यस वर्ष रासायनिक मलको अभाव हुन्छ?

तस्बिर: २०७९ सालमा दाङमा मल माग्दै किसान
तस्बिर: २०७९ सालमा दाङमा मल माग्दै किसान

हरेक वर्ष किसानले रासायनिक मलको अभाव झेल्दै आएका छन्। सरकारले कृषि क्षेत्र प्राथमिकतामा राखेको भए पनि मलको अभावबाट कृषकले मुक्त पाउन कठिन भइरहेको छ।

अघिल्लो वर्षको असारमा किसानले मल पाउन केही सहज भए पनि प्रयाप्त मात्रमा मल पाउन सकेका थिएनन्। गत वर्ष ललितपुरस्थित खोकनाका कृषकले बिएल नेपाली सेवासँग मल अभाव रहेको बताएका थिए।

यसअघिका वर्षहरुमा त मलको हाहाकार नै थियो। मलका लागि लडाइँ हुने अवस्था थियो। २०७९ सालमा मलको अभाव यतिसम्म थियो कि मल बोकेका गाडी सुरक्षित रुपमा गन्तव्यमा पुग्न सक्ने अवस्थासमेत थिएन।

४ असार २०७९ मा पश्चिमबाट मल बोकेर काठमाडौँ आउँदै गरेका दुई ट्रक मल धादिङका किसानले लुटेका थिए। अन्य जिल्लामा पनि मलको हाहाकार थियो।

के यस वर्ष अघिल्ला वर्षजस्तै मलको अभाव हुनसक्छ? सरकारको तयारी के छ? मल वितरण केन्द्रमा स्टक (मौज्दात) मल छ? यस वर्ष किसानले मलको अभाव झेल्नुनपर्ने सरकारकाे दाबी छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सवनम शिवाकोटी अर्यालले अहिले मल स्टक रहेको र केही मल आउँदै गरेको बताइन्।

‘सरकारले यस वर्ष मलका लागि बजेट ठिकै व्यवस्था गरेको थियो। मल खरिद भइसकेको छ। केही स्टक छ’, शिवाकोटीले भनिन्, ‘केही मल अझै पनि बाटोमै आउँदैछ। मल अभाव हुँदैन।’

उनकाअनुसार ९४ हजार ५ सय १३ मेट्रिक टन मल मौज्दात छ। जसमा युरिया ६१ हजार ६०५, डिएपी २२ हजार ४०६ र पोटास १० हजार ५०२ मेट्रिक टन मल मौज्दात रहेको उनले बताइन्।

बाटोमा अझै १ लाख ३१ हजार मेट्रिक टन मल आउँदैछ। प्रवक्ता शिवाकोटीकाअनुसार ५१ हजार मेट्रिक टन डिएपी मल भारतको विशाखापटनबाट नेपाल भित्रँदैछ।

यस्तै २५ हजार मेट्रिक टन तेस्रो मुलुकबाट आउँदैछ। जुन असारको दोस्रो हप्ता आइपुग्ने उनले बताइन्। २५ हजार मेट्रिक टन डिएपी चीनबाट र ३० हजार मेट्रिक टन युरिया मल भारतको कलकताबाट नेपाल भित्रँदैछ।

सरकारले मल ल्याउने जिम्मा कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङलाई दिएको छ। चालु आर्थिक वर्षमा सरकारले मल खरिदका लागि करिब ३० अर्ब रुपैयाँ बजेट सुनिश्चित गरेको थियो।

आगामी आर्थिक वर्ष ०८०/८१ का लागि पनि सरकारले ३० अर्ब बजेट सुनिश्चित गरेको छ।

याे पनि...
प्रकाशित मिति: : 2024-06-17 18:15:00

प्रतिकृया दिनुहोस्