खै त समानता?

राधिका परियार

काठमाडाैं

छुवाछूत मुक्त राष्ट्र घोषणाको १८ वर्ष
तर,
अझै किन मन्दिर प्रवेशमा निषेध?
अझै किन पानीको धारा र कुवामा निषेध?
अझै किन आँगनको घेरा नाघ्न निषेध?
अझै किन विद्यालयमा भेदभाव?
अझै किन रोजगारमा असमानता?
अझै किन छुवाछूतले जीवनमा कठिनाइ?

बोलीले सबै समान हौँ भन्छौ,
तर
खै त व्यवहारमा तिम्रो समानताको परिभाषा?
खै त स्वअस्तित्वको आभाष?
खै त स्वतन्त्रता र मर्यादा?
खै त सुरक्षित स्थान?
खै त सबैलाई समान अवसर?
खै त सामाजिक न्याय?
खै त सम्मानजनक जीवन?

अब,
म पनि मान्छे हुँ भन्न पाउने कहिले?
म अछुत भन्ने शब्द टाढा हुन पाउने कहिले?
अति मिजारले न्याय पाउने कहिले?
नवराज विकसहितका पाँच जनाले न्याय पाउने कहिले?
सम्झना कामी अनि उनीजस्तै बालिका र महिलाले न्याय पाउने कहिले?
शिक्षामा समानता कहिले आउँछ?
रोजगारीमा अवसरको सुनिश्चितता कहिले हुन्छ?
सामाजिक सम्मान पाउने दिन कहिले आउँछ?
हरेक व्यक्तिको मानव अधिकार सुनिश्चित हुने कहिले हुन्छ?

अब,
समानताको नयाँ युगको सुरुवात कहिले?
समाजको साँचो परिवर्तन कहिले?
सबैको लागि न्याय र सम्मान कहिले?
मानवताको विजय कहिले?

अब हामीले सोच्नुपर्छ,
समानताको लागि एक हुनुपर्छ,
न्याय र मर्यादाको लागि आवाज उठाउनुपर्छ,
हरेक व्यक्तिको अधिकारको लागि संघर्ष गर्नुपर्छ,
समाजको परिवर्तन हामीले नै गर्नुपर्छ।

प्रकाशित मिति: : 2024-06-03 13:42:00

प्रतिकृया दिनुहोस्