नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेतले टेरामक्स प्रकरणबारे उचित समयमा जवाफ दिने बताएका छन्।
शुक्रबार बसेकाे प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै सांसद बस्नेतले यस्ताे बताएका हुन्।
‘मेराे नाम लिएर टेरामक्सकाे बारेमा बेला बेला कुरा उठाउने गरिएकाे छ। हुन त यसका बारेमा ३ जना सांसदकाे नाम मुछिएकाे छ। एकदम कलिला कलिला ओठ निचाेर्दा दुध आउनेजस्ता माननीयज्यूहरूदेखि लिएर दारी-जुँगा फुलेकासम्म सबैले याे कुरा उठाइरहनुभाछ। उचित दिन आएछ भने म यसकाे जवाफ दिनेछु’, उनले भने।
बस्नेतले थपे, ‘यति कुराचाहिँ सम्मानीत सदनमा राख्न चाहन्छु, कि टेरामक्स एउटा यस्ताे विधि हाे, जसले टेलिफानमा कल बाइपास गरेर खाने धन्दा भिओआइपी प्रकरण, अर्काे भाषामा भन्दा त्यसलाई नियन्त्रण गर्छ, संसारभरि यही विधिले नियन्त्रण गरेकाे छ र त्यहाँ याे चाहिँ ठगी गर्ने धन्दा भएकाे छैन।’
उनले नेपालमा कल बाइपास गरेर २५ अर्बभन्दा बढी राजस्व घाेटाला भएकाे बताए। टेरामक्स विधि कल बाइपास गरेर खाने वा भिओआइपी प्रकरणलाई राक्ने विधि भएकाे भन्दै उनले आफूले आँट गरेर याे विधि सुरूवात गर्ने खाेजेकाे दाबी गरे।
‘नेपाल मात्र एउटा यस्ताे देश हाे, जहाँ कल बाइपास गरेर २५ अर्बभन्दा बढी राजस्व घाेटाला भएकाे छ। यदि याे टेरामक्स भन्ने विधिचाहिँ कल बाइपास गरेर खाने वा भिओआपी प्रकरणलाई राक्ने विधि हाेइन भने ती के हाे त? संसारभर याे विधि हुने, यहाँचाहिँ विधि नहुने के हाे?, सांसद बस्नेतले भने, ‘त्यसैले मैले आँट गरेर याे विधि सुरूवात गर्ने खाेजेकाे हुँ। र २५ अर्ब वार्षिक घाेटाला गर्नेले कति अर्ब खर्च गरेर सम्बन्धित निकायहरूलाई ढाकछाेप गर्ने, थेग्ने अथवा यसलाई डाइभर्ट गर्न खाजेकाे हाे, याे भविष्यले बताउला। टेरामक्स नेपालका लागि अर्बाैं रूपैयाँ राजस्व जाेगाउने एउटा मन्त्र हाे, फर्मुला हाे। याे नभएसम्म कल बाइपास गरेर खाने काम भइरहन्छ।’