नेकपा माओवादी केन्द्रले गरेको कारबाहीविरुद्ध नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
प्रदेशसभा सदस्यको हैसियतले कार्य गर्न दिन माग गर्दै देवकोटाले बिहीबार सर्वोच्चमा रिट दायर गरेका हुन्। उनकाे रिटको पहिलो पेशी आइतबारलाई तोकिएको छ।
‘नेपाल समाजवादी पार्टीको प्रदेशसभा सदस्यको हैसियतले कार्य गर्न दिनु भनी परमादेशलगायत जो चाहिने आज्ञा आदेश जारी गरी मौलिक र कानूनी हक प्रचलन गरी न्याय दिलाई पाऊँ,’ उनले रिटमा भनेका छन्।
देवकोटाले गत जेठ २८ गते प्रदेशसभा बैठकमा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए।
उनले 'फ्लोर क्रस' गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि पाण्डे नेतृत्वकाे गण्डकी सरकार जाेगिएकाे थियाे। मुख्यमन्त्री पाण्डेले देवकोटालाई जेठ २९ गते गण्डकी प्रदेशकाे ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री नियुक्त गरेका थिए।
उनलाई ह्वीप उल्लंघन गरेको भन्दै माओवादी केन्द्रले कारबाही गरेकाे थियाे। त्यसपछि जेठ ३२ गते सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा माओवादीको कारबाही गर्ने निर्णय सुनाएपछि देवकोटा पदमुक्त भएका थिए।
नेसपाका नेता देवकोटा गोरखा क्षेत्र नम्बर २ को ‘क’मा माओवादीबाट चुनाव लडेर निर्वाचित भएका थिए।