कृषि क्षेत्रले भोग्दै छ जलवायु परिवर्तनको चर्को असर

हिमाल खबर

काठमाडौं

राष्ट्रिय तथ्यांक कार्यालयले दुई वर्ष लगाएर देशभर गरेको जलवायु परिवर्तन सर्वेक्षणले जलवायुमा आएको अस्वाभाविक फेरबदलका कारण कृषि क्षेत्रले खडेरीदेखि रोग-कीरासम्मको मार खेपिरहेको देखाएको छ।

नेपालमा विविध क्षेत्रमा जलवायु परिवर्तनको असर बढ्दै गएको सरकारी सर्वेक्षणले देखाएको छ। ‘राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षण २०२२’ ले जलवायु परिवर्तनको असरबाट खडेरी चुलिंदै गएको र यसले कृषि उत्पादनमा ह्रास ल्याएको देखाएको छ। ६५ प्रतिशत घरपरिवारले खेती गर्दै आएको खेतबारीमा २५ वर्षदेखि खडेरीको असर परिरहेको सर्वेक्षणमा उल्लेख छ।

राष्ट्रिय तथ्यांक कार्यालयले दुई वर्ष लगाएर सातै प्रदेशमा सर्वेक्षण गरेको हो। जलवायु परिवर्तनले के-कस्ता आर्थिक र सामाजिक असर गरेको छ भन्ने बुझ्न गरिएको सर्वेक्षणमा ६ हजार ५०० जनालाई समेटिएको थियो। सर्वेक्षण प्रतिवेदन गत वैशाख ३१ गते सार्वजनिक गरिएको थियो। तथ्यांक कार्यालयले जलवायु परिवर्तनको असर सम्बन्धमा गरेको यो दोस्रो सर्वेक्षण हो। यसअघि यस्तो सर्वेक्षण पाँच वर्षअघि गरिएको थियो।

सर्वेक्षणमा सहभागी ५० प्रतिशत उत्तरदाताले बालीमा नयाँ रोग र नयाँ कीरा लाग्ने समस्या देखिएको बताएका छन्। रोग र कीराले कृषि उत्पादन घटाउँदा यस विरुद्ध किसानले रासायनिक मल र उन्नत बीउबिजनको उपयोग बढाएको प्रतिवेदनमा भनिएको छ।

प्रकाशित मिति: : 2024-05-27 11:51:00

प्रतिकृया दिनुहोस्