भेरीमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्रको गोताखोरले निकाल्यो

Break n Links
Break n Links

सुर्खेतमा भेरी नदीमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ।

वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदीमा शनिबार नुहाउने क्रममा भुपेन्द्र केसी र विनोद केसी भेरी नदीमा बेपत्ता भएका थिए।

आइतबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश बहादुर थापाको कमाण्डमा गएको १० जनाको गोताखोरले १२ः३५ बजे भुपेन्द्र र १२ः४० बजे विनोदको शव ३० फिट गहिराइबाट निकालेको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

यसैगरी कास्की जिल्लाको पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्टोमा खसेका बालकको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको डिएसपी थापाले बताए। सोही ठाउँ बस्ने ९ वर्षीय गणेश विक शनिबार साँझ ५ बजे पुल बनाउन खनेको खाल्टोमा खसेका थिए।

सोबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको गोताखोरसहितको फौजले बालकको शव अन्दाजी २० फिट गहिराइबाट निकालेको हो।

त्यस्तै कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–५ बछेलास्थित झरनाबाट खसेका व्यक्तिको शव नं. ३५ गण कञ्चनपुरको टोलीले फेला पारेको छ।

शनिबार साँझ झरनाबाट व्यक्ति खसेको जानकारी प्राप्त भएपछि खटिएको सुरक्षा फौजले रातको १० बजे उनको शव निकालेको हो।

प्रकाशित मिति: : 2024-06-16 13:27:00

प्रतिकृया दिनुहोस्