आइभिएफबाट जन्मिएको बच्चा ‘टेस्टट्युब बेबी’ होइन: डा. नुतन शर्मा (भिडियाे)

मिनु गोले

काठमाडाैं

नि:सन्तान दम्पत्तिका लागि कृत्रिम माध्यमबाट सन्तान जन्माउने प्रविधि अहिले नेपालमा पनि बढिरहेको छ। सरकारी तथा विभिन्न निजी अस्पतालहरूले पनि अहिले कृत्रिम बच्चा जन्माउने प्रविधि अर्थात् आइभिएफको सेवा सञ्चालनमा ल्याएका छन्।

नेपालमा निजी क्षेत्रमा यो प्रविधि विशेषज्ञ भएर काम गरेकी डा. नुतन शर्मासँग बिएल नेपाली सेवाका लागि मिनु गोलेले आइभिएफबारे कुराकानी गरेकी छिन्।

डा. शर्मा अहिले बि एन्ड बि अस्पतालको आइभिएफ प्रमुख भएर काम गरिरहेकी छिन्। 


आइभिएफ भनेकाे के हाे?

सामान्य रुपमा बच्चा नभएकाे अवस्थामा महिलाकाे अण्डकाेष र पुरुषकाे स्पर्म (वीर्य) निकालेर दुवै जनाकाे स्पर्म ल्याबमा राखेर भ्रुण बनाउने र तीनदेखि पाँच दिनमा पाठेघरमा राख्ने गरिन्छ, जसलाई आइभिएफ भनिन्छ।

टेस्टट्युब-बेबी भन्ने बित्तिकै मानिसकाे दिमागमा ट्युबमा बच्चा बन्छ भन्ने आउँछ। तर, त्यस्ताे हाेइन। बच्चा ट्युबमा बनाउने हाेइन। बच्चा ल्याबमा बनाउने हाे। नरमल्ली अण्डकाेष र स्पर्म लिने र त्यसालाई ल्याबमा बच्चा बनाएर फेरि पाठेघरमा नै राखेर हुर्काउने गरिन्छ।

बाँझाेपनकाे कारणले त हाेला नि आइभिएफ गर्नुपर्ने?

अन्तिम अवस्थामा मात्रै आइभिएफ गरिन्छ।

ट्युब (नली) बन्द भएमा, अण्डकाेष कमी भएमा स्पर्मकाे कमी भएमा वा पाठेघरमा समस्या भएमा सन्तान उत्पादनमा समस्या हुन्छ। यस्ताे अवस्थामा आइभिएफ गरिन्छ।

अनि, बाँझोपन के कारणले हुन्छ?

बाँझाेपन हुनुकाे कारण बढ्दाे उमेर हाे। पहिला-पहिला २०-२५ वर्षमा बिहे गर्ने र बच्चा जन्माउने हुन्थ्याे तर अहिले धेरै जनाले पढाइ सकेर, करियर बनाएर बल्ल ३०-३५ वर्षमा बिहे गर्ने चलन छ। ढिला बिहे गरेर बच्चा जन्माउने बेलामा अण्डकाे कमी हुने गर्छ।

अर्काे कुरा, ट्युब ब्लक भएमा पनि समस्या हुने गर्छ। जस्तै: सानाे उमेरमा याैनसम्पर्क राखेमा वा अप्रेसन गरेमा।

त्यस्तै पुरुषमा निन्द्रा नपुग्ने, बढी चुराेट खाने, बाहिरी खाना (जङफूड) खानाले वा अस्वस्थ जीवनशैलीकाे कारण स्पर्ममा कमी आउने गर्छ।

बाँझोपन हुन नदिन के गर्नुपर्छ?

पहिलाे कुरा त समयमा बिहे गर्नु पर्‍याे र बच्चा जन्माउनु पर्‍याे। पुरुषले अल्काेहल (रक्सी) कम खानु पर्‍याे। केटीमान्छेकाे याेनीमा अलिकतिमात्र पनि पानी बग्याे वा इन्फेक्सन (संक्रमण) भयाे भने समयमै उपचार गर्नु पर्‍याे।

त्यसाे भए बच्चा जन्माउने उपयुक्त उमेर कति हाे?

सामान्यरुपमा २०-२५ वर्षकाे उमेरमा बिहे गर्ने र बच्चा जन्माउने गर्नु राम्राे हाे। अर्थात्, ३० वर्ष नपुग्दै आमा बनेकाे राम्राे हाे। किनभने, ३० वर्षपछि अण्ड घट्दै जान्छ।

३० वर्षपछि त अरु इन्फेक्सन पनि हुन थाल्छ।

अब, केटा मान्छेले चाहिँ अलि बढी उमेरमा बच्चा जन्माउँदा पनि हुन्छ। किनभने, केटा मानिस ३५-४० पुग्दा पनि समस्या हुँदैन।

आइभिएफबाट जन्माउने बच्चा र सामान्य रुपमा जन्मिएका बच्चामा के फरक हुन्छ नि?

टेस्टट्युब बेबीबाट जन्माउने बच्चा फरक हुने गर्छन भनिन्छ तर त्याे हाेइन। दुवै बच्चामा कुनै फरक हुँदैन।

४० वर्षमा बच्चा जन्माउँदा जाेखिम हुन्छ हाे?

जति उमेर ढिला हुन्छ, त्यति समस्या त हुन्छ नै। त्यसैले त भनेकाे समयमा बिहे गरेर सन्तान जन्माउँदा राम्राे हुन्छ। तर, स्वास्थ्य अवस्था ठिक छ भने त समस्या नहुन पनि सक्छ। हामीले ५२ वर्षसम्मकाे आइभिएफ गरेका छाैँ।

महिनावारी सुकेपछि बच्चा जन्मिँदैन भन्छन् नि?

महिनावारी सुकेपछि अण्ड बन्दैन। तर, औषधि दिएर महिनावारी गराउन मिल्छ। र, केटीकाे अण्डलाई लिएर र पुरुषकाे स्पर्मलाई निकालेर बच्चा जन्माउन मिल्छ। बच्चा बनाएर पाठेघरमा राखेपछि हुन्छ।

अनि, बच्चा जन्माएपछि महिनावारी हुन्छ कि हुँदैन?

त्यसपछि महिनावारी हुँदैन, बच्चा जन्माउनका लागि मात्रै औषधि दिइन्छ।

पुरुषलाई पनि बाँझाेपन हुन्छ त?

बच्चा जन्माउनलाई दुवै जनाकाे भूमिका हुन्छ। त्यसैले नि:सन्तानसम्बन्धी जाँच गराउँदा दुवै जना आउन आवश्यक छ।

कहिले काहीँ बच्चा भएन भने महिलामात्रै जाँच्न आउने गर्नुहुन्छ। याे नराम्राे हाे। किनभने, महिलाकाे मात्रै रिपाेर्ट हेरेर हुँदैन।

आइभिएफकाे लागि कस्ता कस्ता बिरामी आउने गर्नु भएकाे छ?

धेरै जना त बाँझाेपनकाे बिरामी नै हाे।

मलाई एउटा घटना याद छ, एउटा नर्सकाे आमा आउनू भएकाे थियाे। उहाँकाे छाेराकाे हृदयघातबाट मृत्यु भएकाे रहेछ।

छाेराकाे मृत्युपछि आमा एकदमै डिप्रेसनमा जानु भएकाे रहेछ। अनि, नर्सले आमालाई यहाँ ल्याउनु भयाे, र बच्चा पनि भयाे। भाग्यले छाेराकाे नै जन्म भयाे। उहाँले ५२ वर्षमा सन्तान जन्माउँदा उहाँकाे परिवार सारै खुसी भएकाे थियाे। त्याे, खुसी म अहिले पनि सम्झन्छु।

आइपिलले बाँझाेपन गराउँछ हाे?

आइपिलले बाँझाेपन गराउँछ भन्नू गलत हाे। आइपिलले बाँझाेपन गराउँदैन।

आइपिल खाने भनेकाे असुरक्षित याैनसम्पर्क भयाे भने न त हाे, असुरक्षित याैनसम्पर्क भयाे भने त स्वभाविक नै समस्या त भइहाल्छ नि। असुरक्षित याैनसम्पर्क गरेपछि संक्रमण हुन्छ, संक्रमण भएपछि ट्युब ब्लक हुन्छ, ट्युब ब्लक भएपछि बच्चा रहँदैन।

अन्त्यमा,

स्वस्थ जीवन जिउने, स्वस्थ खाना खाने, सुरक्षित याैनसम्पर्क गर्ने, जथाभावी गर्भपतन नगर्ने, समयमा बिहे गर्ने, समयमा बच्चा जन्माउने गर्नुहाेस्, त्यही हाे।

प्रकाशित मिति: : 2024-05-27 20:16:00

प्रतिकृया दिनुहोस्