गण्डकीका नवनियुक्त मुख्यमन्त्रीले लिए शपथ, थापा र गुरुङ बने मन्त्री

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्।

संविधानको धारा १६८ (३) अनुसार बुधबार मुख्यमन्त्री नियुक्त भएका पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ गराएका हुन्।

मुख्यमन्त्री पाण्डेले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। पाण्डेले विन्दुकुमार थापा र टकराज गुरुङलाई मन्त्री बनाएका छन्।

थापाले सामाजिक विकास, उर्जा, जलस्रोत मन्त्रालय र लमजुङका गुरुङले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्।

प्रदेश प्रमुख भट्टले प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नेता पाण्डेलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। यसअघि उनी विसं २०८० वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

सोमबार सर्वोच्च अदातलतले नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका खगराज अधिकारीले मुख्यमन्त्रीमा पाएको विश्वासको मत अवैधानिक भएको ठहर गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।

तत्कालीन सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका पाण्डेले गत चैत २१ गते पदबाट राजीनामा दिएका थिए। 

याे पनि...
प्रकाशित मिति: : 2024-05-29 17:37:00

प्रतिकृया दिनुहोस्