फणिन्द्र देवकोटाको रिट न्यायाधीश राउतको इजलासमा

File Photo
File Photo

गण्डकी प्रदेशका पदमुक्त सांसद फणिन्द्र देवकोटाले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ।

देवकोटाकाे रिट सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको छ।

नेकपा माओवादी केन्द्रले गरेको कारबाहीविरुद्ध नेपाल समाजवादी पार्टीका नेता देवकोटाले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले प्रदेशसभा सदस्यको हैसियतले कार्य गर्न दिन माग गरेका छन्।

गोरखाबाट माओवादीको निर्वाचन चिह्नबाट निर्वाचित भएका देवकोटाले आफू नेपाल समाजवादी पार्टीको कार्यकर्ता भएको र राजनीतिक दलसमबन्धी ऐनअनुसार माओवादीको चुनाव चिन्ह लिएर लडेको बताउँदै आफूलाई माओवादीले कारवाही गर्न नसक्ने दाबी गरेका छन्।

देवकोटाले गत जेठ २८ गते प्रदेशसभा बैठकमा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए।

उनले 'फ्लोर क्रस' गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि पाण्डे नेतृत्वकाे गण्डकी सरकार जाेगिएकाे थियाे। मुख्यमन्त्री पाण्डेले देवकोटालाई जेठ २९ गते गण्डकी प्रदेशकाे ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री नियुक्त गरेका थिए।

उनलाई ह्वीप उल्लंघन गरेको भन्दै माओवादी केन्द्रले कारबाही गरेकाे थियाे। त्यसपछि जेठ ३२ गते सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा माओवादीको कारबाही गर्ने निर्णय सुनाएपछि देवकोटा पदमुक्त भएका थिए। पदमुक्त भएपछि उनी बिहीबार सर्वोच्च गएका हुन्।

प्रकाशित मिति: : 2024-06-23 11:31:00

प्रतिकृया दिनुहोस्