मोदीलाई प्रधानमन्त्री बन्न नितिश र नायडुको भर

Break n Links
तस्विर/पिटीआई

‘चार सय पार’को नारा लिएर चुनावी मैदानमा उत्रिएको भारतीय जनता पार्टी सरकार बनाउन चाहिने पूर्ण बहुमतबाट धेरै पछि परेको छ। भारतमा भएको १८ औं लोकसभा चुनाबबाट करिब एक दशक सत्तामा रहेको भाजपाले यसपालि भने एक्लै बहुमत पुर्‍याउन सकेन। 

तेस्रो पटक पनि प्रधानमन्त्रीका बन्ने ‘प्रोजेक्सन’ गर्दै मैदानमा उत्रिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अब गठबन्धनका अरू दलको पनि सहारा लिनुपर्नेछ। यद्यपि बिजेपीले भने मोदी नै प्रधानमन्त्री बन्ने घोषणा गरिसकेको छ। 

भाजपा एक्लैले देशभरि २४० सिट जितेको छ। उसको नेतृत्वमा रहेको गठबन्धन ‘एनडिए’का अरू दलका मिलाउँदा भने करिब २९२ सिट हुन्छ। सरकार बनाउनका लागि चाहे २७२ सिटभन्दा गठबन्धनले ल्याएको यो सबै सिट बढी नै हुन्छ। भारतीय लोकसभामा जम्मा ५४३ सिट हुन्छ।

अब मोदीलाई प्रधानमन्त्री बन्नका लागि नितिश कुमार र चन्द्रबाबु नायडुको सहायता अनिवार्य छ। तर अहिले नितिश कुमारलाई नै प्रधानमन्त्रीका लागि अघि सारिएका समाचारहरू पनि भारतीय सञ्चारमाध्यमहरूमा आइरहेका छन्। नितिश जनता दल यूनाइटेट(जेडियू)का अध्यक्ष हुन् र अहिले बिहारका मुख्यमन्त्री पनि हुन्। चुनावअघि उनी भाजपासँग मिलेका थिए। सन् २००५ देखि नै बिहारको सत्तामा रहेका नितिश कुमारले अहिलेसम्म २५ पटक आफ्ना साझेदार फेरिसकेका छन्। 
 
बिहारमा उनको दलले १२ सिट ल्याएको छ। आन्द्र प्रदेशका पूर्वमुख्यमन्त्री नायडुको तेलगु देशम पार्टीले १६ सिट ल्याएको छ। 

यसपालि मोदीलाई चुनौती दिनका लागि भारतीय राष्ट्रिय कंग्रेसले पनि करिब २ दर्जन दलहरूलाई मिलाएर ‘इन्डिया’ गठबन्धन बनाएको थियो। यो गठबन्धनले २३४ सिट पाएको छ। यसमा कंग्रेस एक्लैको ९९ सिट छ। 

एक्लै चुनाव लडेको तृणमूल कंग्रेसले २९ सिट ल्याएको छ भने अरु दल र स्वतन्त्रसहित ७० सिट छ। 

यसपालि भाजपा एक्लैले ३७०को हाराहारीमा सिट ल्याउने र एनिडएको मिलाएर ४०० कट्ने बिजेपीले दाबी गर्दै आएको थियो। कतिपय चुनावी प्रक्षेपणहरूले त्यस्तै आंकलन गरेको थियो। तर विभिन्न ठाउँमा रहेका क्षेत्रीय दलहरूको इन्डिया गठबन्धनले यसपालि चुनावमा निकै चुनौती दियो। 

यसअघि सन् १९८४ मा बहालवाला प्रधानमन्त्री इन्दिरा गान्धीको निधनपछि भएको भएको लोकसभा निर्वाचनमा कंग्रेले ४१४ सिट ल्याएको थियो। यो चुनावको नेतृत्व राजीव गान्धीले गरेका थिए। सन् २०१४मा सत्तामा आएको भाजपा एक्लैले २०१९ को चुनावमा ३०३ सिट ल्याएको थियो। 

गत अप्रिल १९ देखि सुरु भएको भारतीय लोकसभाको निर्वाचन विभिन्न सात चरणमा करिब डेढ महिना चल्यो। यो निर्वाचनमा करिब ९८ करोड भारतीय मतदाता थिए। 
 

प्रकाशित मिति: : 2024-06-05 08:30:00

प्रतिकृया दिनुहोस्