पोखराको पामेमा राष्ट्रिय धान दिवस मनाइँदै

File Photo
File Photo

पर्यटकीय राजधानी पोखरामा असार १५ गते राष्ट्रिय धान दिवस मनाइने भएको छ।

पोखरा पर्यटन परिषद्को आयोजनामा हुन लागेको धान दिवसले कृषि र पर्यटनलाई एकसाथ जोड्ने आशा राखिएको छ।

पोखरा महानगरपालिका वडा नं. २३ को पामे, फेवा फाँटमा आयोजना हुने याे कार्यक्रमको मुख्य उद्देश्य कृषिलाई पर्यटनसँग जोड्दै पर्यटकहरूलाई आकर्षित गर्नु रहेको आयोजकले जनाएकाे छ।

आयोजक पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष तारानाथ पहारीले यस कार्यक्रमले स्थानीय संस्कृति र परम्परालाई प्रवर्द्धन गर्ने बताए।

कार्यक्रममा विभिन्न रोचक प्रतियोगिताहरू हुनेछन्। असारे नाच प्रदर्शनी र धान रोपाइँ प्रतियोगिता मुख्य आकर्षण हुनेछ। यसका साथै पर्यटक हिले दौड, टग अफ वार प्रतियोगिता, माछा पकड्ने प्रतियोगिता, पत्रकारको हिले दौड र महिला हिले दौड जस्ता रमाइला गतिविधिहरू पनि समावेश गरिएका छन्।

गण्डकी प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र नेपाल पर्यटन बोर्ड यस कार्यक्रमका मुख्य प्रवर्द्धक रहेका छन्।

पोखरा महानगरपालिकाले सहयोगी भूमिका निभाउँदैछ भने स्थानीय स्तरमा मार्गी बगर टोल विकास संस्थाले आयोजनामा सहभागिता जनाएको छ।

याे कार्यक्रमले पोखराको पर्यटन क्षेत्रलाई नयाँ आयाम दिने अपेक्षा गरिएको छ। स्थानीय संस्कृति, परम्परा र कृषि प्रणालीसँग पर्यटकहरूलाई परिचित गराउँदै पोखराको पर्यटन विकासमा नयाँ मोड ल्याउने विश्वास आयोजकहरूको रहेको छ।

यसले गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा नयाँ उत्साह थप्ने र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने आशा पनि गरिएको छ।

प्रकाशित मिति: : 2024-06-24 11:31:00

प्रतिकृया दिनुहोस्