोपिएको छ।
नील–गगनको बंकरबाट
बम खसालेर इन्द्रेणी
फूलहरू खरानी बनाइएको छ।
खण्डहर पारिएको छ–
मौलिक सभ्यताका भित्ताहरू।

नशाले उन्मत्त क्रूर सेनाहरू
चिरिएका छाती र सेरिएका
घाँटीका दुर्दान्त करुणा सुनेर
छोडिरहेछन्– एक आदिम
प्रेतमय खित्का
रगतको आहालमा डुबेर
तिर्खा मेट्नेहरू
फाँटभरि लाश ओछ्याएर
अघाउनेहरू निर्धाका
दुःखद् चित्कारलाई
वसन्ततिलका छन्द मान्नेहरू
घुरिरहेकै छन्, ब्वाँसोले झैँ
तीर सोझ्याएर!

अझैसम्म
ती आततायीबाट लुकाएर
बारुद र धुवाँको
तुवाँलोलाई छक्याएर
कुनै खतराको
संकेत नदेखाई
शान्त र शीतल
छहारीको पाउमुनि
लोरी गाएर सुताउँदैछिन्
एउटी आमाले आफ्नो
नवजात शिशुलाई।

ती आमालाई लुकाउँदैछिन्, वनदेवीले
फराकिलो, हरियो
आफ्नो आँचल फुकाएर।
अनि, नियाल्छिन्
आफ्नै आँचलभित्र
सुकसुकाएका दीनहीनहरू
जो, व्याधाको शिकारतन्त्रमा
फसेर मरणाशन्न छन्।

वन–जंगल र पहाड
कुना र कन्दरामा
छहराको धूनसँगै
हराएका हिक्काहरू
कथा र व्यथाको
पोको बोकेर
जीवनको उकालो
चढिरहेका निन्याउरा अनुहारहरू
उजाडिँदै गएको आफ्नै आङ
देखेर मुर्छित हुँदो हो
वन्य–जगत।

तैपनि,
यी वन, हरिया चुलीहरू
कुशल योजनाकार झैँ लाग्छन्
एउटा प्रतिकारको लडाइँमा
कुशल अधिवक्ता देखिन्छन्
मौलिक हक र नैसर्गिक
अधिकारको बेन्चमा
कर्तव्यपरायण न्यायाधीश
बनेर उभिएको पक्का हुन्छ
जल्लादहरूको अदालतमा।

अघि पारिपट्टी हाँसेको
शान्त गाउँ, गाउँको
स्वरूपमा देखिँदैन
जलेर खाक बनेको छ।
घर–गोठ र दुहुना गाईका
हाडखोरबाट समेत आइरहेछ
विद्रोहको हस्को।
भख्खरै बा–आमासँग
फर्‍याकफुरुक गरिरहेका
निर्दोष शिशुहरू
निदाइसकेछन्, सधैँका लागि।
आमाको काखे झोलुङ्गोमा
खिलखिलाइरहेको भविष्यको तारा
खसेर पुगेको छ, खोलाको बगरमा

हो, आज
यही नियतको नियति
भाेगिरहेछ, यो निर्दोष
भू–लोकले।

प्रकाशित मिति: : 2024-06-29 15:27:00

प्रतिकृया दिनुहोस्