काठमाडाैँ महानगरपालिकाले टुँडिखेलमा अमेरिका र वेस्ट इन्डिजमा जारी टी-२० विश्वकप क्रिकेटकाे लाइभ (प्रत्यक्ष प्रशारण) देखाउने भएकाे छ।
नेपाल र नेदरल्याण्डबीच मंगलबार साँझ हुने पहिलाे खेलकाे लाइभका लागि महानगरले टुँडिखेलमा स्टेज तयार गरेकाे हाे।
खेल अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी रङ्गशालामा नेपाली समयानुसार आज राति ९ः३० बजे हुँदैछ। त्यसअघि महानगरका मेयर बालेन शाहले सर्वसाधारणकाे सहजताका लागि टुँडिखेलमा लाइभकाे व्यवस्था गरेका हुन्।
लाइभ देखाउने तयारी स्वरूप स्टेजमा एलइडी स्क्रिन राखिएकाे छ। खेलकाे लाइभअघि कन्सर्टकाे आयाेजना हुनेछ। कन्सर्टमा विभिन्न कलाकारहरूकाे प्रस्तुति रहनेछ।
यता, युवा तथा खेलकुद मन्त्रालयले नेपाली टाेली सहभागी टी-२० विश्वकपकाे लाइभका लागि सहजीकरण गर्न निर्देशनसमेत दिएकाे छ।
आइसिसी टी–२० विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गरेको नेपाल आज नेदरल्याण्डसँग खेल्न लागेकाे हाे। नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो।