प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हमासले बन्धक बनाएका विपिन जाेशीकाे रिहाइका लागि नेपाल सरकारले पहल गरिरहेकाे बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा परराष्ट्र मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्ताे बताएका हुन्।
‘२०२३ अक्टाेबर २३ मा इजरायलमा भएकाे हमासकाे आक्रमणमा परेका नेपाली विद्यार्थी विपिन जाेशीकाे रिहाइका लागि नेपाल सरकारले इजरायल सरकार, मध्यस्थकर्ता कतार सरकार तथा दुबै पक्षका निकटस्थ छिमेकी राष्ट्र गणतन्त्र इजिप्ट सरकारसँग समेत अनुराेध गर्दै औपचारिक र अनाैपचारिक बैठकमा समेत पहल भइरहेकाे जानकारी गराउन चाहन्छु’, उनले भने।
प्रधानमन्त्रीले रूस-युक्रेन युद्धका कारण मृत्यु भएका र बन्धक बनाइएका नेपाली नागरिकहरूको सम्बन्धमा मस्कोस्थित नेपाली राजदूतावासमा र रूसी महासंघका काठमाडाैँस्थित राजदूतावासमा निरन्तर सम्पर्क, समन्वय र संवाद भइरहेकाे पनि बताए।
यस विषयमा रूसी महासंघका विदेशमन्त्रीसँग उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले टेलिफाेन वार्ता गरेकाे र सकारात्मक छफलफ भएकाे पनि उनले जानकारी दिए।
प्रधानमन्त्री प्रचण्डले नेपालीहरूकाे रूसमा हुने आवागमन व्यवस्थित गर्नका लागि सुझाव पेस गर्न कार्यदलसमेत गरिएकाे जानकारी दिए।
साथै उनले बन्धक बनाइएका नेपालीहरूकाे सम्बन्धमा युक्रेन सरकारसँग कूटनीतिक माध्यमबाट कुराकानी चलिरहेकाे जानकारी गराए।