हरेक वर्ष पृथ्वी तातिइरहेको छ। यसपालि आधा विश्व प्रचण्ड गर्मीको चपेटामा छ। एशियाका धेरै देशमध्ये अत्यधिक गर्मी हुने नेपाल पनि हो। खासगरी नेपालका तराई-मधेसमा धेरै नै गर्मी हुन्छ। यो याममा चल्ने तातो हावाका कारण आम मानिसको जनजीवन पनि अस्तव्यस्त भइरहेको छ।
तर यसपालिको गर्मीले मध्यपहाडसम्मै पोल्न थाल्यो। काठमाडौंकै तापक्रमले दशकौंको रेकर्ड तोड्यो। यो प्रचण्ड गर्मीबाट बच्नका लागि मानिसले अनेक उपाय अपनाइरहेका छन्। त्यसमध्ये एक हो- एयर कन्डिसनर अर्थात् एसी। यो वातानुकुलित एक मेसिन हो। जसले घरका कोठाहरू समयअनुसार न्यानो अनि चिसो बनाउन मदत गर्छ।
तर एसीको अत्यधिक प्रयोगले हाम्रो पर्यावरणलाई कसरी बिगारीरहेको छ भन्ने कुरा धेरै कमलाई मात्रै थाहा छ। एसीको प्रयोग हुनेमध्ये भारत पनि एक हो।
एक अध्ययनअनुसार एसीबाट निस्किने एकप्रकारको हानिकारक रसायनले नै पृथ्वीलाई थप तताइरहेको हुन्छ। सहरमात्रै होइन अहिले त गाउँ पनि उत्तिकै तातिन थालेको छ। त्यसबाट बच्नका लागि मानिसले एसीको प्रयोग बढाएका छन्। छिमेकी भारतमा यस वर्षमात्रै करिब डेढ करोड थान भन्दा बढी एसी बिक्रि भएको छ। यसअघि नै करोडौं भारतीयले एसीको प्रयोग गर्दै आएका छन्।
खासमा यस्तो एयर कन्डिसनर जब चल्न थाल्छ त्यसबाट एक प्रकारको विषाक्त ग्याँस निस्किन्छ। जो पर्यावरणका लागि निकै खतरनाक हुन्छ। अनि त्यसको सिधा असर प्राणी जगतमै हुनजान्छ।
यसमा प्रयोग हुनेमध्येको एउटा ग्याँस हो ‘हाइड्रो फ्लोरोकार्बन।’ यसले ओजोन तहमा सिधा असर गरिरहेको हुन्छ। गर्मी वा जाडोका बेला चल्ने करोडौं एसीबाट निस्किने यसप्रकारका ग्याँसले हाम्रो पर्यावरणीय चक्रलाई निकै दुषित र खराब गरिरहेको छ।
यसबाहेक एसीका अरु पनि धेरै ‘साइड इफेक्ट’हरू पनि छन्।
जस्तो कि:
अत्यधिक एसीको प्रयोगले बिजुलीको माग बढाइरहेको हुन्छ। लगातार एसी चल्दा ट्रान्सफर्मरहरूले त्यसलाई थेग्न सक्दैनन्।
अहिले पनि धेरैजसो देशहरूले विद्युत उत्पादनका लागि कोइलाकै प्रयोग गर्दै आइरहेका छन्। जो पर्यावरणका लागि अझ धेरै घातक हुन्छ। जस्तो कि भारत अनि चीनजस्ता धेरै देशहरूले अहिले पनि आधा बिजुली कोइलाबाटै उत्पादन गर्छन्।
बितेका २५ वर्षमा वैश्विक तापमान ०.५ डिग्री सेल्सियसले बढिरहेको छ, जसको एउटा कारण भनेको एसीको अत्यधिक प्रयोग अनि त्यसबाट निस्किने घातक ग्यास नै हो।
चौबिसै घण्टा एसी चल्ने भएका कारण इन्धनको खपत पनि उत्तिकै भइरहेको छ। ठूला र व्यापारिक तथा आवासीय ठूला भवनहरूमा प्रयोग हुने एसीले कूल बिजुलीको २० प्रतिशतभन्दा धेरै खपत गरिरहेको हुन्छ। विश्वभरि हुने बिजुली खपतमध्ये यो लगभग १० प्रतिशत हुन आउँछ।
एसीका कारण ग्रीन हाउस ग्याँस उत्सर्जन बढिरहेको छ। यो भनेको विश्वमा हुने ग्रीन हाउस ग्याँस उत्सर्जनको लगभग ७ प्रतिशत हो। यो ग्याँस जलवायु परिवर्तन तथा विश्व तापमान वृद्धि गर्ने प्रमुख कारक तत्व हो।
खासमा मानिसले आफ्नो सुख सुविधाका लागि यस्ता धेरै उपकरणहरू आविष्कार गरिरहेको छ। तर ति सबले उसको आफ्नो स्वास्थ्य र प्रकृतिलाई दाउँमा लगाइरहेको हुन्छ। यसबाट मानिसलाई क्षणिक आनन्द त हुन्छ तर त्यसले हाम्रो पर्यावरणको भने घाँटी निमोठीरहेको हुन्छ।
–एजेन्सीहरूको सहयोगमा