भाजपा र आरएसएसबीच दूरी बढाइरहेको ‘मोदी फ्याक्टर’

Break n Links
Break n Links

भारतमा हालै सम्पन्न निर्वाचन परिणामपछि राष्ट्रिय स्वयं सेवक संघ (आरएसएस)का नेताहरूले भारतीय जनता पार्टीलाई चुनावमा कमजोरी भएको विषयलाई गम्भिर भएर छलफल गर्न चेतावनी दिइरहेका छन्। 

सत्तारुढ भाजपाको मूलधार राष्ट्रिय स्वयं सेवक संघ(आरएसएस) हो। तर, प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित साहको अहमका अघिल्लतिर राष्ट्रिय स्वयं सेवक संघ (आरएसएस)ले गम्भिर रहनुपर्ने सन्देश दिएका छन्।

संघका मुखिया जसलाई आरएसएसले सर संघ चालक भनेर सम्बोधन गर्छन् उनै मोहन भागवतले मणिपुर घटनालाई  समेत जोडेर मोदी सरकारलाई शान्ति कायम गर्न नसकेको स्तरमा प्रतिविम्बित गराए।

संघको मुखपत्र ‘पांचजन्यमा’ लोकसभा चुनावमा भाजपाको उपस्थितिलाई लिएर‘लोकसभा चुनाव- २०२४-एनडिए : सबक हैं और सफलताएं भी’ आलोचनात्मक लेख प्रकाशन भएको थियो।

राष्ट्रिय स्वयं सेवक संघ(आरएसएस)का इन्द्रेश कुमारले त अयोध्यामा बनेको राम मन्दिरको विषयमा भाजपाले रामको नाममा अहंकारपूर्ण गतिविधि गरेको नै टिप्पणी गरे। राजस्थानको जयपुरमा आयोजित रामरथ यात्रालाई कुमारले सम्बोधन गरेका थिए। उनले विपक्षी दललाई समेत रामलाई दूत्कारेको आरोप लगाए।

राष्ट्रिय स्वयं सेवक संघ(आरएसएस)का अर्का नेता रतन शारदाले ‘अर्गनाइजर’को अंकमा मतपरिणामपछि एउटा लेख लेख्दै भाजपाको चुनाव लक्षित कार्यक्रम असफल भएको लेखिदिए। पार्टी कार्यकर्ता र जनताको आवाज सुन्नु भन्दा मोदीको ‘फ्यान फ्लोइङ्ग’को चमकमा भाजपा डुबेको खरो टिप्पणी गरेका छन्।

राष्ट्रिय स्वयं सेवक संघ(आरएसएस)का अगुवाहरू यतिबेला प्रधानमन्त्री मोदीको कार्यशैलीप्रति असन्तुष्ट रहेको कुरा छताछुल्ल भइरहेको छ। यद्यपि, आरएसएस र भाजपा यो मतभेदलाई ढाकछोप गर्ने पूरा प्रयास गरिरहेका छन्।

राष्ट्रिय स्वयं सेवक संघ(आरएसएस)का अगुवादेखि तल्लो तहका कार्यकर्ताहरू भाजपाले राष्ट्रिय स्वयं सेवक संघ(आरएसएस)का कार्यकर्ताको न त भावना बुझ्यो न त चुनावमा महत्व नै दियो, भन्ने तहमा मन्थन गरिरहेका छन्। खासगरी महाराष्ट्र, पश्चिम बङ्गाल र उत्तर प्रदेशमा भाजपाको प्रदर्शनलाई लिएर आरएसएस असन्तुष्ट छ। यी तीन प्रदेशमा आरएसएस र भाजपाको ट्युनिङ नमिलेको गएको चुनावमा देखियो।

मूल विषय सत्ताको अघोषित केन्द्र राष्ट्रिय स्वयं सेवक संघ(आरएसएस)को मुख्यालय नागपुर अहिले आफ्नो भूमिकामा कटौती भएको महसुस गरिरहेको छ। त्यसको साटो मोदीको वर्चश्व अहमदावादको सक्रियता बढ्दो छ। यद्यपि, मोदी स्वयं राष्ट्रिय स्वयं सेवक संघ (आरएसएस)को आइकनका रुपमा स्थापित नेता हुन्।

राष्ट्रिय स्वयं सेवक संघ(आरएसएस) पनि मोदीलाई आदर्श प्रधानमन्त्रीको स्तरमा रहेको देख्न चाहन्छ। तर, चुनावी अभियानमा मोदीका वक्तव्यले आरएसएस असन्तुष्ट हुँदै आएको टिप्पणी भइरहेका छन्।

लोकसभा चुनावमा मोदीको लोकप्रियता, राष्ट्रिय सुरक्षा र सांस्कृतिक सभ्यताको जगमा चुनाव लड्नुपर्ने धारणा आरएसएसको रहेको थियो। तर, चुनाव केवल मोदीको ग्यारेन्टीका आधारमा लड्नु गलत रहेको ठहर आरएसएसको छ।

आफ्नो पार्टीलाई चुनाव लड्न आरएसएसको संगठनमा भर पर्नुपर्ने अवस्था नभएको बताउँदै भाजपा अध्यक्ष जे.पी.नड्डाले इण्डियन एक्सप्रेसलाई चुनाव अघि दिएको अन्तर्वार्तामा भाजपा आफ्नै संगठनको जगमा चुनाव लड्ने कुरा उल्लेख गरेपछि आरएसएसको असन्तुष्टिले शिखर चुमेको थियो। तर, चुनाव अभियान भरी आरएसएस टिप्पणी नगरी मौन बस्यो। एक्जिट पोल सुरु भएसँगै र मत परिणामपछि त आरएसएसका अगुवाहरु संगठनका प्रकाशनमार्फत् भाजपाको आलोचना गरिरहेका छन्।

सर संघ चालक भागवत यतिबेला उत्तर प्रदेशको गोरखपुर क्षेत्रमा आयोजित प्रशिक्षण कार्यक्रममा छन्। शनिबार (आज) आरएसएस मुखिया भागवत र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटघाट भएको छ। सबैभन्दा धेरै आशा गरिएको उत्तर प्रदेशमा भाजपाले आधामात्रै सिट जितेको छ। यहीँको अयोध्या क्षेत्रमा भाजपाले एक सिट पनि जित्नै सकेन।

गत साता आरएसएस प्रमुख भागवतले संगठनका स्वयं सेवकहरुलाई उत्तर प्रदेशका विभिन्न क्षेत्रमा पुगेर भेटेका र प्रशिक्षित गरेका थिए। प्रमुख भागवतले खासगरी अवध क्षेत्रमा आफ्नो ध्यान बढी केन्द्रित गरेका छन्।

भाजपामा अरु पार्टी छाडेर आउने जो कसैलाई पनि सहज स्वीकार गरिएको विषयमा समेत आरएसएस सन्तुष्ट थिएन।

एक शताब्दीभन्दा लामो समयदेखि संगठनको अस्तित्वमा रहेको बलियो संगठन हो। आरएसएसका मुखिया भागवत र प्रधानमन्त्री मोदी यतिबेला कुनै बखतका अटल विहारी वाजपेयी र सरसंघचालक के.एस. शुदर्शनको जस्तो खटासपूर्ण सम्बन्धको परिस्थितिमा पुगेको चर्चा नागपुरको हेडक्वाटरमा हुन थालेको सुनिन्छ। जबकि वाजपेयी र मोदी दुवैको लगाव आरएसएसप्रति उत्तिकै गहिरो हो। वाजपेयीले सन् १९९५मा ‘अर्गनाइजर’को एक अंकमा आफ्नो आत्मा आरएसएस भएको लेख लेखेका थिए।

वाजपेयी-शुदर्शन कालखण्डमा पनि व्यक्तिगत तहमा टिप्पणीसम्म भएका समाचारहरू प्रशस्तै भेटिन्छन्। यतिबेला पनि भागवत-मोदीबीच उस्तै टिप्पणी आउन थालेका छन्। जबकि आरएसएसको परम्परामा व्यक्तिगत टिप्पणी नगर्ने र नीतिगत आलोचना गर्ने धारले काम गर्छ।

समग्रमा यतिबेला एकल बहुमत गुमाएको भाजपा र माउ संगठन आरएसएसबीचको सम्बन्धमा विश्वासको संकट र भूमिकाको प्रश्न बढेर आएको देखिन्छ। अब आरएसएसको समन्वय बैठक ३१ अगस्टदेखि २ सेम्टेम्वरमा दक्षिण भारतको केरल-पल्कडमा आयोजना हुने तय भएको छ।

प्रकाशित मिति: : 2024-06-16 22:18:00

प्रतिकृया दिनुहोस्